युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 03:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
प्रक्रिया कि सहमति ?
Monday, 06.02.2014, 03:19pm (GMT+5.5)

नेताहरूले भन्ने गरेको सहमति भैदिएको भए यतिबेला मुलुकले अर्कै बाटो समातिसक्थ्यो । ऐतिहासिक संविधानसभा सहमति हुन नसकेर सविधान नबनाएर विघटन भयो । अहिले पनि सहमतिकै चर्का कुरा गर्न थालिएको छ । माघ ८ गतेभित्र संविधान बनाउने कार्यतालिका तयार भए पनि संविधानसभाले जुन गतिले काम गर्नुपथ्र्यो त्यो हुन सकिरहेको छैन । पहिलेदेखि कायम रहेका विवादका विषयहरूमा सामान्य छलफल चले पनि त्यसको टुंगो कसरी लगाउने भन्ने विवाद कायमै छ । सरकारले सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गर्ने घोषणा गरेसंगै विवादको नयाँ विषय उत्पन्न भएको छ । बहुमतका आधारमा संविधान जारी गरे त्यसले अर्को द्वन्द्व निम्त्याउने र आन्दोलन गर्ने घोषणा हुन थालेपछि अहिलेदेखि नै भोलिको अप्ठ्यारोको आँकलन हुन थालेको छ । सहमति पनि नगर्ने र प्रक्रियाबाट पनि संविधान जारी हुन नदिने प्रवृत्तिलाई जायज मानिएको छैन । संविधानसभामा रहेका दलहरूबीच नै सहमति हुनसक्ने सम्भावना क्रमशः कमजोर बन्दै गैरहेका बेला संविधानसभा नै वहिस्कार गरेका शक्तिलाई मनाउने कसरी हो भन्ने प्रश्नको उत्तर पाउन सकिएको छैन । संविधान जारी गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका दलहरूबीच नै सहमति हुन नसकिरहेका बेला विपक्षमा रहेकालाई सहमतिमा ल्याउने काम सहज होला भन्न सकिन्न । तैपनि सहमतिको प्रहसन जारी नै छ ।

“हामी सहमतिको नजिक पुग्यौ, अब भोलि नै सहमति हुन्छ, विवादका सवै विषयमा कुरा करिब करिब मिलिसक्यो भन्दै जनतालाई झूटो आश्वासन दिंदादिंदै संविधानसभालाई मृत्युको मुखमा पुर्याएका नेताहरूको यस्तो नाटकको प्रदर्शन बिघटित संविधानसभाको चार वर्षे कार्यकालभरि मञ्चित भैरह्यो र अब पनि सोही प्रवृत्तिको निरन्तरताले समय मात्र खेरजाने स्थिति आइसकेको छ । सहमति कायम भएर मुलुकले बेलैमा संविधान पाए त्योभन्दा सुखद सन्दर्भ अर्को हुन सक्दैन तर नेताहरूले निर्देशित रुपमा मञ्चन गरेको सहमतिको नाटक केटाकेटीहरूको भत्कौंडी खेल जस्तै भएको छ– खेल्यो खेल्यो, अन्त्यमा भत्कायो हिड्यो । हिजोले देखाएको सत्य यही हो । जनता निराश निराश हुने र देश बरबाद बरबाद हुँदैजाने यस्तो अनपेक्षित प्रहसनको निरन्तरताले जग हँसाइ मात्र गरेको छैन राजनीतिक निकासको गाँठो झन्झन् कस्दै लगेको छ । संविधान निर्धारित समयमै जारी हुन्छ भन्ने आधार कमजोर बन्दैगएको छ– सहमतिको नाटकले गर्दा ।

मुलुकको संविधान लेखनमा बाहिरी शक्ति केन्द्रहरूको चलखेल र षड्यन्त्र एक होइन अनेक छन् । जातीय संघीयतादेखि धर्म निरपेक्षताका विषय विदेशीकै चासो र स्वार्थ अनुसार आएको मान्नेहरूको संख्या बढ्दैछ । संघीयता नै पहिलो संविधानसभा असफल हुनुको कारण बनेको थियो । विदेशीको गोटी बनेर सत्ता आकांक्षा तृप्त गर्ने रुग्ण मानसिकताको विकासले नेपालको राजनीतिक दिशालाई मात्र धुमिल पारेको नभै देशकै भविष्यलाई जोखिममा पार्दैलगेको छ । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताबारेमा समेत नेपाली जनमत विभाजित गर्ने षड्यन्त्रात्मक दुष्कर्ममा नेपाली अनुहारहरूलाई नै उपयोग गर्न वैदेशिक सूत्रहरू सफल हुँदै आएकाले नेपालका दुर्दिनहरू लम्विँदै आएका छन् । 

सहमति हुन नसक्दा विगतमा कस्तो अवस्थाको सिर्जना भयो भन्नेमा सबै जानकार भए त्यही सहमति कहिल्यै नहुने विडम्बनापूर्ण स्थिति छ । आपसी स्वार्थ मिलेर सहमति भैहाले पनि भोलिपल्टै त्यसमा विमति जनाउने गरिएको छ । विवादका मुद्दाहरूलाई कि सहमतिबाट टुंग्याउने कि प्रक्रियाबाट टुंग्याउने काम अहिलेदेखि नै गर्नुपर्ने भए पनि संविधानसभाबाट समितिमै सहमतिका लागि भन्दै पठाउने गरिएको छ । सभासदहरूबीच चाहिनेजति मात्रामा छलफल नभएको गुनासो पनि आउने गरेका छन् । अहिले जेजस्तो गतिमा संविधानसभा चलिरहेको छ त्यसले अबको ८ महिनाभित्र संविधान बन्ने संकेत दिंदैन । त्यसैले सहमतिबाटै संविधान जारी गर्छौं भन्ने नेताहरूको कथन पहिलेको जस्तै हावादारी गफमा परिणत हुने निश्चित प्रायः देखिएको छ । ऐतिहासिक संविधानसभाको चार वर्ष सत्ताभोगी र भत्तामुखीकै लागि मात्र उपयोग भयो । देश चार वर्ष अगाडिकोभन्दा पनि पछाडिको स्थितिमा पुगेको छ । सामाजिक, आर्थिक संरचनाहरू पूरै खलबलिएका छन् । राजनीतिक वेथितिको पराकाष्ठाले मुलुकमा प्रत्येक अंग क्षतविक्षत भएका छन् । राजनीतिक चेतनाको अपूर्व लहर, अधिकार र पहिचानप्रति व्यापक मोह जागरणका जति नै कुरा गरे पनि मुलुक झन्झन् कमजोर, अस्तव्यस्त र तुन्नाम बन्दैगएको छ 


Rating (Votes: )   
Share     Print


Other Articles:
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)
राजनीतिक व्यवस्थापनको समस्या (02.03.2014)
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो (01.27.2014)
डा. के.सी.को अनसन (01.21.2014)
सवैलाई चेतना भया (01.13.2014)
राजनीतिक विकृतिका अनेक रुप (01.06.2014)



 
::| Latest News

 
[Page Top]