युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 09:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
प्राज्ञिक थलोको दुर्दशा
Tuesday, 09.09.2014, 05:35pm (GMT+5.5)

मुलुकका लागि आवश्यक पर्ने देशभक्त, नैतिकवान, इमान्दार र दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक उन्नयनको थलो विश्वविद्यालयको अवस्था यतिबेला दर्दनाक छ । मुलुकको जेठो विश्वविद्यालय त्रिभुवनदेखि नयाँ खुलेका विश्वविद्यालयसम्म चरम भ्रष्टाचारको आहालमा डुबेर दुर्गन्धित बनेका छन् । विश्वविद्यालयहरू जसरी स्वतन्त्र, निर्भिक र निर्वाध रूपमा प्राज्ञिक उन्नयनमा लाग्नुपथ्र्यो त्यसको साटो चलखेलको मैदान, भर्तीकेन्द्र र राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलोमा परिणत गर्ने गलत संस्कारका कारण यो अवस्थामा पुगेका हुन् । केही दशक अघिसम्म एसियाकै उत्कृष्ट विश्वविद्यालयहरूमा पर्ने त्रिभुवन विश्वविद्यालय अहिले भ्रष्टहरूको अखाडा, राजनीतिक दलका लागि कार्यकर्ताको भीड जम्मा गर्ने भर्तिकेन्द्र र सडकमा ढुंगा हान्ने, आगो बाल्ने मुस्तण्डहरू उत्पादन गर्ने थलोमा परिणत भएको छ । त्रिभुवन विश्वविद्यालयकै सिको गर्दै भर्खर खुलेका विश्वविद्यालयहरूमा पनि करोडौं भ्रष्टाचार भएको काण्ड खुलेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गति नै लिन नपाउँदै उपकुलपतिसहित १४ जना पदाधिकारीलाई अख्तियारले गिरफ्तार गरेको घटनाले नेपालको उच्च शिक्षा दिने प्राज्ञिक थलोको दुर्दान्त अवस्थाको स्पष्ट चित्र दिन्छ । यसैले त नेपालको विद्यालयदेखि विश्वविद्यालयसम्म भ्रष्टाचारको जालो फैलिएको छ । गरीब नेपाली जनताको रगत पसिनाबाट जम्मा भएको राष्ट्रको ढुकुटी केही मुट्ठीभरका व्यक्तिको कमाइखाने मेसो बनाइएको छ । त्यसैले त सरकारले लगानी गरेका शैक्षिक थलो बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ । यसैको फाइदा उठाएर निजी क्षेत्रले कुस्त कमाउने मेसो पाएका छन् । परीक्षाको नतिजालाई आधार बनाएर उनीहरूले मनलाग्दी शुल्क असुलेका छन् । गरीब नेपाली जनता दिनदिनै लुटिएका छन् ।

प्राज्ञिक–शैक्षिक उन्नयनको क्षेत्रको अग्रणी संस्थाहरूमा अख्तियारले छापा मार्नु, त्यसका अगुवाहरू अख्तियारको हिरासतमा पर्नु कुनै मानेमा पनि सही मान्न सकिन्न र यस्तो अवस्थाको सिर्जनाले मुलुकमा कति विकृति–विसंगतिको विकास भैरहेको छ भन्ने तथ्यको मात्र उजागर गरिरहेको छ । यसको एउटै कारण भनेको राजनीतिकरण नै हो । राजनीतिक दलले आफ्ना कार्यकर्ता भर्ती गर्न खोज्ने, प्राज्ञिक व्यक्तित्वहरूले पनि योग्यता र क्षमताका आधारमा नभै राजनीतिक दलका नेताको झोला नबोकेसम्म अवसर नपाउने भन्ने गलत मान्यतारको विकास गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो । बौद्धिक बहस गर्ने थलोमा रहनेहरू सोही अनुसारको योग्यता र क्षमताको हुनुपर्नेमा राजनीतिक दलको टीका लगाएका व्यक्तिहरूले मात्र अवसर पाउँदा विश्वविद्यालयहरूको हालत यस्तो भएको । त्रिभुवन विश्वविद्यालयको अहिलेको पदाधिकारी पनि राजनीतिक भागवण्डामै नियुक्त भएको हो । अख्तियारको हिरासतमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिदेखि सबै पदाधिकारी भागवण्डामै नियुक्त भएका थिए । विश्वविद्यालयको प्रशासनदेखि शैक्षिक गुणस्तर कायम गरी मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्नेभन्दा आफ्ना कार्यकर्तालाई त्यहाँ पुर्याएर नाजायज लाभ लिने गलत अभ्यासको निरन्तरता नै अहिलेको अवस्था हो । राजनीतिक दलका नेताको पछि लागेमा जस्तोसुकै अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत मान्यताको विकासको परिणाम शैक्षिक गतिविधिमा लगाउनुपर्ने रकम भ्रष्टहरूको ढुकुटीमा पुग्ने गरेको छ । विश्वविद्यालय मात्र हैन मुलुकका समग्र संरचनामा अहिले यस्तै स्थिति छ । 

