युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नेकपा एमालेको नवौं महाधिवेशन
Wednesday, 07.09.2014, 12:33pm (GMT+5.5)

नेकपा एमालेको नवौं महाधिवेशन असार १९ गतेदेखि काठमाडौंमा चलिरहेको छ । देशभरका २४ सय प्रतिनिधिहरूको सहभागीता रहेको यो महाधिवेशन २६ गतेसम्म चल्ने पूर्व निर्धारित कार्यक्रम छ । यो महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने, पार्टीको कार्यदिशा तय गर्ने, वैचारिकधारलाई समयसापेक्ष पार्ने र संगठनात्मक शक्ति विस्तारको आधार फराकिलो पार्ने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गर्नुपर्ने भएकाले यसको गहन राजनीतिक महत्व छ । नेकपा एमाले स्थापित राजनीतिक मूलधारको एउटा महत्वपूर्ण हैसियत राख्ने राजनीतिक शक्ति समूह हो । विसं २००६ सालमा  नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यताका राजनीतिक परिवर्तनका ऐतिहासिक क्षणहरूमा यो पार्टीको सघन संलग्नता रहँदैआएको ऐतिहासिक तथ्य नै हो । समयक्रममा अनेक चिरा पर्दै विभाजित हुँदैआए पनि नेपालको  प्रजातान्त्रिक–लोकतान्त्रिक राजनीतिक आन्दोलनमा कम्युनिष्ट पार्टीहरूको संलग्नता अविच्छिन्न रहेको छ । वर्तमान सन्दर्भको कुरा गर्ने हो भने अनेक टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरूमध्ये नेकपा एमाले सवभन्दा बढी जनमत हाँसिल गरेको, संगठनात्मक क्षमता मजबुत भएको र समसामयिक राजनीतिक अवस्थितिमा एउटा निर्णायक शक्तिका रुपमा रहेको दल हो । यो अहिले सत्ता साझेदार राजनीतिक दल पनि हो । वैचारिक विचलन, तदर्थवादी सोच र संस्कार एवं वैदेशिक प्रभाव ग्रहणजस्ता असंगत प्रकृतिका अनेक लहरहरूले नेपालका राजनीतिक दलहरूको आन्तरिक जीवन खल्बलिँदैआएको पृष्ठभूमिमा नेकपा एमाले पनि त्यसबाट अछुत छैन तापनि सबल जनाधार भएको क्रियाशिल पार्टीका रुपमा रहेको यो पार्टीको महाधिवेशनप्रति आमजनताको ध्यान केन्द्रित हुनु स्वाभाविक छ ।

नेकपा एमालेको यो महाधिवेशनले पार्टीको आन्तरिक जीवनलाई कुन रुपमा प्रभावित पार्छ भन्ने चासो एमालेका कार्यकर्तामा मात्रै सीमित छैन, राष्ट्रिय राजनीतिमा नै यसले कति असर पार्छ भन्ने आम जिज्ञाशाको विषय बनिरहेको छ । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ ३३ स्थानमा संकुचित हुन पुगेको यो पार्टीले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ नै ९१ स्थानमा विजय प्राप्त गरी उकालेको हैसियतलाई हेर्दा पार्टीभित्र एकता कायम रहनसकेको स्थितिमा यो दलले अरू थप शक्ति हाँसिल गर्नसक्ने देखिन्छ । तर नवौं महाधिवेशनको पूर्वसन्ध्यादेखि नै यो दलभित्र तलैदेखि माथिसम्म देखापरेको गुटवन्दी र शीर्ष पंक्तिकै नेताहरूबीच विकसित भएको हिलो छ्यापाछ्यापको अपशकुनको संस्कार एवं कार्यकर्ता पंक्तिभित्र विस्तारित भएको अराजक प्रवृत्तिलाई हेर्दा गुटगत गतिविधिको दुष्प्रभाव भविष्यमा कति पर्ने हो भन्ने सन्देह खडा भएको छ । प्रमुख राजनीतिक दलहरूभित्र स्वार्थको समीकरणका अनपेक्षित खेलहरू चलिरहने भएका र बाह्यशक्तिको गोटी समेत बनेर शक्ति हत्याउने अवाञ्छित अभ्यास हुने गरेकाले मूलधारको राजनीति नै सुधारोन्मुख हुन नसकेको अवस्था विद्यमान नै छ । देशभित्र प्रमुख निर्णायक शक्तिहरू मानिएका दलहरू नै वैदेशिक चलखेलको प्रभावमा बहकिने गरेको असंगत स्थितिको अन्त्यका लागि राष्ट्रिय जागरण उत्पन्न गर्नसक्ने राजनीतिक नेतृत्व र राजनीतिक शक्ति समूहको अपरिहार्यता आमजनताले महसुस गर्न थालिसकेका छन् । नेकपा एमालेले मुलुकको यो आवश्यकतालाई आत्मसात गरेर आफ्नो वैचारिक धार खिरिलो पार्न र तदनुकूलको कार्यदिशा अवलम्बन गर्नसकेमात्र यो महाधिवेशनको ऐतिहासिक महत्व स्थापित हुनसक्छ ।

देशको वर्तमान अवस्था अत्यन्त संवेदनशील छ । आत्मसमर्पणवादी चरित्र वरण गरेको राजनीतिक नेतृत्वले मुलुकलाई नयाँदिशामा हाक्न नसक्ने तथ्यको उद्घाटन दोस्रो जनआन्दोलनपछिको देशको अवस्थाले नै इंगित गरिरहेको छ । राष्ट्रियताको सवालमा राजनीतिक दलहरू धेरै कमजोर सावित भएका छन् । राजनीतिक दलहरूको सैद्धान्तिक धरातल भास्सिइसकेको छ र वैचारिक विचलनका लहरबाट कुनै पनि दल मुक्त छैनन् । दोस्रो संविधानसभाले पनि संविधान बनाउँछ, बनाउँदैन भन्न सकिने अवस्था छैन । विधिको शासनको जग बसेको छैन । मुलुकले सामाजिक–आर्थिक रुपान्तरणको बाटो अझै पहिल्याएको छैन । नेताहरू संकीर्ण स्वार्थकै निम्ति ङ्यार्ङुर गरिरहेका छन् । नेकपा एमालेका नेताहरू दिवंगत जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको रटान गरेर कार्यकर्ताहरू आकर्षित गर्ने एउटै रणनीतिमा छन्–विचार र कार्यदिशाबारे विमति नदेखिए पनि पद हत्याउने कसरतले मर्यादाको सीमा नाघिसकेको छ । वैचारिक र राजनीतिक रुपमा पार्टीलाई एक ढिक्का बनाउने उद्घोष नेताहरूले गर्दैरहेका भए पनि अस्वस्थ प्रतिस्पर्धाको छनकले कस्तो परिणाम निम्त्याउने हो भन्ने आशंका उब्जिरहेको छ । प्रमुख राजनीतिक खेलाडीमध्ये एक मानिएको एमालेको यो महाधिवेशन अहिलेको महत्वपूर्ण राजनीतिक घटना सन्दर्भ हो । यसले निर्धारण गर्ने नीति र कार्यदिशाले संविधान निर्माण र सरकारको भविष्यदेखि लिएर सिंगो राजनीतिक परिवेशलाई प्रभावित पार्ने छ । हामी यो महाधिवेशनको सफलताको कामना गर्दछौं । 


Rating (Votes: )   
Share     Print


Other Articles:
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)



 
::| Latest News

 
[Page Top]