युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 01:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
शून्यमै बितेको सय दिन
Monday, 05.26.2014, 07:37pm (GMT+5.5)

प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको मधुमास सकियो । हरेक सरकारको गति र मतिको मापन गर्ने मधुमास अवधिमा यो सरकारले कुनै रचनात्मक काम देखाउन सकेन । तर सरकारको सय दिनमा कुनै पनि मन्त्रीले भ्रष्टाचार गरेको सुनिएन, संचार माध्यममा त्यस्ता कुरा आएन, यो भने उपलब्धि नै मान्नुपर्ने भएको छ । तर जनअपेक्षा अनुसार विकास–निर्माणको गति सुस्त सरकारले बजार अनुगमन, महंगी, अभाव, मिसावट नियन्त्रणमा पनि कुनै कदम चालेन । अभूतपूर्व राजनीतिक परिवर्तन भएको आधा दशकभन्दा बढी समय बितिसक्दा पनि राजनीतिक अस्थिरता कायम हुन नसक्दा हरेक एक वर्षमा सरकार बदलिने परिस्थितिको अन्त्य नहुँदा सरकारको अस्थिरताकै कारण मुलुक गतिहीन हुन पुगेको छ । कुनै पनि सरकारले सुरुमा जसरी समर्थन पाउने गरेको छ त्यसपछि विस्तारै विरोध सुरु हुने हुँदा सरकारले चाहेर पनि काम गर्न नसकेको स्थिति भने स्वीकार्नैपर्छ । कांग्रेस–एमाले सम्मिलित वर्तमान सरकारको आयु एक वर्ष किटिएकाले पनि यसले प्रत्यक्ष देखिने गरी काम गर्नसक्नेमा पहिले नै शंका थियो र अहिलेसम्मको गतिले त्यसलाई पुष्टि गर्दैलगेको छ । तापनि यसबीचमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन विधेयक संसदबाट पारित गराएर सरकारले लामो समयदेखिको अन्योल चिर्ने काम भने गरेको छ । यसका अतिरिक्त जनजीविकाका सवालमा सरकारले महंगी र अभाव मात्र दिइरहेको छ । 

वर्तमान सरकारको सय दिन सरकारका लागि सरकार बाहेक केही पनि भएन । सत्तापक्षकै नेताहरू सन्तुष्ट हुन नसकेको वर्तमान सरकारबाट विपक्षी खुसी हुने कारणै छैन तापनि नकारात्मक टिप्पणी विपक्षीबाटभन्दा सत्तापक्षबाटै भएको छ । सत्तापक्षले नै विपक्षीको काम गरिदिएका छन् । सरकारका लागि यो सय दिन विपक्षीबाट भन्दा पनि सत्ता पक्षबाटै अवरोध सिर्जना भए । गुटगत चलखेलका कारण सरकारलाई कांग्रेस र एमालेभित्रकै अर्को गुटले असहयोग गरेको प्रष्ट छ । शान्ति सुरक्षामा कुनै सुधार आएन । सरकारले सुरुमा घोषणा गरेका कुनै पनि काम गर्न सकेन । मितव्ययी सरकार चलाउने प्रधानमन्त्री कोइरालाको दावी पनि हावादारी नै भयो । मन्त्रीहरूको अनावश्यक जिल्ला भ्रमण र पार्टीको काममा राज्य कोषको दुरुपयोग सन्त स्वाभावका भनिएका प्रधानमन्त्रीले रोक्न सक्नुभएन । जनताले राहत पाउने कुनै काम गरिएन भने स्थानीय निकायको निर्वाचनको कुरै हरायो । शान्ति सुरक्षामा प्रभावकारी सुधार गर्ने भनिए पनि कहाँ के कस्तो सुधार भयो अनुभूति गर्न सकिने अवस्था छैन । भाषणमा मात्र मुलुकमा सुशासन, स्थिरता, भ्रष्टाचार निवारण, जनतालाई राहत तथा शान्ति सुरक्षाको प्रत्याभूति भयो ।

