युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सहयोगको ओइरो
Tuesday, 06.30.2015, 12:43pm (GMT+5.5)

नेपालको पुनर्निर्माणका लागि  असार १० गते बिहिवार काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन सफलतासाथ सम्पन्न भएको सन्देश अहिले जताततै प्रवाह भैरहेको छ । १२ बैशाखमा आएको ७.६ रेक्टरको भूकम्प, १३ र २९ गते आएको ठूलो पराकम्पनले नेपालमा पारेको क्षतिको आँकलन गर्दै पुनःनिर्माणका लागि ६ खर्ब ६९ अर्ब रकम चाहिने सरकारी अनुमान रहेकाले सोको भरतालका निम्ति यो सम्मेलनको आयोजना गरिएको जगजाहेर नै छ । यो सम्मेलनका सहभागी दाताहरूले ४ खर्ब ४० अर्ब अनुदान तथा सहुलियतपूर्ण ऋणका रुपमा सहयोग बचन दिएर गएका छन् । यो सहयोग बचन सरकारले सोचेभन्दा पनि अधिक रहेकाले नेपालको पीडाप्रति विश्व समुदाय सम्वेदनशील र सहानुभूतिशील रहेको स्वतः अनुभूत गर्न सकिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरूले पनि उद्धार र राहत कार्यमा देखाएको संलग्नता र पुनःनिर्माणमा देखाइरहेको चासो पनि उत्तकै उल्लेख्य छ । नेपालले आफ्नै स्रोत–साधन र प्रविधिको उपयोग गर्नसक्ने आधारहरू पनि प्रशस्त छन् । नेपालको पुनःनिर्माणका लागि स्रोतको कुनै कमी नहुने यिनै आधारहरू हुन् । तर मुख्य कुरा त उपलब्ध स्रोत)साधनको उपयोग कति सही ढंगले हुनसक्छ, लक्षित समूहसम्म त्यो पुग्छ कि पुग्दैन, संकीर्ण राजनीतिक स्वार्थका खेलहरूको प्रभाव कति पर्छ र त्यसमा कत्तिको पारदर्शीता रहन्छ भन्ने नै हो । आफ्नो क्षमता नचिन्ने र नबढाउने, आफ्नो स्रोत–साधनको उपयोगतिर ध्यान नदिने र जेमा पनि अर्काकै मुख ताक्ने जुन प्रवृत्ति विकसित हुँदै आएको छ त्यसले राष्ट्रलाई निरन्तर कमजोर बनाउँदै लगिरहेको परिप्रेक्षमा अहिलेको पुनर्निर्माणको महाअभियानले कस्तो रुप र गति लिने हो भन्ने चासो र चिन्ता सर्वत्र जागृत भैरहेको छ ।

देशको नव निर्माण गर्ने दायित्व हाम्रो आफ्नै हो । दाताहरूले दिएको सहयोगको भरमा कुनै मुलुक बनेको सायदै उदाहरण छ । आफ्नै स्रोत–साधन र जनशक्तिको अधिकतम उपयोग गर्न सकेमात्र देशको नव निर्माण हुनसक्छ । नेपालमा वैदेशिक सहयोग आउनथालेको धैरै समय भैसकेको छ तर हामीसंग राष्ट्रिय दृष्टिकोण, नीति र उपयोग क्षमता नभएकाले आत्मनिर्भरता गुम्दै परनिर्भरता बढ्दै गइरहेको तथ्य हरेक क्षेत्रका आँकडाले देखाइरहेका छन् । वर्तमान विश्वमा वैदेशिक सहयोग एक अपरिहार्य तत्व बनिरहेको छ र ठूला ठूला शक्ति राष्ट्रहरू पनि अन्तर्निर्भरताको सञ्जालबाट बेष्ठित छन् भने सीमित स्रोत साधन भएका र उपयोग क्षमता विकास गर्न नसकेका हाम्रा जस्ता देशका लागि त वैदेशिक सहयोग त शास धान्ने आधारजस्तै बनेको छ । दाताहरू कुनै स्वार्थविना सहयोगको हात बढाएर नआउने गरेका र उनीहरूको रणनीतिक स्वर्थ अनुकूलका शर्तहरू पालना गर्दागर्दै देश परनिर्भरताको जञ्जालमा फस्ने गरेका अनेक उदाहरण छन् । लाज नमानिकन भन्दा हुन्छ– हाम्रो मुलुकको गन्तव्य पनि त्यस्तै बनेको छ । आम रुपमा अनुभूत भैरहेको राजनीतिक परनिर्भरताले मुलुकको स्वतन्त्र अस्तित्वलाई धरापमा पार्दैलगेको छ । डलर, युरो, पाउण्ड र भारूका प्रलोभनले नेपालको कुन क्षेत्रलाई प्रदुषित गरेको छैन र भन्ने आमधारणा नै बनिसकेको छ । यो पृष्ठभूमिमा नेपालको पुनःनिर्माणप्रति विश्वसमुदायले देखाएको चासो, रुची र सहयोगलाई हाम्रो आवश्यकता र आकाङ्क्षा अनुरुप स्वतन्त्र ढंगले उपयोग गर्न सक्ने हाम्रो क्षमता विकसित हुनसकेमात्र त्यसको सार्थक परिणाम आउनसक्छ नत्र भने परनिर्भरताको जञ्जिर अरू कसिलो हुने भय यथास्थानमा छ ।

सामुहिक विवेक र सामाजिक न्यायविना मुलुकको पुनःनिर्माणले गति लिन सक्दैन । स्थानीय तहमा सवै समुदायको सहयोग जुटाउनसके मात्र नव निर्माणले गति लिनसक्छ । देश अहिलेसम्म पनि राजनीतिक बेथिति, आर्थिक अनियमितता र सामाजिक बिभेदको फन्दामा परिरहेको छ । राजनीतिक प्रक्रियादेखि लिएर आर्थिक नीति निर्माण, न्यायिक प्रक्रिया र प्रशासनिक गतिविधिमा पनि बाह्य शक्तिको प्रचूर प्रभाव प्रदर्शित हुने गरेका अनेक उदाहरणहरू छन् । दातालाई विधाता मान्ने रुग्ण मानसिकता जताततै व्याप्त छ । आफ्नै स्रोत–साधन, प्रविधि र जनशक्तिको अधिकतम उपयोग गर्ने अत्यावश्यकीय क्षेत्रमा मात्रै अरूको सहयोग लिने सबल राष्ट्रिय नीति नबनेसम्म यथार्थमा नव निर्माणले गति लिनसक्दैन । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि अपरिहार्य रहेको आधा करोड युवाशक्ति वैदेशिक रोजगारीतिर धकेलिएको छ । आन्तरिक उत्पादनमा निरन्तर ह्रास छ । पुनःनिर्माणको गति सञ्चालनका लागि पनि सीमापारीका कामदारको भर पर्नुपर्ने अनपेक्षित अवस्था छ । परनिर्भरताको पराकाष्ठाले पुनर्निर्माणको रुप र गतिलाई कतिसम्म प्रभावित पार्ने हो भन्ने पनि उत्तिकै चासोको विषय छ । राष्ट्रिय बजेटको आधारकम पनि खर्च गर्न नसक्ने हाम्रो अहिलेको क्षमताले पुनर्निर्माणका लागि जुटेको सहयोगको रकमको सार्थक उपयोग कसरी हुनसक्ला ? यो नै अहिलेको समयले उठाएको ज्वलन्त प्रश्न हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)



 
::| Latest News

 
[Page Top]