युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 12.13.2019, 12:39am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
गन्तव्यहीन यात्रा
Tuesday, 02.10.2015, 02:13pm (GMT+5.5)

अन्योल, अनिश्चितता र अस्थिरता नेपालको वर्तमान नियति बनेको छ । मुलुकलाई यो हालतमा पुर्याउनेहरू राजनीतिक बजारमा भ्रमका अनेक खेती गरेर आआफ्नो अस्तित्व प्रदर्शन गर्ने र आआफ्नो स्वार्थ अनुकूलको परिस्थिति सिर्जना गर्ने कसरतमा जुटिरहेका छन् । विदेशी भूमिमा प्रायोजन भएको १२ बुँदे सहमतिपछि मुलुकले आमूल राजनीतिक परिवर्तनको दिशा अवलम्बन गरेको प्रतीत भए पनि यथार्थमा सत्ता केन्द्रित राजनीतिका पात्रहरू परिवर्तन हुनु बाहेक सकारात्मक परिवर्तनका आधारहरू कुनै खडा भएका छैनन् । देशमा राजनीतिक संकट दिन प्रतिदिन गहिरिनु सिवाय कुनै शुभ लक्षणहरू देखापरेका छैनन् । जनताका प्रतिनिधिले संविधान बनाउने अवसर पाए भने देशलाई सबल र समृद्ध बनाउने परिपाटी बसाल्ने गरी संविधान बन्छ र देशले सही बाटो लिन्छ भन्ने आशा जनताले राखेका थिए । जननिर्वाचित संविधानसभाको गठन सोही क्रममा एउटा ऐेतिहासिक अवसर ठानिएको थियो तर संविधानसभाको प्रयोग राष्ट्रिय कलहको बीजारोपणका लागि गरियो ।

संविधानसभालाई निरीह देखाउने, अनिर्णयको बन्दी बनाउने र बाह्य प्रक्षेपणका प्रायोजित खेल खेल्ने मैदानका रुपमा उपयोग गर्ने कसरतहरू धेरै भए । यथार्थमा भन्ने हो भने संविधानसभाले जन निर्वाचित सार्वभौम निकायका रुपमा खुट्टो उभ्याउनै पाएन । संविधानसभा–१ जुन नियतिको शिकार भएर असफल भएको थियो संविधानसभा–२ पनि समयक्रममा त्यही नियतिको शिकार भैरहेको छ । राजनीतिक क्षेत्रमा व्याप्त वहस र विवाद राष्ट्रिय हित र सरोकारका खासखास मुद्दामा भन्दा बाह्य निर्देशनका प्रायोजित मुद्दाहरूमा केन्द्रित छन् भन्दा कुनै फरक पर्दैन । नेपालमा अस्थिरता सिर्जना गर्ने र त्यसलाई निरन्तरता दिँदै संस्थागत गराउने प्रायोजित कामका लागि नै राजनीतिक शक्तिहरू उपयोग हुँदैआएको कटु अनुभूति देशको वर्तमान असंगत र असामान्य परिस्थितिले नै गराइरहेको छ । नेपालको राष्ट्रियतालाई नै समाप्त पार्ने प्रकृतिका निर्देशित प्रवृत्तिहरू उत्कर्षमुखी देखिएका छन् । आमूल राजनीतिक परिवर्तनको आवरणभित्रबाट राष्ट्रको अस्तित्व नै समाप्त पार्ने प्रायोजित खेल चलिरहेकाले संविधान निर्माण कार्यले कुनै पनि समयमा गति लिन नसकेको वास्तविकता निरन्तर उजागर भैरहेको छ । देशको मूलधारको राजनीतिले राष्ट्रिय चिन्तनको मूलधार नै समात्न सकेको छैन । नेपालको आन्तरिक राजनीति एकातिर विवेकले होइन आवेगले बढी प्रभावित हुने गरेको छ भने अर्कातिर वैदेशिक शक्तिहरूका प्रायोजित मुद्दा र निर्देशित खेलको दृश्य–अदृश्य प्रभाव पनि त्यत्तिकै घोलित छ । अहिलेको ध्रुवीकृत राजनीतिभित्र पनि वैदेशिक क्षेत्रका चासोहरू नै द्वन्द्व सिर्जनाका स्रोत बनेका छन् । राष्ट्र विप्लब र विखण्डनको दुस्वप्न देख्ने तत्वलाई समेत कुटनतीक नियोगहरूबाटै प्रश्रय मिल्ने गरेको घटना पनि हालै उजागर भएको ताजा विषय हो । नेपालको वर्तमान राजनीतिका कतिपय हर्ताकर्ताहरू नै आत्मविक्रय गरी राष्ट्रियताको आधार नै समाप्त गर्ने बाटोमा लागेकाले त्यस्तो प्रवृत्तिको दुष्परिणाम मुलुकले कतिसम्म भोग्नुपर्ने हो भन्ने कुनै ठेगान छैन । राजनीति नै क्रय–विक्रयको विषय बन्दैगएको तीतो यथार्थले नेपाली जनमानसमा ठूलो नैराश्य जन्माएको छ ।

