युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
आक्रामक सक्रियताको आवश्यकता
Tuesday, 11.25.2014, 03:00pm (GMT+5.5)

गरीबी, अशिक्षा, भोकमरी र राजनीतिक अस्थिरतासंगै अपार सम्भावना भएको क्षेत्र दक्षिण एसियाको ऐतिहासिक–पौराणिक महत्वलाई यो क्षेत्रका नेतृत्वले वेवास्ता गरेका कारण विकासमा पछिपरेको छ । यस्तो अवस्थामा सुधार ल्याई सामूहिक विकास अभियान र सदस्य राष्ट्रहरुबीचको सम्बन्ध मजबुत बनाउने सोचका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनाको तीन दशक पूरा हुन लाग्दा पनि यसको गति सुस्त नै छ । सार्कभन्दा पछि गठन भएका अन्य क्षेत्रका यस्ता संगठनहरुले उच्च फड्को मारिसक्दा पनि सार्क भने जसोतसो घिस्रिरहेको छ । यहाँको स्रोतको उपयोग गर्ने र सामूहिक विकास गर्ने प्रयास नै भएको छैन । अर्कोतिर विश्वका जल्दाबल्दा समस्याहरु र यही क्षेत्रका समस्याहरुका बारेमा पनि सार्कका १७ वटा शिखर सम्मेलनले गरेका घोषणाहरु पनि अलपत्रै छन् । स्वतन्त्र स्वापार, लगनीको विस्तार, आतंकवाद निर्मूल, वातावरणीय सुरक्षा, शिक्षा, स्वास्थ्य, मानवअधिकार जस्ता विषयमा सार्कले गरेको प्रतिबद्धता कागजमै मात्र सीमित भैरहेको छ । अब सार्कको गति आक्रामक हुनुपर्ने महसुस गर्न थालिएको छ । अन्य संगठनहरुको विस्तार, विकास र उनीहरुको प्रभावलाई हेरेर पनि सार्कले आफ्नो धार, चिन्तनशैली र कार्यतत्परतामा युद्धस्तरको परिवर्तन ल्याउनु आवश्यक छ ।

विश्वमा सामूहिक भावनाको विकास भैरहेको छ । युरोपेली यूनियनले जस्तै सार्कमा साझा मुद्रा चलाउने, निर्वाध आवागमन दिने, भाषा, कला, संस्कृतिको विकास गर्ने र त्यसलाई क्षेत्रकै साझा पहिचान बनाउने दिशामा सार्कले अब नयाँ कदम लिनु आवश्यक छ । सार्कस्तरमा सांस्कृतिक आदान–प्रदान द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको प्रमुख कडी हो तर सदस्य मुलुकहरुका बीचमा कायम रहेको अवश्वास, आशंका र मनमुटावले सार्कको शिखर सम्मेलन र यसका घोषणापत्रहरु नियमित प्रक्रिया मात्र बनिरहेको छ । सार्क विश्वका शक्ति राष्ट्रहरुको चासोको क्षेत्र बनिरहेको छ । भारत विश्व राजनीतिमा प्रभाव पार्ने हैसियतमा छ । त्यसैले दक्षिण एसियाको सबभन्दा ठूलो मात्र हैन विश्व शक्ति बन्ने क्रममा रहेको भारतको उदार भावना सार्कका अन्य देशको विकास र स्थायित्वका लागि मजबुत कडी हो । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानको आपसी टकरावले सार्क छायाँमा पर्ने गरेको छ । पटकपटक यी दुई देशको सम्बन्ध विग्रदा शिखर सम्मेलनको मिति नै सर्ने गरेको छ । कुनै एक मुलुकले चाहेमा शिखर सम्मेलन रोक्नसक्ने सार्कको नियम छ । शिखर सम्मेलनका क्रमै यी दुई मुलुकबीच चर्को घोचपेच समेत हुने गरेको छ । त्यो अवस्थाको अन्त्यका लागि सार्ककै भूमिका महत्वपूर्ण छ । भूमण्डलीकरणको अहिलेको युगमा कुनै एक मुलुक एक्लैले केही गर्छु भनेर सम्भव छैन । हरेक मुलुक बाहिरी दुनियाँसंग सम्बन्धित रहेकै हुन्छन् । एक अर्काको सहयोगबिना विकास र उन्नति सम्भव छैन । भारत र चीन वा चीन र अमेरिकाकै कुरा गर्दा पनि यी मुलुकहरुबीचको सम्बन्ध सोचेजस्तो राम्रो नभए पनि यी मुलुकहरु एक अर्काप्रति निर्भर छन् । चीन उदाउँदो आर्थिक शक्ति हो भने भारत उसैको पछिपछि छ । भारत र चीन नै भोलिको विश्व शक्ति बन्ने भविष्यवाणी भैरहेका बेला दक्षिण एसियामा भारतको महत्व कति छ र यही क्षेत्रमा चीनको उपस्थिति अति अनिवार्य छ भन्ने स्पष्ट हुन्छ । चीनले पटकपटक सार्कको सदस्य बन्न इच्छा जाहेर गरे पनि भारतकै कारण त्यो सम्भव भैरहेको छैन । भारत चीनबाट अथाह लगानी भित्र्याउन चाहन्छ तर चीनलाई सार्कमा प्रवेश दिन हिच्किचाइरहेको छ । यसको एउटै कारण भनेको दक्षिण एसियामा भारतको दबदवा समाप्त हुन्छ भन्ने नै हो । तर, अब त्यस्तो सोचले क्षेत्रीय विकास हुँदैन । 