सरकारको सय दिनको मूल्यांकनसंगै पहिलो बैठक बसेको दिन गन्ती गर्दा ४ महिनाभन्दा बढी अवधिको संविधानसभाको गति हेर्दा अबको ८ महिनाभित्र संविधान बन्छ भन्ने आधार पनि तयार छैन । किनभने सरकारभित्र रहेका र नरहेका सबै दलहरूको पारा यस्तै छ । मन्त्रीहरूले सरकारको पहिलो प्राथमिकता संविधान निर्माण गर्नु रहेको बताउँदै आए पनि संविधान सरकारले बनाउने हैन, संविधानसभाले हो । सरकारले त त्यसको मध्यस्थता मात्र गर्ने हो । आवश्यक स्रोत, साधन जुटाइदिने हो । तर सरकार आफ्नो प्रमुख दायित्वबाट पूरै पन्छिएको छ । संवैधानिक निकायहरूको नियुक्ति गर्न सकिरहेको छैन । भागवण्डाको गलत अभ्यासले सर्वोच्च अदालतका रिक्त न्यायाधीश नियुक्ति आरोप–प्रत्यारोपको विषय बनिरहेको छ । सरकारको स्पष्ट अडान र दृष्टिकोण छैन । सरकारले आफूले गर्नुपर्ने काम गरेको भए अहिलेसम्म संवैधानिक नियुक्ति भैसक्थ्यो, राजदूतहरू पनि विभिन्न देशमा पुगिसक्थे, संविधानसभाले पनि पूर्णता पाउँथ्यो तर यी सबै काम छाडेर मन्त्रीहरू भाषण गर्नमै व्यस्त रहने, प्रधानमन्त्री यसो र उसो भन्दै दिन बिताउने, संविधानसभा र संवैधानिक समितिहरूमा कमै उपस्थित हुने गर्दा संविधान निर्माणका कुरा त परै जाउन् दैनिक राज्य संचालन समेत प्रभावकारी हुन सकेको छैन । 

विकास निर्माण, शान्ति सुरक्षा, राहत, महंगी नियन्त्रण, भ्रष्टाचार निवारण जस्ता कार्य त सरकारको प्राथमिकतामै परेकै छैन । सरकार र सरकारमा रहेकाहरूको काम भाषण गर्ने, उद्घाटन गर्ने मात्र देखिएको छ । मुलुकमा केही कामै नभएजस्तो गरी प्रधानमन्त्री, मन्त्रीहरू दिनदिनै कहीं न कहीं पुगेकै हुन्छन् । सरकार परिवर्तनको तात्विक भिन्नता प्रधानमन्त्री र मन्त्रीहरूको अनुहारको बदली मात्र देखिएको छ । सय दिनमा सरकारले आफ्नो आकार र रुपरंग देखाउँछ भन्ने मान्यता रहे पनि यो सय दिनमा वर्तमान सरकारको रंग फिक्का र गति धिमा मात्र देखिएको छ । 

यस्तो गतिले मुलुक अगाडि बढ्न सक्दैन । सय दिन सिंहदरबारको अनुभव गर्नमै बिताएको सरकारले अबको दिन गतिशील बनेर बिताओस्, जनताले दुई तिहाई बहुमतको सरकार रहेको अनुभूति गर्न पाउन् । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ । शान्ति प्रक्रिया, संविधान लेखन, जनजिवीकाका सवालमा सरकारले सय दिनको अनुभवलाई मूल्यांकन गरोस्, विकास निर्माणमा ढिलासुस्ती नहोस् । यो सरकार अरु सरकारभन्दा फरक होस् भन्ने चाहना हरेक नयाँ सरकार गठनपिच्छे हुने गरे पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्नुको विकल्प नै नदेखिएको अवस्थामा परिवर्तनको अनुभूति हुने गरी सरकार अघि बढोस् भन्ने हाम्रो शुभेच्छा छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)
राजनीतिक व्यवस्थापनको समस्या (02.03.2014)
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो (01.27.2014)
डा. के.सी.को अनसन (01.21.2014)
सवैलाई चेतना भया (01.13.2014)
राजनीतिक विकृतिका अनेक रुप (01.06.2014)
संविधानसभाको सर्बाेच्चतामाथि अङ्कुश (12.30.2013)



 
::| Latest News

 
[Page Top]