युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:19am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
प्रजातन्त्रको उपहास
Tuesday, 02.24.2015, 02:11pm (GMT+5.5)

देशले भरखरै ६५ औं प्रजातन्त्र दिवश मनायो । राजनीतिक इतिहासले भन्छ– नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रादुर्भाव भयो । साँढे छ दशकको यो कालखण्डमा नेपालमा अनेक राजनीतिक प्रयोग भए । बहुदलीय प्रजातन्त्र, निर्दलीय पञ्चायती प्रजातन्त्र, पुनःस्थापित बहुदलीय प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रका अनेक रुपहरू देखिए तर प्रजातन्त्रको जरो भने कहिल्यै राम्रोसंग पलाउन सकेन, प्रजातान्त्रिक राजनीतिक संस्कार विकसित हुन सकेन र प्रजातन्त्रले संस्थागत स्वरुप ग्रहण गर्न  नै सकेन । नेपालमा एकतन्त्रीय जहानिया राणा शासन समाप्त गर्न र प्रजातन्त्र बहाली गर्न सहकार्य गरेका राजा र राजनीतिक दलका नेताहरू प्रजातन्त्रको बहालीपछि नै सत्ता शक्तिको उपयोगको लालशाले ग्रस्त भए । दश वर्षको राजनीतिक कलहकै उपज बनेर २०१७ साल पुस १ गते आयो । बहुदलवादी नेताहरूकै अन्तरकलह, सत्ताको छिनाझपटी र अहंकारको टकरावले दलविहीन पञ्चायती व्यवस्था जन्माउने आधारभूमि तयार गर्याे । बहुसंख्यक बहुदलवादी नेता तथा कार्यकर्ताहरू नै पञ्चायतको छाता ओढ्न पुगे । संस्थागत गतिहीनता, वैचारिक अस्वस्थता, राजनीतिक संस्कारविहीनता र स्वार्थपरायणताको मिश्रणले बिग्रह र विकृतिका अनेक रुपहरू जन्मायो । आरोप प्रत्यारोप र गालिगलोजका अनेक प्रकरणहरू सिर्जित भए । प्रजातन्त्रले संस्थागत संस्कारगत र चिन्तनगत प्रक्रियाको बाटो नै समात्न सकेन । वैदेशिक शक्तिको खेलौना बनेर उपयोग हुने र राष्ट्रिय स्वाभिमान र हितप्रति समर्पित नरहने प्रवृत्तिको बीजारोपण २००७ कै राजनीतिक परिवर्तनको चरणमा नै हुनपुग्यो । 

वैदेशिक शक्तिको उपयोगमा आएर आन्तरिक कलह चर्काउने र निहितस्वार्थ प्रेरित राजनीतिक अपसंस्कृतिलाई मलजल गर्ने प्रवृत्तिको विकास र विस्तारले सुरुदेखि नै प्रजातन्त्रको हुर्मत लिने काम गर्याे । ६५ वर्षको अन्तरालमा पनि अहिलेसम उस्तै अपसंस्कृति र प्रवृत्तिले मुलुकलाई प्रताडित गरिरहेको छ । व्यवस्थाहरू बदलिँदै गए  पनि र नेताहरू फेरिँदै गए पनि राजनीतिक मूलप्रवाहभित्र प्रवेश गरेको विकार र विकृतिको निरन्तरता जारी छ । साँढे छ दशकको अन्तरालमा पनि प्रजातन्त्रले सार्थक गति लिनसकेको छैन । प्रजातन्त्रको उपहास गर्ने कुप्रवृति र कुसंस्कारको नयाँ नयाँ संस्करण  आम अनुभूतिको विषय बनिरहेको छ ।  वास्तवमा भन्ने हो भने प्रजातन्त्रको संस्थागत गतिशिलताको बाटो निरन्तर अवरुद्ध भैरहेको छ । मुलुक संविधानविहीनताको अवस्थाबाट मात्रै गुज्रिएको छैन राज्यविहीनताको दुर्दान्त नियतीको अनपेक्षित दिशातिर पनि घचेटिँदै गएको छ ।

