युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 12:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
जनतामा बढेको छटपटी
Monday, 12.29.2014, 07:45pm (GMT+5.5)

राष्ट्रिय आवश्यकता र आकाङ्क्षा अनुरुपको संविधान बन्ला र मुलुकमा निकट भविष्यमै विधिको शासन स्थापित होला भनी व्यग्र प्रतिक्षामा रहेका नेपाली जनता देशको अन्योलग्रस्त राजनीति, नेताहरूको अराजक व्यवहार र दिशाहीनताको स्थितिबोधले झनै छटपटिन थालेका छन् । माघ ८ गतेभित्र जसरी पनि संविधान जारी हुने झूठो आश्वासन नेताहरूले अझै दिइरहे पनि संघीय संरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणाली वारेका विवादहरू यथास्थानमा छन् र ती मुद्दाहरू टुंग्याउने क्षमता कुनै राजनीतिक नेताले देखाउन सकेका छैनन् । सहमतिमा विवादित मुद्दाहरू टुंग्याउने भन्दै कार्यदल गठन गरे पनि निष्कर्षविहीन परिणामको शृङ्खला टुटेको छैन । संविधानसभाभित्रका प्रमुख शक्तिहरूबीच नै सहमतिको कुनै गुञ्जाइस छैन भने संविधानसभा बाहिरका शक्तिहरू समेतलाई समेटेर राष्ट्रिय सहमतिको दस्तावेजका रुपमा संविधान बन्नसक्ने कुनै संभावना नै छैन । पहिलो संविधानसभा संविधान बनाउन जसरी विफल भएको थियो दोस्रो संविधान पनि त्यसरी नै विफल हुने पर्याप्त लक्षणहरू छन् । एकातिर प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्रै संविधान जारी हुने हुँकार सत्ताधारी दलका नेताहरूले गरिरहेका छन् भने अर्कातिर पहिचानसहितको संघीयताका निम्ति भनेर विपक्षी गठबन्धनका नेताहरू हड्ताल र आन्दोलनको मेहरो उठाउने घोषणा  गरिरहेका छन् । नेताहरू आआफ्नै दम्भ प्रदर्शनमा अभ्यसरत छन् भने मुलुक  अनपेक्षित  राजनीतिक द्वन्द्व, अन्योल र अराजक दिशातिर धकेलिँदै गएको छ ।  राष्ट्रिय राजनीति  कुटिलता र कुनियतका प्रक्षेपित खेलहरूको फन्दामा परेकाले परिवर्तन सापेक्ष राजनीतिक आचरणको सर्वत्र अभाव छ र संविधान निमार्णको रटानले सात सात वर्षदेखि नेपाली आकाश गुञ्जित हुँदै आए पनि परिणाम शून्यको अवस्थाले निरन्तरता पाइनैरहेको छ । नेपालको राजनीतिक क्षितिजबाट अन्योल, अनिश्चितता, अविश्वास र अराजकताको कालो बादल हटेको छैन ।

मुलुकमा यस्तो अनपेक्षित स्थितिको निरन्तरताको कारण के हो ? वर्तमान समयले उठाएको यो गम्भिर प्रश्नको जवाफ राजनीतिक शक्ति समूहहरूले आआफ्नै सोच र स्वार्थ अनुसार दिने गरेका भए पनि वास्तविकता सधैं ढाकिने गरेको छ । नेपालको आन्तरिक राजनीति अनेक अनेक अदृश्य शक्तिका प्रत्यक्ष–परोक्ष निर्देशित खेलको परिबन्दमा परेकाले त्यसले राष्ट्रिय चिन्तनधारको मूलप्रवाह नै समात्न सकेको छैन र त्यसै कारण राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने क्षमता नै राखेको छैन । राष्ट्रिय राजनीतिका खेलाडीहरू राष्ट्रिय सोचबाट निर्देशित नभै अमुक अमुक अदृश्य शक्तिकेन्द्रहरूबाट प्रक्षेपित रणनीतिक सोचबाट प्रभावित र निर्देशित हुने गरेकाले राजनीतिक शक्ति समूहहरूबीच तालमेल र समन्वयको प्रचूर अभाव छ । तो स्थितिको विद्यमानता र निरन्तरताले संविधान निर्माण प्रक्रियालाई हिजो पनि प्रभावित पारेको थियो भने आज पनि पारिरहेको छ ।  राजनीतिको मूलप्रवाह नै धमिलिएकाले राष्ट्रिय महत्वका यावत क्षेत्रमा विकृतिजन्य परिणामका नकारात्मक असरहरू फैलिएका छन् । मुलुक सुनिश्चित भविष्यतिर डोरिने भन्दा अनिश्चित बाटोतिर घचेटिने आशंका र भय पैदा भैरहेको छ । द्वन्द्वको व्यवस्थापन नभै द्वन्द्वको स्वरुप बदलिएको अवस्था छ । प्रमुख राजनीतिक दलका नेताहरू राष्ट्रिय आकांक्षा र आवश्यकताले भन्दा पनि पर्दा पछाडिका अनेक अनेक शक्तिहरूको निर्देशन र परामर्शमा क्रियाशील रहने गरेकाले राष्ट्रिय सहमतिको सम्भावना नै निरन्तर क्षीण हुँदैगएको छ । पर्दाभित्रका खेलले गर्दा राष्ट्रिय सहमतिको दस्ताबेजका रुपमा संविधान आउनसक्ने कुनै सम्भावना छैन । प्रक्रियागत रुपले संविधान आयो नै भने पनि मुलुक अनपेक्षित द्वन्द्वको नयाँ चरणमा प्रवेश गर्ने उत्तिकै ठूलो आशंका छ ।

संविधान निर्माणका लागि संविधानसभाभित्र भन्दा पनि बाहिर नै ठूलो खेल चलिरहेको छ । यथार्थमा भन्ने हो भने संविधानसभाले सार्वभौम संस्थाको स्वरुप लिन र गति पक्डन नै नसकेको अवस्था अहिले पनि दोहोरिइरहेको छ । संविधानसभाका सदस्यहरूको रचनात्मक भूमिका नै स्थापित हुन सकेको छैन । चार दलका शीर्ष नेताहरू पर्दापछाडिको खेलमा सामेल छन् र सभासद्हरूको भूमिका शून्य अवस्था रहेको सर्वत्र बोध भैरहेको छ । राष्ट्रिय राजनीतिमा आन्तरिक निर्णय क्षमताको अभाव निरन्तर मुखरित छ । यो स्थितिमा पर्दा पछाडिका शक्तिकेन्द्रहरूले आआफ्नो स्वार्थ अनुकूलको खेल परिचालन गर्न छोडेर नयाँ संविधान निर्माणका सहज वातावरण बनाउन सघाउलान् भन्ने कल्पना पनि गर्न नसकिने स्थिति बिद्यमान नै छ । नेपालको आन्तरिक राजनीति पर्दा पछाडिबाट निर्देशित भैरहने अवस्था रहिरहँदासम्म राष्ट्रिय आवश्यकता र आकांक्षा अनुरुपको वातावरण सिर्जना हुन नसक्ने कटु यथार्थबोध  रन्थमोलको राजनीतिक स्थितिले नै गराइरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)



 
::| Latest News

 
[Page Top]