जनशक्ति, प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै विकासमा गति लिन नसकेको सार्क राष्ट्रबीचको सम्बन्ध विस्तार र अविश्वास हटाउने गरी १८ औं शिखर सम्मेलने मार्ग तय गर्न सके यो सम्मेलन ऐतिहासिक हुनेछ । विशेषतः स्वतन्त्र व्यापार र साझा मुद्राको प्रचलन तथा निर्वाध आवागमनको व्यवस्था सार्कका लागि अनि महत्वपूर्ण छ । यसले यो क्षेत्रको शिक्षा, खेलकूद र संस्कृतिको विकासमा ठूलो टेवा दिनेछ । त्यस्तै खेलकूदको विकास, त्यसमा पनि क्रिकेटको विकासमा, भारत, पाकिस्तान र श्रीलंका जस्ता राष्ट्रले सार्कका अन्य मुलुकलाई सहयोग पुर्याउनु नितान्त आवश्यक छ । विश्व क्रिकेटका हस्ती मुलुकमा चिनिएका यी तीन देशले नेपाल, माल्दिभ्स, भुटान, अफगानिस्तान जस्ता भर्खर क्रिकेटमा जम्दै गरेका मुलुकलाई सहयोग गर्नुपर्छ र यो सार्कको एउटा एजेण्डा बन्नु आवश्यक छ । पर्यटन विकास, जलस्रोतको विकास, उन्नत र जैविक कृषि प्रणालीको विकास यो क्षेत्रको महत्वपूर्ण प्राथमिकताको विषय हो । 

किनभने, कुनै एक देशमा भएको विकासको प्रभाव अर्को देशमा परे जस्तै कुनै एक देशमा कायम रहेको गरीबी, अशिक्षा, भोकमरीको प्रभाव अर्को मुलुकमा पनि पर्छ । यसैले क्षेत्रीय संगठनहरुको अवधारणा अघि आएको हो । सार्क सामूहिक रुपमा यो क्षेत्रको विकासमा प्रतिबद्ध संस्था भएकाले अब यसलाई कागजी रुपमा हैन व्यवहारिक रुपमै सहकार्यको दिशामा अग्रसर गराउनु पर्दछ । सार्कको कछुवा गतिलाई अब खरायोको गतिमा अघि बढाउनुपर्छ तर दौड जित्ने गरी । केही समय कुद्ने अनि थकाई मार्दा अर्कोले दौड जितेको जस्तो सार्क अब हुनुहुन्न । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)



 
::| Latest News

 
[Page Top]