युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 08:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सामूहिक आवाजको खाँचो
Tuesday, 10.21.2014, 10:36am (GMT+5.5)

हिमाल र सागरबीचको अन्योन्याश्रिम सम्बन्धमा आउने दरारले ठूलो विपत्ति निम्त्याउँछ । यस्तै विपत्तिको सामना नेपालले गर्नुपरेको छ त्यो पनि बेमौसममा । प्रमुख पर्यटकीय याममा विश्वप्रसिद्ध पदयात्रा मार्गमा गएको हिम पहिरोका कारण ४० जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकको मृत्यु हुनु नेपालको पर्यटन व्यवसायको भविष्यमाथि खतराको संकेत हो । यसको कारक भने नेपाल हुँदैहोइन । विश्व जलवायु परिवर्तनका कारण उत्पन्न भएका बिकारहरूले गर्दा नेपालको हिमाल असुरक्षित भैरहेको छ । जलवायु परिवर्तनका कारण सर्वाधिक प्रभावित हुने मुलुकको प्रमुख स्थानमा रहेको प्राकृतिक सौन्दर्य र जैविक विविधताको धनी नेपाल अपूर्व प्राकृतिक संकटको भूमरीमा पर्ने खतरा उत्पन्न भएको छ । यहाँको प्राकृतिक स्रोत साधनले विश्वलाई नै आकर्षित गर्दछ । धार्मिक, सांस्कृतिक, सामाजिक विविधताको बयानै गरेर सकिन्न । कतिपय प्राकृतिक कुराहरूमा आधा विश्वको प्रतिनिधित्व नेपाल एक्लैले गर्दछ भनेर विज्ञहरू बताउँछन् । विश्वमा जति प्रजातिका चरा छन्, त्यसको ३६ प्रतिशत नेपालमै रहेको बताइन्छ । अहिले यी सम्पदाहरू संकटको भूमरीमा पर्न थालेका छन् । विश्व जलवायु परिवर्तनले नेपालको मौलिक परिचय नै गुम्ने खतरा मात्र उत्पन्न भएको मात्र होइन, नेपालको सामाजिक–आर्थिक जीवन नै तहसनहस हुने अवस्थाको समेत सिर्जना हुने भय मडारिएको छ । तर हाम्रा नीति निर्माताहरूले यसमा दिनुपर्ने जति चासो दिएका छैनन् र लिनुपर्ने जति चिन्ता पनि लिएको पाइदैन । 

अर्कोतिर नेपालभित्रै प्राकृतिक स्रोत साधनको अनावश्यक र बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको ख्यालै गरिएको छैन । राजधानी उपत्यका मात्र होइन, पहाडी जिल्लाका डाँडाकाडा भत्किने क्रममा छन् भने जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न अपनाउनुपर्ने गृहकार्यको तयारी नै भएको छैन । यसको विपरीत व्यवसायको नाममा पहाड खनेर त्यहाँबाट ढुङ्गा–माटोको विक्री भैरहेको छ । चुरे पहाडलाई ध्वस्त पार्ने गरी संचालनमा आएका गिटी–रोडा कारखानाले दिने राजश्वको तुलना त्यसबाट पर्ने पर्यावरणीय क्षतिसंग हुन सक्दैन । केही रकमको लोभमा मुलुकलाई नै तहसनहस पार्ने काम भैरहेका छन् । नीति निर्माताहरूले प्राकृतिक सन्तुलन कायम गर्नेतिर खासै ध्यान दिएका छैनन् । वनजंगल उजाड हुँदैछन् । पहाडहरू चर्किने र भत्किने खतरा औंल्याउन थालिएको छ । राजधानीकै शिवपुरी, नागार्जुन, पुल्चोकी लगायतका पहाडहरू भासिने खतरा बढेको छ । यसको एउटै कारण भनेको उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण हो । शहरीकरण र वस्ती विकासका नाममा सानातिना डाँडा र थुम्काहरूमा डोजर कुदाउने गरिएको छ । उर्बर भूमि मानिएको उपत्यका यतिबेला घरैघर मात्र उम्रिरहेका छन् । यहाँको हरियाली, पानीका स्रोत र सौन्दर्यका प्रतिमूर्ति वरिपरीका पहाडहरू जोखिममा परिरहेका छन् । हिजो बाबु बाजेले हामीलाई हस्तान्तरण गरेको धारा, पोखरी र स्वच्छ नदीको ठाउँमा हामीले भोलिका पुस्तालाई के हस्तान्तरण गर्दैछौं ? खोई कसैले चिन्ता र चासो देखाएको ? नदी भनेको ढल निकासको बाटो र पहाड भनेको उजाड र पहिरो गएको भीर मात्रै हामीले भावि पुस्तालाई हस्तान्तरण गर्ने हो ?

