युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 07:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो
Tuesday, 03.31.2015, 10:59am (GMT+5.5)

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ अर्थाेपेडिक सर्जन प्रा.डा. गोविन्द के.सी. चिकित्सा शिक्षा र सेवामा व्याप्त रहेको चरम विकृतिविरुद्ध पाँचौंपटक आमरण अनसनमा बसेको आज दशौं दिन हुँदैछ । उहाँले १० सूत्रीय माग राखी सुरु भएको अनशनप्रति चिकित्सा क्षेत्र र सचेत नागरिक समुदायबाट व्यापक समर्थन रहेको भए पनि सरकार अहिलेसम्म नितान्त सम्वेदनहीन बनिरहेको छ । विगतमा अनसन तोड्न लिखित रुपमा आफैंले जाहेर गरेको प्रतिबद्धता बिर्सेर सरकारले चार महिना अघि गठित उच्चस्तरीय स्वास्थ शिक्षा नीति सिफारिस आयोगको प्रतिवेदन नआउँदै नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकार, बिभिन्न राजनीतिक दलका नेताहरू, कर्मचारीतन्त्र र व्यवशायीहरूबीच मिलिमतो भएको थाहा पाएपछि डा. के.सी.ले पुनः अनशन सुरु गर्नु भएको जगजाहेर भएको छ । उहाँले अगाडि सारेका दश सूत्रीय मागहरूप्रति अधिकांश चिकित्साकर्मी र सचेत नागरिक समुदायको व्यापक समर्थन रहेको छ । उहाँ स्वयं मधुमेह रोगबाट ग्रस्त हुनुहुन्छ तापनि आफ्नो जीर्ण शरीरलाई जोखिममा राखेर उहाँले आमरण अनशन गरिरहनुभएको छ । उहाँको नैतिक मनोबल उच्च छ । उहाँ आफूलाई उत्सर्ग गरेर भए पनि स्वास्थ शिक्षा र सेवा क्षेत्रमा भएको व्यापारीकरण र माफियाकरणको दुष्परिणामबाट उत्पन्न विकार हटाउन प्रतिबद्ध देखिनुभएको छ । सरकार स्वयं आफ्नो पूर्व प्रतिबद्धताविरूद्ध उभिएकाले डा. के.सी.को जीवन जोखिमपूर्ण बन्दैगएको छ । सरकारले झारा टार्नका लागि बनाएको वार्ता टोलीसंग कुनै वार्ता नगर्ने उहाँको अडानले सरकारलाई धेरै अप्ठेरो पारेको छ ।चिकित्शा शिक्षा विस्तारका नाममा चलेको व्यापारिक लगानी र निहित स्वार्थी समूह कति प्रभावकारी र बलशाली छ भन्ने कुरा त सरकारको निरिहता र आफ्नै पूर्व निर्णय विपरीतको कदमले नै सिद्ध गरेको छ । सरकार स्वयं नै माफियाको जालोमा फँसेको र उसैको अङ्ग बनेर क्रियाशील रहेको प्रत्यक्ष देखिएकाले यो प्रकरणले अब कुन मोड लिन्छ भन्ने वारे आम जनचासो र चिन्ता बढेको छ ।