नेपालको राजनीतिले लोकतान्त्रिक आदर्श, मूल्य–मान्यता र संस्कार निर्माणको अपेक्षित बाटो अवलम्बन गर्ने जुन आशा राखेर आम जनताले परिवर्तनका यावत मुद्दालाई जसरी साथ दिएका थिए त्यो त मात्र भ्रम रहेछ र जनताले जस जसलाई नेता मानेका थिए उनीहरू त आत्मबिक्रयकर्ता निमित्त नायक एवं खलपात्र मात्रै रहेछन् भन्ने बोध अब जनताले नै गर्न थालेका छन् । देशहित र जनहितका कुरालाई टाढा राखेर सत्ता र शक्तिका लागि झगडा मात्रै गरिरहने र भागबण्डा मिले मात्रै सहमति गर्ने अपसंस्कृतिको विकासले निष्ठा र इमानको राजनीतिलाई बिस्थापित गर्नु नै राजनीतिक संकट झ्यांगिनुको मूल कारण बनेकोमा कुनै सन्देह छैन । विदेशी भूमिमा भएको १२ बुँदे सहमति पछिको राजनीतिक यात्राले जे जस्तो गति लिएको र परिणाम ल्याएको भए पनि लोकतन्त्रको संस्थागत विकासको आधार तयार गर्ने गरी संविधान निर्माण गर्न  नसकेको, राजनीतिक विकारको लहर उठेको, सामाजिक सद्भाव टुटाउने प्रपञ्चको प्रायोजित गतिविधिले तीब्रता लिएको,परिणामतः देश धेरै कमजोर भएको र जनता बिलख्बन्दको स्थितिमा पुगेको अहिलेको वास्तविकता बनेको छ ।

नेपाली जनताले  मुलुकमा विधिको शासन व्यवस्थित गर्ने संविधान पाउने कुरा त धेरै टाढाको विषय बनिसक्यो घरमा चूलो बाल्न ग्याँससमेत पाउन सकेका छैनन् । देशमा सरकार छ भन्ने अनुभूति हुने गरी खाना पकाउने इन्धनको रुपमा बहुप्रयोग भैरहेको ग्याँस उपलब्ध गराउन पनि नसक्ने सरकारले संविधान निर्माणका लागि वाञ्छित वातावरण कसरी बनाउन सक्ला भन्ने प्रश्न हरेक नेपालीको मनमा उठ्न पुगेको छ । देशको भूराजनीतिक अवस्थिति र आमजनताको भावनाको उपेक्षा गर्दै आत्मविक्रय गरेरै भए पनि संकीर्ण स्वार्थ पूरा गर्ने लालशा राख्नेहरूको जमातले टाउको उठाउने अवसर पाइरहँदासम्म मुलुकमा स्वस्थ राजनीतिक वातावरणको सिर्जना अकल्पनीय नै छ । नेपालमा अस्थिरता, अन्योल र अनिश्चितताको वातावरण सिर्जना गर्ने अभिध्येले उपयोग गरिएका जमातहरूले संविधान निर्माणमा देखिएका अवरोधहरू आफैं हटाउलान् र दिशाहीन गन्तव्यको स्थिति अन्त्य होला भनी कसरी आशा गर्ने ?


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)



 
::| Latest News

 
[Page Top]