शैक्षिक क्षेत्रमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटीको विकासले गर्दा यस्तो स्थिति उत्पन्न भएकोमा कसैको विमति छैन । यस्तो अभ्यासले गर्दा प्राध्यापकहरू नै दलपिच्छेका भातृ संगठन खोलेर बसेका छन् । गुरूजनहरू नै राजनीतिक दलका कार्यकर्ता बनेर विश्वविद्यालय ध्वस्त बनाउने अभियानमा लागेपछि त्यस्ताबाट शिक्षित हुने विद्यार्थीहरूले आफ्नै शैक्षिक थलोमा आगजनी गर्याे भनेर आश्चर्य मान्नुपर्ने कुनै कारण छैन । जस्तो शिक्षा त्यस्तै व्यवहार । अहिलेको शैक्षिक क्षेत्रको विडम्बना यस्तै छ तर पनि समय बितिसकेको छैन । मुलुकका अग्रणी बौद्धिक वर्गले आफूलाई स्वतन्त्र राखेर विश्वविद्यालय जस्ता उच्च शैक्षिक निकायमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप हुन नदिने प्रण गर्ने हो भने गुमेको शाख पुनः प्राप्त हुनेछ । शैक्षिक उन्नयनमा लागेकाहरू व्यक्तिगत लाभको पछि नलाग्ने हो भने शैक्षिक क्षेत्रमा घुसेको राजनीतिक विकति सजिलै हटाउन सकिन्छ तर प्राज्ञिक व्यक्तित्व नै राजनीतिक दलको झोले बनेर विश्वविद्यालयमाा धर्ना, तालाबन्दी र हड्तालमा उत्रने गर्दा यो मुलुकमा सर्वाधिक सम्मानित हुनुपर्ने विद्वत् वर्ग सर्वाधिक दुर्नाम बन्न पुगेको छ । प्राज्ञ समेत भनिने यस्तो वर्गले आफ्नो जिम्मेवारी बोध गरेर सच्याउने जमर्को नगर्दासम्म र राजनीतिक दलका कार्यकर्ता बनेर क्षणिक लाभ पाउने लोभ नत्याग्दासम्म मुलुकका विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक अवस्थामा सुधार हुँदैन । वार्षिक अर्बौं रूपैयाँ टुकुचाको फोहरसंगै निरन्तर बगिरहनेछ ।

उच्च शिक्षाका लागि अग्रणी त्रिभुवन विश्वविद्यालयको भ्रष्टाचार यति चरम रूपमा बढेको छ कि भ्रष्टाचारकै लागि पदाधिकारी बन्न राजनीतिक दलको ढोका चाहार्ने प्रवत्ति बढिरहेको छ । विशेषतः चिकित्साशास्त्र अध्ययनका क्रममा त्रिविले दिने सम्बन्धमा करोडौं रकमको चलखेल भएका घटनाहरू एकपछि अर्को गर्दै सार्वजनिक भैरहेको छ । त्रिविको विकृति र भ्रष्टाचार रोक्न प्राध्यापकहरू अनशनमै बसेका छन् । २०१६ सालमा स्थापना भएको त्रिभुवनन विश्वविद्यालय चरम राजनीतिक चलखेलका कारण उठ्नै नसक्ने गरी थला पर्ने अवस्थामा पुगेको छ । यससंगै अहिलेसम्म खुलेका ९ वटा विश्वविद्यालय र विश्वविद्यालयसरह काम गर्ने ४ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालत त्रिविकै जस्तो छ । यो मुलुकको शैक्षिक जनशक्ति उत्पादन गर्ने अभियानमा ठूलो अबरोध हो । यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकले उन्नति गर्न सक्दैन भन्ने हाम्रो दृढ मत रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)



 
::| Latest News

 
[Page Top]