नेपालको प्रजातान्त्रिक राजनीतिक धारले  मुलुकको भूराजनीतिक धरातललाई आत्मसात गरेर प्रष्ट राजनीतिक दिशा ग्रहण गर्न नसक्नाका दुष्परिणामहरू २००७ सालदेखि अहिलेसम्मकै नियति भोगाइ बनेका छन् । बन्दुकको नालबाट शक्तिको जन्म हुन्छ भन्ने मान्यता राख्नेहरूदेखि लिएर मतपेटिका नै शक्तिको स्रोत हो भन्ने धारणा राख्नेहरू वा बहुदलीयता मात्रै प्रजातन्त्र होइन निर्दलियतामा पनि प्रजातन्त्रको सपना देखाउनेहरू अनेक थरीले प्रजातन्त्रको माला जप्दै प्रजातन्त्रको चीरहरण गर्ने कसरतलाई जारी राख्दैआएकाले नेपालमा प्रजातन्त्रको विरुवा नै उम्रन पाएको छैन । प्रजातान्त्रिक हक अधिकारको उपयोग र राष्ट्रिय समृद्धिको अपेक्षा राख्ने नेपाली जनताले आफ्नो सार्वभौम शक्तिको प्रयोग गर्दै राजनीतिक परिवर्तनका हरेक चरंणमा उत्सर्गपूर्ण साथ दिए तर  उनीहरू सधैं भ्रमको खेतिको शिकार बन्दै धोका खाँदैआए । देश हरेक क्षेत्रमा परमुखापेक्षी र पराश्रयी बन्दैगएको दारूण अवस्थाले नाराबाजीको बन्दी बनेको र औपचारिकतामा मात्र सीमित भएको प्रजातन्त्रको उपहास मात्र गरिरहेको छ । प्रजातन्त्रको घाँटी निमोठेको अभियोग खेप्दैआएको तीस वर्षे पञ्चायत कालमा पनि प्रजातन्त्र दिवशका आकाश थर्काउने नाराहरू घन्काइने गरेका थिए । पुनःस्थापित बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको कार्यकालमा पनि उस्तै शैलीमा प्रजातन्त्र दिवस मनाउने परम्पराको निर्वाह भएको छ । संस्थागत र संस्कारगत परिवर्तनका आधारभूत लक्षणहरू पटक्कै देखिएका छैनन् । पाखण्ड प्रदर्शनको यो नमूनाले आमूल परिवर्तन र जीवन रुपान्तरणको आम चाहनालाई उपहास मात्र गरिरहेको छ भन्नु कुनै अर्घेलो हुने छैन ।

हरेक वर्ष जब फागुन ७ गते आउँछ उस्तै शैलीमा समारोह समिति बन्छ, टुँडिखेलमा समारोह आयोजित हुन्छ, प्रधानमन्त्रीदेखि लिएर पूर्व राजाको समेत शुभकामना वक्तव्यको बहार आउँछ, राष्ट्रपतिले सेनाको सलामी लिन्छन् अनि प्रजातन्त्र दिवस समाप्त हुन्छ । साँढे छ दशकको वय पारगरेको प्रजातन्त्रले राष्ट्रिय स्वरुप ग्रहण गरेको छैन, स्वस्थ गति लिनसकेको छैन, राष्ट्रिय सद्भाव, एकता र अखण्डता नै खण्डित गर्ने प्रकृतिका हर्कतहरूले टाउको उठाइरहेका छन् । मुलुक वैदेशिक शक्तिहरूको क्रिडास्थल बनेको छ । देश कंगाल हुँदैजाने र जनता कमजोर हुँदैजाने यो क्रमले प्रजातन्त्रको उपहास सिवाय केही गरेको छैन । राष्ट्रिय राजनीति राष्ट्रिय धरातलमा नउभिएसम्म प्रजातन्त्रले स्वस्थ र सार्थक परिणामदायी गति लिन नसक्ने कटु यथार्थबोध समयले नै गराएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)



 
::| Latest News

 
[Page Top]