युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.30.2020, 05:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
हाम्रो प्रतिबद्धता
Monday, 06.16.2014, 08:15pm (GMT+5.5)

युगसंवाद साप्ताहिक यसै अंकदेखि २७ औं वर्षमा प्रवेश गरेको छ । वितेका २६ वर्ष युगसंवादको प्रकाशन निरन्तर जारी रह्यो । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई मूल मन्त्र मानेर राष्ट्रिय चिन्तनधारलाई प्रखर रुपमा अगाडि सार्ने  र निष्पक्ष  र स्वतन्त्र ढंगले समाचार र विचार प्रस्तुत गर्ने प्रतिबद्ध प्रयासकै क्रममा यी २६ वर्ष बिते । युगसंवादको प्रकाशन सुरु हुँदा प्रजातन्त्रको बिहानी उदाउन बाँकी नै थियो तापनि राष्ट्रहितका विविध सवालमा केन्द्रित रहेर समाचार र विचार संप्रेषण गर्ने प्रयासमा कुनै कमी थिएन । नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप, निरन्तरको सीमा अतिक्रमण, नेपालको जलस्रोत उपयोगमा देखिएका समस्याहरू, नेपालको अर्थतन्त्रलाई उठ्नै नदिने गरी आर्थिक विकासका क्षेत्रमा निर्देशित रुपमा खडा गरिएका व्यवधानहरू, नागरिकता वितरणका नाममा हुने गरेको आप्रवासीहरूको घुसपैठदेखि लिएर प्रभुत्व विस्तारका अवाञ्छित आकाङ्क्षाविरुद्ध लक्षित धारणालाई युगसंवादले जहिले पनि प्राथमिकतामा राखेर समाचार र विचार संप्रेषण गर्दैआएको अभिलेख इतिहासमा सुरक्षित छ र प्रजातान्त्रिक र गणतान्त्रिक परिवर्तनपछिका दिनमा र भावी दिनका लागि पनि राष्ट्रहितमा लक्षित समाचार र विचार संप्रेषणका हाम्रा आधारसूत्रहरू तिनै हुन् । राष्ट्रिय एकता, अखण्डता र समृद्धि एवं सामाजिक सद्भाव र न्यायको लक्ष एउटा बिन्दुमा पुगेर कदापि  टुंगिदैन र  यो सदाका लागि निर्धारित गन्तव्य हो । युगसंवाद आफ्नो लक्ष्यप्रति अडिग छ र निर्धारित गन्तव्यप्रति प्रतिबद्ध छ ।  

२६ वर्षको यो अन्तरालमा नेपाल राष्ट्र र नेपाली समाजमा एकपछि अर्का राजनीतिक सामाजिक परिवर्तनका ऐतिहासिक घटनाहरू लिपिबद्ध भएका छन् । सतहमा हेर्दा नेपाली समाज द्रुततर परिवर्तनको दिशातिर अग्रसर भएको देखिन्छ तर यथार्थमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक विकासका सन्दर्भहरूलाई नियालेर हेर्ने हो भने मुलुकले अझै निश्चित गन्तव्य पहिल्याउन नसकेको र राष्ट्रियता कमजोर बन्दै जाँदा देशको अस्तित्व नै संकटमा परेको पीडादायी अनुभूतिको विस्तार भैरहेको सर्वत्र आभास छ । पत्रकारिता क्षेत्रकै मात्र कुरा गर्ने हो भने पनि भौतिक क्षमताको विस्तार, अत्याधुनिक प्रविधिको उपयोग, लगानीमा विस्तार र क्रमिक रुपमा प्रशिक्षित जनशक्तिको प्रवेशले निकै ठूलो फड्को मारेको देखिन्छ र यसलाई राम्रो उपलब्धि मान्नुपर्ने अवस्था छ । यति हुँदाहुँदै पनि राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा उठिरहेका विकृतिका लहरहरूबाट देशलाई जोगाउनसक्ने गरी राष्ट्रिय चेतना जगाउने चुनौति जवर्जस्त रुपमा खडा भएको छ । राजनीतिक विकारदेखि लिएर निहित स्वार्थका सुनियोजित कुराहरूको प्रक्षेपण र भ्रम सिर्जनाको माध्यम पनि कता कता यही क्षेत्र बन्न पुगेको छ । राष्ट्रिय सम्मान र स्वार्थको मानमर्दनका लागि आज कुन क्षेत्र प्रयोग भएको छैन भनी सिठो बालेर खोज्नुपर्ने विष्मयकारी अवस्था विद्यमान छ । मुलुकमा विधिको शासन बस्नसकेको छैन, वेथिति नै वेथितिको मारमा परेर राष्ट्रको भविष्य नै डामाडोल हुनपुगेको छ । यस्तो अनपेक्षित स्थितिको अन्त्यका लागि पत्रकारिता क्षेत्रले राष्ट्रिय जागरणका निम्ति निर्वाह गर्नुपर्ने भूमिकाको कुनै सीमा छैन ।

देशको वर्तमान अवस्था अत्यन्त संवेदनशील बन्दैगएको छ । लोकतन्त्रको जति नै जपना गरे पनि नेपालको राजनीतिले जवाफदेहितापूर्ण संस्कार निर्माण गर्न सकेको छैन । आमूल राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण पनि गर्न नसक्ने र बाह्य स्वार्थका प्रक्षेपित खेलहरूको प्रभावमा वहकिने गर्दा राष्ट्रको अस्मिता नै जोगाउन कठिन पर्दैगएको अवस्थिति अहिलेको यथार्थ हो । राजनीतिक दिशाहीनता र निरन्तरको अस्थिरताले मुलुक हरेक क्षेत्रमा परमुखापेक्षी बन्दैगएको छ । सञ्चार क्षेत्रमा समेत बाह्य लगानीका घटनाहरू उजागर भैरहेका छन् । सञ्चारकर्मीहरू स्वयं नै दल विशेषका कार्यकर्ता बनेर पक्षगत संगठनको पछाडि दौडिरहेको अवस्था छ । राष्ट्रहिततिर लक्षित सञ्चार नीतिको अभावमा राष्ट्रिय चिन्तनधार बोकेका माध्यमहरूलाई अस्तित्व जोगाउन नै कठिन पर्दैगएको छ । आवाजहीनहरूको आवाजका माध्यम बनेका माध्यमहरूकै आवाज कसले सुन्ने भन्ने अवस्था सिर्जित भैरहेको छ । संसद चलेको बेलामा पनि राष्ट्रहितका मुद्दाहरू ओझेलमा परेका हुन्छन् । देशको अर्थतन्त्र पूरै आयातमा निर्भर भएको छ । संविधानसभा–२ ले पनि विधिको बाटो पहिल्याउने कुरा विश्वसनीय बन्न सकेको छैन । राष्ट्रलाई कमजोर पार्ने विषयले प्रमुखता पाउने र राष्ट्रहितका कुरालाई उपेक्षा गर्ने प्रवृत्ति मौलाएको छ । युगसंवाद आगामी दिनमा पनि देशहितसित जोडिएका मुद्दाहरूलाई नै प्राथमिकतामा राख्न  प्रतिबद्ध  छ भन्ने कुरा यो अवसरमा पुनः दोहोर्याउन चाहन्छ ।    


Rating (Votes: )   
Share     Print


Other Articles:
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)
राजनीतिक व्यवस्थापनको समस्या (02.03.2014)
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो (01.27.2014)
डा. के.सी.को अनसन (01.21.2014)



 
::| Latest News

 
[Page Top]