युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 10:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रिय संकट ननिम्त्याऊ
Wednesday, 12.24.2014, 03:41pm (GMT+5.5)

संविधानसभाको दोस्रो निर्वाचनपछि त मुलुकले संविधान पाउला, शान्ति, स्थिरता, सुशासन र आर्थिक–सामाजिक विकासको ढोका खोल्ला भन्ने आम जनअपेक्षा धुमिल हुँदैछ । दलका नेताहरूले २०७१ साल माघ ८ गते संविधान जारी गर्ने तंसुक जनतामाझ गरे पनि त्यो तंसुक ठगीको मेसो मात्र सावित हुने देखिएको छ । प्रमुख राजनीतिक दलहरूबीच विगतमा जस्तो किसिमका मनमुटाव थियो अहिले पनि त्यस्तै छ । सहमति र सहकार्यको सानो त्यान्द्रो पनि देखिएको छैन । दलका नेताहरूको चरम गैरजिम्मेवारपन र राष्ट्रिय आकांक्षालाई आत्मबोध गर्न नसक्दा मुलुक महासंकटको दिशातिर धकेलिंदै जाने प्रचूर सम्भावना देखिएको छ । “निर्धारित समयमा संविधान जारी नभए ठूलो मूल्य चुकाउनुपर्ने”  विदेशीहरूको धम्कीपूर्ण सुझावको पूरै वेवास्ता गरिएको छ । समयमा संविधान जारी गर्ने गरी दलहरूबीच समझदारी बन्न सकेन भने नेपाल राष्ट्रिय संकटको भूमरीमा फस्ने निश्चित छ । नेताहरूको अहिलेको गतिविधिले त्यस्तै संकटको खेती गरिरहेको भन्न कुनै आइतबार पर्खनु पर्दैन ।

संविधान जारी गर्न सर्वदलीय सहमति र सहभागिता अपरिहार्य भए पनि देशको वर्तमान राजनीतिक दृश्यावलीले राजनीतिक असहमति र ध्रुवीकरण बढ्दैगएको यथार्थ चित्र देखाइरहेको छ । देश अहिले राष्ट्रिय आवश्यकता र जनताको आकाङ्क्षाको बाटोमा हिंडिरहेको छैन । देशका राजनीतिक निर्णायक शक्ति हामी नै हौं भन्ने देखाउन र सिद्ध गर्न चाहिरहेका प्रमुख दलका नेता त्यसैमा असफल भैरहेका छन् । वैदेशिक शक्तिहरूका रणनीतिक उपयोगका औजार बन्दैआएकाले उनीहरू आफैं दिग्भ्रमित देखिएका छन् । उनीहरूले मुलुकको आवश्यकता र जनताको आकाङ्क्षालाई हिजो पनि आत्मसत् गर्न सकेका थिएनन् भने आज पनि गर्नसक्ने देखिँदैन । उनीहरूमा लोकतन्त्रको संस्थागत विकास र विधिको शासन व्यवस्थित गर्ने क्षमता भएको भए आफैंले ‘एक वर्षभित्र सहमतिका आधारमा नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिछोड्ने’ घोषणा अहिले अलपत्र पर्ने थिएन । अब कस्तो देखिन थाल्यो भने यो पुस्ताका राजनीतिवाजहरूबाट मुलुकले निकास पाउँदैन । पटकपटक जनतासंग क्षमा मागेर अभिमत लिने नेताहरूको चरित्रमा कुनै सुधार आएको छैन । हिजो पनि र आज पनि प्रमुख दलहरूको अवस्था उही छ र परिस्थिति पनि उस्तै छ । 

आजसम्मको गतिविधि हेर्दा मुलुक राजनीतिक निकासको दिशातिर मोडिने कुनै सम्भावना देखिएको छैन । विपक्षी दलहरू सडक आन्दोलनबाटै सहमतीको दवाव दिने योजनामा छन् । सत्तापक्ष दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने हुँकारमा छ । यसबीचमा सरकार परिवर्तनको खेल पनि भित्रभित्रै चलिरहेको छ । एमालेसंग एक वर्षे करारनामा गरेर प्रधानमन्त्री हुनुभएका सुशील कोइरालाको दिनगन्ती सुरु भैसकेको छ । कांग्रेसका नेताहरू एमालेसंगको सम्झौता एक वर्षका लागि नभएर संविधान जारी नगर्दासम्मका लागि हो भनिरहेका छन् भने एमाले नेताहरू एक वर्षका लागि सरकारको नेतृत्व कांग्रेसलाई दिएकाले एक वर्षपछि एमालेको पालो भन्न थालेका छन् । सत्तारुढ दुई दल सरकार जोगाउने र प्राप्त गर्ने खेलमा लागेका छन् । यसका लागि दुबै पक्ष मधेशवादी दलको साथ लिन खोजिरहेका छन । तर, मधेशवादी दलका नेताहरूको स्वार्थको भारी एमाओवादीले बोकेको हुँदा सत्तापक्षसंग तत्काल नजिक हुन चाहिरहेका छैनन् ।

यतिबेला बाहिरी रुपमा संविधान प्राथमिकतामा परे पनि सत्ता प्रधान विषय भएको छ । मुलुकलाई कसरी निकास दिने भन्ने कुनै योजना र दृष्टिकोण नेताहरूले प्रस्तुत गर्न सकिरहेका छैनन् । विगतकै कमजोरी छताछुल्ल छ । किनभने नेता उही, पार्टी उही र चरित्र उस्तै भएपछि मुलुकले निकास पाउने र परिस्थिति बदलिने अवस्थाको कल्पना गर्नु नै नेपाली जनताका लागि विडम्बना भएको छ । यदि यिनै नेताहरूले मुलुकलाई निकास दिन्थे भने पहिलो संविधानसभाको चार वर्षे अवधि त्यसै खेर जाने थिएन । हिजोका दिनले सिद्ध गरेको तथ्य के हो भने यो देशको निर्णायक शक्ति नै हामी हौं भन्ने भ्रम पालेका कथित ठूला दलका नेताहरूले बहुदलीय राजनीतिक सिद्धान्त, आस्था, मूल्य र मान्यताको अवधारणा विपरीत अवैधानिक, अराजनीतिक, आचरणहीन र अनैतिक अभ्यास गर्दै गलत–गलत निर्णय गर्दै समस्याको थुप्रो लगाए । विधि कानुन एकातिर मिल्काएर नयाँ संविधानको गुड्डी जति हाँके पनि मुलुकमा नयाँ संविधान पनि बन्न सकेन र विधिको शासन पनि स्थापित हुन सकेन । मुलुकको संविधान, विधि, कानुन, नियम सबै हामी नै हौं भन्ने दम्भ पालेर बसेकाहरूले सोही अनुसारको काम गरिदिएको भए मुलुक धेरै अगाडि बढिसक्थ्यो तर अवस्था उकालो लाग्ने हैन ओरालो झर्ने मात्र छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)



 
::| Latest News

 
[Page Top]