युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:53am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
मोदीको नेपाल भ्रमण
Monday, 08.04.2014, 06:49pm (GMT+5.5)

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजै स्वदेश फर्किसक्नु भएको छ । केही महिना अघि भएको भारतीय लोकसभाको निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर सत्तारोहण गरे लगतै उहाँले नेपालसितको सम्बन्धलाई प्राथमिकतामा राख्नुभएको कुरा प्रकाशमा आएको थियो । तदनुरुप नै उहाँ नेपाल भ्रमणमा आउनु भयो । नेपालीहरुले उहाँलाई दिल खोलेर स्वागत गरे । उहाँले नेपालीहरूको मनोभावना बुझ्ने मौका पाउनु भयो । नेपालप्रति उहाँको सद्भाव प्रकट भयो । नेपालीहरू भारतका विरोधी छैनन्, हैकमवादी चरित्र, थिचोमिचो, असमान व्यवहार, सहमति पूरा नगर्ने प्रवृत्ति र एकलौटी स्वार्थपूर्तिको चाहनाका मात्र आलोचक हुन् भन्ने उहाँले बुझेको हुनुपर्छ । नेपालका प्रधानमन्त्रीले सत्तारोहण गर्नासाथ दिल्ली दर्शनमा जाने परम्परा नै बसालेका भए पनि विगत १७ वर्षदेखि भारतका प्रधानमन्त्रीबाट भने नेपालको भ्रमण भएको थिएन । समयको त्यस कालखण्डमा नेपाल भारत सम्बन्ध कर्मचारीतन्त्र र गुप्तचरी निकायबाट परिचालित हुँदा अनेकौं विकृतिका पहाड खडा भएका छन् । भारतका उदीयमान नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुई देशबीचको सम्बन्धलाई उच्च राजनयिक तहबाटै परिचालन गर्ने सकारात्मक क्रम सुरु भएको छ । २३ वर्षदेखि अवरुद्ध भएको नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको छ । र्दुइ देशबीच झ्यांगिएर फैलिएका समस्याहरू केलाउने प्रयास भएको छ । यसबीचमा नेपालका सञ्चार माध्यमहरू र सामाजिक सञ्जालका माध्यमबाट  राजनीतिक दलहरूका, विचार बिश्लेषकहरूका, पूर्व प्रशासकहरुका, प्राविधिज्ञहरुका, सीमाविद्हरूका एवं नागरिक समुदायका विचार, धारणा र अनुभवजन्य कुराहरू खुला रुपमा बाहिर आएका छन्  र सरकारले विगतमा झैं सौदावाजी गरेर गोप्य रुपमा सन्धि–सम्झौता गर्न नपाउने स्थिति अनुभूत भएको छ । बोलीमा जति नै सौहाद्र्र, उच्च र अनुपम भने पनि अविश्वासै अविश्वास र आशंकै आशंका झ्यांगिएर विचलित भएको नेपाल भारत सम्बन्धले अब वस्तुनिष्ठ सही बाटो पहिल्याउने सम्भावना बढेको छ । मोदी भ्रमणको उपादेयता यही हो  ।

भारतका प्रधानमन्त्री मोदी सेवा, सद्भाव, त्याग र समर्पणबाट अनुप्राणित हिन्दु धर्म र दर्शनबाट दीक्षित राजनीतिक नेताका रुपमा सुपरिचित हुनुहुन्छ । उहाँले नेपाल आएर सम्पूर्ण हिन्दुका आस्थाका केन्द्र आराध्यदेव पशुपतनाथको दर्शन गर्नुभयो, साउनको सोमवार दिन पारेर पूजा–आर्चना गर्नुभयो र आशीर्वाद ग्रहण गर्नुभयो । जानकी सीताको जन्मभूमि जनकपुर र बुद्धको जन्मभूमि लुम्बिनी जाने उहाँको धोको सार्क सम्मेलनमा आउँदा पूरा गर्ने धारणा व्यक्त गरेर उहाँ स्वदेश फर्कनुभएको छ । नेपाल आउँदा उहाँको स्वागत सत्कारमा कुनै कमी रहेन, उहाँ अवश्य नै खुशी मन लिएर स्वदेश फर्कनुभएको हुनुपर्छ । नेपालप्रति उहाँले प्रकट गर्नुभएको सद्भाव अब व्यवहारमा रुपान्तरण भएको हेर्न नेपालीले चाहेका छन् । नेपाल र भारत दुवै सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हुन् र दुई देशबीचको सम्बन्ध ठूलो सानोको भेदमा होइन समानताका आधारमा विकसित हुनुपर्छ । अहिलेसम्म भारतका सत्ताधारीहरूले आफू ठूलो हौं भन्ने अहंकार देखाएर हेप्ने–थिच्ने व्यवहार गरे । द्वीपक्षीय सम्बन्धबीचको जटिलता र कुण्ठाको कारण त्यही हो । सद्भाव, सहकार्य र सहयात्राका निम्ति समान हितको ख्याल हुनुपर्छ– आजसम्म त्यो भएन । अनेकौं असमान सन्धिको पीडा  यथावत छ । कोशी, गण्डकी, महाकालीमा नेपाल ठगिएको बोध सर्वत्र छ  । सीमा अतिक्रमण जारी नै छ । सुस्ताको घाउ बल्झिरहेको छ । कालापानीमा नेपालभूमि कब्जा गरेर भारतीय सेना बसिरहेकै छ । मोदी कालमा यी सबै समस्याको निदान होस् भन्ने आम नेपालीको चाहना छ ।

बुद्धको जन्मभूमि नेपालको एक इञ्च जमिन पनि भारतले नलिने बचन उहाँकै विदेश मन्त्री सुष्मा स्वराजले दिएर जानुभएको छ । भारतको  छिमेकीसंगको सम्बन्ध नीति बदलिने क्रममा रहेको छनक उहाँहरूले दिएर जानुभएको छ । विगतमा भएका द्वीपक्षीय सहमति र संझौताका कतिपय विषयहरू कार्यान्वयन नै नभै थन्किएका उदाहरणहरु छन् । महाकाली सन्धि ताजा उदाहरण नै छ । भारतीय कम्पनीले ओगटेर राखेका १८ वटा जल बिद्युत आयोजनाहरूकै कार्यान्वयन भएको छैन । भारतले बाहिर बिद्युतको कुरा अगाडि सारे पनि खास रुची पानीमा हो । नेपालीले अब त्यसमा पनि चासो देखाउन थालेका छन् । बढ्दो व्यापार घाटा कम गर्ने उपायवारे पनि उत्तिकै चासो बढेको छ । वर्तमानका जिउँदा समस्या थाती राखेर अतीतको गौरवगाथा गाउनुको कुनै अर्थ छैन भन्ने आत्मसात गरेर दुई देशबीचको सम्बन्धलाई समानता र पारस्परिक हितका आधारमा परिचालन गर्नुपर्ने सन्देश समयले नै दिएको छ । नेपाली जनता मोदी सरकारको भनाइ र गराइमा एकरुपता रहेको देख्न प्रतिक्षारत छन् । 



Rating (Votes: )   
Share     Print


Other Articles:
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)



 
::| Latest News

 
[Page Top]