युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
परिणामदायी वार्ताको खाँचो
Tuesday, 03.10.2015, 11:29am (GMT+5.5)

सत्ता साझेदार कांग्रेस–एमाले र विपक्षी दल एनेकपा माओवादी–मधेशी मोर्चा बढ्दो आन्तरिक दवाव र बाह्य दवावकै कारण बल्लतल्ल औपचारिक वार्तामा बसेका छन् । गत शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको यो औपचारिक वार्ताले कुन गति र रुप लिन्छ भन्नेबारे अझै केही भन्न सकिने स्थिति छैन । वार्तामा सहभागी नेताहरूले सहमतिमा नै संविधान बनाउने पुनः सहमति गरेका र यो वार्तालाई परिणाममुखी बनाउने प्रतिब्द्धता व्यक्त गरेका भए पनि नेताहरूको बोलिमा विश्वास गर्न सकिने अवस्था सिर्जित भएको छैन । संविधानसभा–१को चार वर्ष संविधान बनाउँछौं–बनाउँछौं, सहमतिको नजिक नजिक पुगेका छौं भन्दैमा बित्यो । संविधानसभा–२ को निर्वाचन भएपछि २०७१ माघ ८ गते भित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जाहेर भयो तर आखिर कुनै नतिजा आएन । अब २०७२ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नयाँ संविधान जारी गर्ने हौवा पिट्न थालिएको छ । सार्थक संवाद र परिणामदायी नतिजाको आमअपेक्षा बढ्दो छ तापनि नेताहरूको संस्कार, चरित्र र जवाफदेहिताविहीन प्रवृतिले गर्दा नतिजामुखी वार्ताप्रति विश्वास जागृत हुनसकेको छैन । यो वार्ताको मञ्चन विपरीत दुई धारका नेताहरूबीचको आन्तरिक समझदारीका कारणबाट सुरु भएको नभै बाह्य शक्तिको दवावबाट भएको संकेत त हालै भारतीय नेताहरूको दर्शन गरेर फर्केका पूर्व प्रधानमन्त्री तथा एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नै यथेष्ठ मात्रामा दिएका छन् । उनको प्रष्टै भनाइ छ– आफ्नो भारत भ्रमणले नै वार्तामा बस्न कांग्रेस–एमालेलाई दवाव बढाएको हो । नेपालको आन्तरिक राजनीति मतादेश वा जनादेशबाट नभै आकाशवाणीबाट चल्ने गरेको तथ्यको उद्घाटन समय समयमा हुने गरेकै छ ।  यस्तो कुराको आभास नेताहरूले नै पटकपटक दिने गरेका छन् । नेपालको आन्तरिक व्यवस्थापनमा दूरस्थ नियन्त्रण यन्त्रको प्रभाव नै ठूलो समस्याको बीज रहेको तथ्य निरन्तर अनुभूत हुँदैआएको कटु यथार्थ हो । नेपालको आन्तरिक राजनीतिक गतिविधिमा बाहयशक्तिको चासो, प्रभाव र निर्देशनको सर्वाधिक प्रभाव रहने गरेकाले राष्ट्रिय चिन्तनधार दविँदै गएको र राष्ट्रिय स्वार्थ उपेक्षित हुँदैआएको छ । हाम्रो अन्तर्विरोधमा विदेशी शक्तिले खेल्दैआएका छन् । त्यसको गलत नतिजाको दूरगामी प्रभाव छ र त्यो नै हाम्रो भोगाइ बनेको छ ।

आम नेपाली जनताको चाहना छ– सत्तापक्ष र प्रतिपक्षका नेताहरूले वार्ताको जुन प्रक्रिया सुरु गरेका छन् त्यो नतिजामुखी बनोस् र चाँडोबन्दा चाँडो नयाँ संविधान बनोस्– जारी होस् । नेपाली जनताले लामो समयदेखि विधिविहीनता, संविधानविहीनता र समग्रतामा राज्यविहीनताकै पीडा भोगिरहेका छन् । राज्यको उपस्थिति हरेक क्षेत्रमा कमजोर बन्दैगएको छ । सत्ताको महत्वाकाङ्क्षा राख्ने ठूला दलहरुका नेताहरू बाहिरी शक्तिको आशीर्वाद पाउन सधैँ लालायित हुनेगरेका छन् । राष्ट्रिय सम्मान र मर्यादालाई उपेक्षा गर्दै राष्ट्रको समग्र हितलाई तिलाञ्जली दिएर भए पनि निजी स्वार्थ पूरा गर्ने गुलामी मानसिकता प्रदर्शन गर्ने जुन प्रवृति मौलाएको छ त्यसले नै नेपाल र नेपालीको हुर्मत लिइरहेको छ । विदेशी प्रभुहरूको नजिक पुगेर आफ्नो देशका नेताहरूको पोल खोल्ने, कुरा लगाउने र स्वामीभक्ति प्रदर्शन गर्दै खुला हस्तक्षेपको गुहार गर्दै नांगो चरित्र प्रदर्शन गर्ने ताजा उदाहरण त डा. बाबुराम भट्टराईबाटै प्रस्तुत भएको छ । बाह्य शक्तिको दवावबाट सुरु भएको भनिएको अहिलेको वार्ताले सार्थक गति कति लेला र राष्ट्रिय सहमतिको वाञ्छित वातावरण कति सिर्जना गर्ला ? यो आम जिज्ञाशाको विषय बनेको छ । हामी एक आपसमा मिल्न नसक्ने र विदेशी शक्तिले नै मिलादिनु पर्ने अवस्थाको सिर्जना नियतिकै खेल बनेको छ । बाह्यशक्तिको प्रायोजनमा परिचालित गतिविधिले मुलुकलाई निर्धारित र वाञ्छित गन्तव्यमा नपुर्याउने अवश्यंभावी छ ।

संविधान निर्माणका लागि जिम्मेवारी बोकेको जननिर्वाचित संविधानसभा विगत एक महिनादेखि स्थगित छ । बहुमतीय प्रक्रियाबाट संविधान बनाउने जिकिर गरेको सत्तापक्ष संविधानसभाको बैठक नै स्थगित गरेर किंकर्तव्यबिमुढको अवस्थाका पुगेको छ । संविधानसभा बहिष्कार गरेर सडक आन्दोलन र जनशक्ति प्रदर्शनमा लागेको बिपक्षी गठबन्धन पनि कुहिराकै काग जस्तो बनेको छ । नेपालको राजनीतिक व्यवस्थापन नेपाली जनताको मतादेश वा जनादेशबाट नभै बाह्यशक्तिको चासो, प्रभाव र निर्देशनबाट गर्ने प्रयासको पछिल्लो कडी डा. भट्टराईको हालैको दिल्ली दौड र उनीबाट भएको बयानबाजीबाटै प्रदर्शित भएको छ ।  गत शनिवार सुरु भएको अहिलेको वार्ता चरणमा भट्टराईको हारगुहार र भारतको सक्रिय संलग्नताको दुराकाङ्क्षाको प्रभाव कति पर्छ भन्ने आम जिज्ञाशा जागृत भैरहेको छ । सार्थक वार्ता र संविधान निर्माण प्रक्रियाको वैधानिक थालनीका कुरा त अझै टाढाको विषय छ । आम नेपाली जनताले भने परिणामदायी वार्ताको अपेक्षा राखेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)



 
::| Latest News

 
[Page Top]