हामी आफूले जति विकार थुपार्याैं त्योभन्दा कैयौं गुणा बढी धनी र विकसित राष्ट्रहरूले सिर्जना गरिदिएको संकटको सामना गर्नु परिरहेको छ । हिमाल पग्लदैछ, पहाड उजाड हुँदैछ, तराईमा डुबान र बाढीको समस्या बढिरहेको छ । कृषि प्रणालीमा व्यापक फेरबदल आएको छ । तराईमाभन्दाा हिमालमा तापक्रम वृद्धिको दर उच्च छ । फलफूल पाक्ने समय बदलिएको छ । हिमाली क्षेत्रमा समेत लामखुट्टे देखापर्न थालेका छन् । यसको एउटै कारण जलवायु परिवर्तनको प्रभाव हो । नेपालले यस विषयमा विश्व मञ्चमा दह्रो आवाज उठाउनुपर्दछ । समुद्री किनारमा रहेका र हिमाली मुलुकहरूको सामूहिक आवाजले मात्र जलवायु परिवर्तनको प्रभाव कम गर्न र यसबाट भएको क्षतिको पूर्ति लिन सकिन्छ । यस दिशातिर कुनै पनि मुलुक एक्लैले कराएर केही हुँदैन, सामूहिक आवाज र सामूहिक योजना तथा तथ्यांक पेश गर्नुपर्दछ । विदेशीले तयार गरिदिएको प्रभाव मूल्यांकन प्रतिवेदनका भरमा नेपालले जलवायु परिवर्तनबाट पुगेको क्षतिको क्षतिपूर्ति पाउन सक्दैन ।

एकातिर विश्व तापक्रममा आएको वृद्धि, अर्कोतिर नेपालभित्रै भैरहेको प्रदूषण । यी दुईको संयोजनले नेपालको तमाम क्षेत्रमा प्रभाव पारिरहेको छ । दुई दशक अघिसम्म जलवायु परिवर्तनलाई महत्व र चासो दिइने गरिएको थिएन । हाल आएर जलवायु परिवर्तनले मानव सभ्यतालाई मात्र होइन पृथ्वीको अस्तित्वलाई नै संकटमा पार्न थालेका अनेक संकेतहरू देखिएका छन् । केही मुठ्ठीभरका धनी, औद्योगिक र सम्पन्न मुलुकहरूको लापरर्वाहीका कारण यस्तो स्थितिको सिर्जना भैरहेको छ । ‘ग्लोबल वार्मिङले अब ग्लोबल वार्निङ’को रुपधारण गर्दैछ । यसको संकेतका रुपमा विश्वका विभिन्न मुलुकमा आएको समुद्री आँधी, बेमौसममा नेपालका हिमालमा गएको हिमपहिरो आदि हुन् । जलवायु परिवर्तनको प्रभाव कुनै एक मुलुकमा मात्र होइन विश्वका विभिन्न क्षेत्रमा एकसाथ पर्ने प्रशस्त आधार र उदाहरणहरू देखापरिरहेका छन् । यसलाई समय छँदै समाधान गर्नेतिर लागिएन भने विश्वका धनी मुलुकको धनले मानव सभ्यता बचाउन सक्दैन । सक्दो हो त अमेरिका, जापान जस्ता मुलुकले शून्य क्षति व्यहोर्नुपर्ने हो । त्यसैले भविष्यमा निम्तनसक्ने महासंकटबाट जोगिन प्रकृतिसंग खेलिएको पौठेजोरीबिरुद्ध प्रकृतिलाई नै सन्तुलन राखेर प्रकृति मैत्री काम गर्नुपर्दछ र यसका लागि सिंगो विश्वको सामूहिक प्रयास र आवाजको खाँचो छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)



 
::| Latest News

 
[Page Top]