मुलुकमा चिकित्सा शिक्षा र सेवा दुवै सर्वसाधारण नेपाली नागरिक एवं आर्थिक स्रोतविहीन प्रतिभाशाली विद्यार्थीहरूको पहुँच बाहिर पुग्दैगएको छ । अझै पनि ८० प्रतिशत नेपाली नागरिकले सर्वसुलभ स्वास्थ सेवा पाउन नसकेको अवस्था छ । चिकित्सा शिक्षा अहिले आर्थिक अपचलन र मुनाफाखोरीको फन्दामा परेको छ । चिकित्सा शिक्षामा स्नातक गर्न ५० लाख भन्दा बढी र स्नातकोत्तर गर्न १ करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कातिर पूर्वाधारविना नै मेडिकल कलेजहरूले स्वीकृति त सम्बन्धन पाइरहेका छन् । सत्ताधारीहरू, राजनीतिक दलका नेताहरू र कर्मचारीतन्त्रका लागि स्वीकृति र सम्बन्धनको खेल दुहुनो गाई बनेको छ । चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त माफियातन्त्रले मच्चाएको लुटतन्त्रका विरुद्ध डा. के.सी.ले उठाएको नैतिक आवाजका सामु एक दिन न एकदिन सरकार झुक्नै पर्दछ । डा. के.सी.लाई पाँचौंपटकसम्म आमरण आनशनमा उतारेर माफियातन्त्रले उहाँको ज्यानै लिने र लुटतन्त्र मच्चाइरहने दुराकाङ्क्षा राखेको घटनाक्रमले नै इंगित गरिरहेको छ । इमान जमान नभएको सरकारले उहाँले उठाएका जायज मागलाई सम्बोधन गर्ने चासो नदेखाएर आफ्नो असंवेदनशील चरित्र, जवाफदेहिताविहीन प्रवृत्ति र सचेत नागरिकहरूको भावनामा चोट पुर्याइरहेको छ । सरकारको यो निर्लज्जता प्रदर्शनले माफियातन्त्र र लुटतन्त्रलाई मलजल गरिरहेकोमा कुनै शंका छैन । जति सक्यो चाँडो यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

नेपालमा चिकित्सा क्षेत्र अधिकतम मुनाफा आर्जनको व्यापारिक क्षेत्र बन्दैगएको छ । चिकित्सा सेवा अब नाम मात्रको सेवा क्षेत्र बनेको छ । पूर्वाधारविनाका मेडिकल कलेजहरूले गुणस्तरीय शिक्षा दिनसक्ने कुनै सम्भावना छैन । कतिपय मेडिकल कलेजहरूले सत्ताधारीहरू, विभिन्न दलका नेताहरू, उपल्लो तहका कर्मचारीहरू र राजनीतिक भागबण्डाबाट लाभ उठाएर मेडिकल काउन्सिल कब्जा गर्न पुगेका कतिपय चिकित्सकहरूलाई आर्थिक प्रलोभनमा पारेर पूर्वाधारविना नै स्वीकृति लिने गरका घटना उजागर भैरहेका छन् । चिकित्सा शास्त्र पढ्न प्रतिभा र लगनशिलताभन्दा नगदको पोको मोटो भए पुग्ने भएको छ । योग्य र लायक प्राध्यापक नभए पनि कलेजहरू चलेकै छन् । जुन जुन ठाउँमा व्यापार फष्टाउँछ त्यही त्यही ठाउँमा लगानी केन्द्रित छ । चिकित्सा शिक्षण पद्दतिको अनुगमन गर्ने पद्धति त जनशक्तिकै प्रचूर अभाव छ । सञ्चलनको स्वीकृतिका लागि र पछि अनुगमनका लागि निष्पक्ष र प्रभावकारी भूमिका खेल्नुपर्ने ठाउँमा पुगेका व्वांसो चरित्रका कतिपय चिकित्सकहरू नै लुटतन्त्र र माफियागिरीका औजार बनेका छन् । बिडम्बनापूर्ण यो स्थितिले नै चिकित्सा शिक्षा र सेवा दुवै क्षेत्रलाई प्रदुषित बनाइरहेको छ । डा. के.सी.को वारम्वारको अनशनले उजागर गरेका विकृतिविरुद्ध सिंगो नागरिक समुदाय उभिएको छ तापनि सरकार माफियातन्त्रकै प्रभावमा रहिरहेको देखिनु राष्ट्रिय लज्जाको विषय हो । सरकारले छिटोभन्दा छिटो डा. के.सी.ले उठाएका मुद्दाको छिनिफानो गरोस् र एउटा सदाचारी नागरिक एवं बिशिष्ट चिकित्सकको ज्यान बचाओस् भन्ने हाम्रो आग्रह छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)



 
::| Latest News

 
[Page Top]