युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 11:49pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राजनीतिक घम्साघम्सी
Monday, 02.02.2015, 06:30pm (GMT+5.5)

मुलुक राजनीतिक विकृति र विसंगतिको चपेटामा परेको छ । राजनीतिक दलका नेताहरू कुरा एउटा गर्छन्– काम अर्कै गर्छन् । संगतिपूर्ण व्यवहारको ठूलो खडेरी छ । देशमा असामान्य अवस्था सिर्जित छ । ठूला दलहरूका नेताहरू प्रायः सवै सहमतिकै कुरा गरिरहन्छन् तर व्यवहार भने सधैं विमति सिर्जनातिर उन्मुख रहने गरेको छ । जनतासमक्ष लिखित रुपमा गरिएका बाचाहरू पनि नेताहरुले बिर्सने गरेका छन् । पाश्र्व निर्देशनमा चलेको नेपालको राजनीतिमा नेताहरूको बोलिको कुनै ठेगान रहेको पाइन्न । मुलुकमा वेथिति सिर्जना गर्ने होडमा कुन कुन दलका कुन कुन नेताको भूमिका कति छ त्यो गहन अनुसन्धानको विषय बनिसकेको छ ।

संविधानसभा– १ के के कारणले विफल हुनपुगेको थियो त्यसको लेखाजोखा नगरी संविधानसभा– २ लाई रचनात्मक गति दिन नसकिने कुरालाई प्रमुख राजनीतिक दलका नेताहरूले सुरूदेखि नै बेवास्ता गर्दा राजनीतिक संकट गहिरिँदैगएको र संविधान निर्माण कार्य नै जोखिममा परेको अहिलेको अवस्था हो । संविधानसभा–२ को निर्वाचन पछि ठूला दलका नेताहरू सवैले एक स्वरमा २०७१ माघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्ने वचन दिए । तर माघ ८ गतेको नेटो कट्यो जनताले संविधान त पाएनन् पाएनन् निकट भविष्यमा संविधान बन्नसक्ने संभावना पनि टर्दैगएको अनुभूत गर्नु परिरहेको छ । ठूला राजनीतिक दलहरू संविधान निर्माणतिर लक्षित हुनुभन्दा सत्ता पक्ष र प्रतिपक्षको लक्ष्मण रेखा कोरेर राजनीतिक ध्रवीकरणको बाटो फराकिलो बनाइरहेका छन् । सत्ता गठबन्धन प्रक्रिया पुर्याएर बहुमतको बलमा संविधान निर्माण कार्य पूरा गर्ने बाटोमा लागेको छ भने विपक्षी मोर्चा संविधानसभाको बैठकमा उपस्थित हुन छोडेर सडक आन्दोलनतिर अगाडि बढेको छ । एउटै शक्तिको पाश्र्व निर्देशनमा चल्ने गरेका मानिने दलहरूका नेताहरूबीचको टकराव कति रणनीतिक निर्देशनको उपज हो र कति आन्तरिक सत्ता भागबण्डाको रडाकोको उपज हो भन्ने जिज्ञाशा अहिले स्वाभाविक रुपमा जागृत भएको छ । अन्यौल र अस्थिरताको निरन्तरता पाश्र्व निर्देशनको राजनीतिको विकृत परिणति हो ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच यतिखेर चर्काे राजनीतिक घम्साघम्सी चलिरहेको छ । यो घम्साघम्सी सतहमा हेर्दा संविधानको अन्तर्वस्तु वारेको विमतिको उपज जस्तो देखिए पनि सारभूत रुपमा राजनीतिक भागबण्डा नमिल्नुकै उपज हो । प्रमुख राजनीतिक दलहरूबीच कस्ता कस्ता विकृत अभ्यास  हुने गरेका रहेछन् भन्ने कुराको उत्खनन् त भरखरै मात्र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिसकेका छन् । एमाओवादीले विगतमा ४० दिन संसद अवरोध गर्दा २ अर्व ३ करोडको तमसुक गर्नु परेको जिकिर गर्दै एमाओवादीले ५–१० अर्ब पाए सडक आन्दोलन छोडेर संविधान निर्माणमा आउने खुलाशा गरेका छन् । राजनीतिक प्रतिस्पर्धाभित्र आर्थिक चलखेलको यो रामकहानीको पुष्टि गर्ने जिम्मा नेता ओलीकै रहेको भए तापनि यो प्रकरणको उत्खनन्ले विकृत राजनीतिको भित्री पाटो उजागर गरेको छ । मै हूँ भन्ने कतिपय राजनीतिक नेताहरूले राष्ट्रको अस्मितालाई बन्धकमा राखेर बिदेशीहरूसंग आर्थिक लाभ लिने गरेका विविध प्रसंगहरू सतह चर्चामा आइनैरहेका छन् । धर्मनिरपेक्षतादेखि लिएर जातीय राज्यका मुद्दाहरूले यतिबिघ्न महत्व पाउनुका पछाडि आर्थिक चलखेल र प्रलोभन नै मुख्य कारण रहेको तथ्यबोध समयक्रममा हुँदैआइरहेको छ । नेपालमा धर्म परिवर्तनका लागि प्रवाह गरिएको लगानी प्रत्युत्पादक बनेको गुनासो अन्तर्राष्ट्रिय क्षेत्रबाटै हुनथालेको प्रसंगले नेपालको आन्तरिक राजनीतिभित्रको विकृतिको स्रोत पनि इंगित गरेको छ । राजनीतिक सिद्धान्त, विचार र चिन्तनको आवरणमा मुलुककै भविष्य समाप्त गर्ने जुन हर्कतहरू अहिले भैरहेका छन् ती सवै पाश्र्व निर्देशन र आर्थिक चलखेलका उपज हुन् र ती सहजै रोकिनेवाला छैनन् भन्ने कुराको उजागर मुठभेडको असंगत राजनीतिक स्थितिले नै गरिरहेको छ । संविधान बन्न नसक्नुको अन्तर्निहित कारण पनि सायद यही नै हो ।

सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच यतिखेर संविधानका अन्तर्वस्तु र निर्माण प्रक्रिया वारे सतहमा देखिएका मतमतान्तरहरू कति यथार्थपरक र कति कृतिम हुन निक्र्याैल हुन बाँकी नै छ । नेपालीहरूबीच रहेको जातीय र क्षेत्रीय सद्भाव टुटाउन, सनातन धर्म र संस्कृतिविरुद्ध व्यूहरचना गर्न र नेपालको आर्थिक उत्पादकत्व वृद्धिको सम्भाव्यता नष्ट गर्न वैदेशिक क्षेत्रबाट प्रवाह गरिएको लगानीले नेपालको राजनीतिक मूलधारलाई नै प्रदूषित गराइरहेको छ र संविधान निर्माणदेखि लिएर राजनीतिक स्थायित्वका निम्ति तगाराहरू खडा भैरहेका छन् । ध्रुवीकृत र द्वन्द्वोन्मुख अहिलेको राजनीतिक परिदृश्यले मुलुकलाई अरू दुर्दशातिर घचेटिरहेको संकेत दिइरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)



 
::| Latest News

 
[Page Top]