युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 11:49pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रनिर्माताको सम्झना
Saturday, 01.17.2015, 09:51am (GMT+5.5)

पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता हुन् । उनले दूरदृष्टि राखी एकीकरण गरेको भूभाग नै आजको नेपाल हो । २९३ वर्ष अगाडि सानो भूभाग भएको गोर्खा राज्यमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्यहरूलाई एकीकरण गरी सिङ्गो नेपालको निर्माण नगरेका भए आज हामीले नेपालीको पहिचान पाउने थिएनौं । उनले शक्ति विस्तारको लालशा राखेर साम्राज्यको विस्तार गरेका नभै नेपालको पुनःएकीकरण गरी यो भूखण्डको स्वतन्त्र अस्तित्व र स्वाभिमान जोगाइका हुन् । नेपाल विश्वका पुराना स्वतन्त्र राज्यमध्ये एक भएको र कहिल्यै पनि कसैको अधिनमा नरहेको जुन गौरव हामीलाई प्राप्त छ त्यो पृथ्वीनारायण शाहकै देन हो । उनी नेपालको गौरवमय इतिहासका निर्माता हुन् । उनले दिएको दिव्योपदेश नेपाललाई सधैं जगाउने र जोगाउने राष्ट्रिय चिन्तनधारको मुहान हो । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएपनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विशिष्ट योगदानको अवमूल्यन गर्नु ठूलो ऐतिहासिक भूल हो । पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवशको रुपमा मनाउने र उनको जन्म दिन पुस २७ गते सार्वजनिक विदा दिने जुन परम्परा बसेको थियो त्यसलाई विस्थापित गर्नु भनेको यथार्थमा राष्ट्रिय एकताको भावनामाथि नै क्रूर प्रहार गर्नु हो । नेपाललाई छिन्नभिन्न पार्न चाहने पर्दाभित्रका शक्तिहरूको उक्साहटमा बहकिएका सत्ताधारीहरूले राष्ट्रनिर्माताको ऐेतिहासिक योगदानको अवमूल्यन गर्दै राष्ट्रिय एकता र सद्भाव विरुद्धको षड्यन्त्रात्मक अभियानलाई गति दिनु किमार्थ पनि उचित कदम होइन । नेपाललाई राष्ट्रिय एकता दिवश नै नभएको र नमनाउने देश बनाउनुको निहितार्थ के हो ? यसको जवाफ अब मुलुकवासीले खोज्नुपर्ने बेला आएको छ ।

नेपाल आज जुन एकीकृत र अखण्डित अवस्थामा छ त्यो एकीकरणका अभियन्ता महानायक पृथ्वीनारायण शाहकै दूरदृष्टि, बहादुरी र समावेशी चरित्रकै प्रतिफल हो । नेपाललाई चार वर्ण छत्तीस जातको फूलवारी बनाउने महानायकको रचनात्मक कार्यलाई अपराधकर्मको श्रेणीमा राखेर निन्दा र विरोध गर्नेहरू जुनसुकै आवरण र भेषमा रहने गरेका भए पनि  वास्तविकतामा तिनीहरू नेपालको राष्ट्रिय एकता र अखण्डताको ज्यानी दुस्मन हुन् र नेपाललाई छिन्नभिन्न पार्ने षड्यन्त्रका गोटी बनेर तिनले निर्देशित रुपमा काम गरिरहेका हुनसक्छन् भन्ने कुरा राष्ट्रिय एकताका पक्षधर र स्वाभिमानी सवै नेपालीले बुझेकै हुनुपर्छ । नेपालको राष्ट्रिय एकता र अखण्डताबिरुद्ध अहिले लक्षभेदी प्रहारको लहर नै उठाइएको छ । त्यसका लागि सामाजिक सद्भाव खल्बल्याउने गरी अनेक प्रपञ्चहरू रचिएका छन् । अग्रगामी परिवर्तनका जतिसुकै गगनभेदी नारा लाग्ने गरेका भए पनि परिणामतः नेपाल नितान्त कमजोर बन्दैगएको छ र नेपाली जनताले उज्यालो भविष्यको कुनै आभास पाउनसकेका छैनन् । नेपालको राष्ट्रिय एकता, अखण्डता र सद्भावविरुद्धका गतिबिधि उत्कर्षमुखी बनिरहेका छन् । नेपाललाई यो दुर्दान्त अवस्थाबाट मुक्त गराउन पृथ्वीनारायण शाहको दिब्योपदेश नै मार्गदर्शन बन्नसक्छ ।

नेपालको भविष्यमा अहिले खग्रास ग्रहण लागेको छ । देशको समसामयिक राजनीतिक गतिविधि उल्टो दिशातिर डोरिएको छ । नयाँ नेपालको नारा घन्किएको पनि वर्षाैं भयो तर नेपालीले संविधान नामको दस्तावेज पनि पाउन सकेका छैनन् । नेपालमा गणतन्त्र त आयो तर देश र जनतालाई बलियो बनाउने तन्त्र आएन । लोकतन्त्रको हुन्डरी मच्चियो तर विधिको शासनतन्त्र आएन । क्रिसमसमा विदा दिने चलन आयो– राष्ट्रिय एकता दिवस मनाउने चलन हरायो । ल्होसार र इद् मनाउने विदा थपियो, राष्ट्र निर्माताको जन्म दिन मनाउने विदा हरण भयो । राष्ट्रनिर्माताको मानमर्दन गर्दै इतिहासको अपव्याख्या गर्ने र राष्ट्रिय एकता, अखण्डता र सद्भावविरुद्ध प्रायोजित अभियानका लहर चलाउने क्रमले मुलुकको भविष्य नै सन्दिग्ध पारेको छ तर राष्ट्रिय चेतनाको लहर उठेको छैन तर विस्तारै विस्तारै जनस्तरबाट राष्ट्र निर्माताको योगदानको मूल्यांकन गर्ने र राष्ट्रिय एकता दिवस मनाउने क्रम भने बढ्न थालेको छ । यो देशको स्वतन्त्र अस्तित्व जोगाउन, राष्ट्रिय एकता, अखण्डता र सद्भाव कायम राख्न पृथ्वीनारायण शाहले आत्मसात गरेको बाटोको सार्थकता कालजयी छ  भन्ने हाम्रो दृढ अभिमत छ । राष्ट्रिय चिन्तनधारका अविरल स्रोत  रहेका  राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएर राष्ट्रिय गौरवको पहिचान दिउँ भन्ने हाम्रो आग्रह छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)



 
::| Latest News

 
[Page Top]