युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
संविधानको मस्यौदा र उब्जिएका सवालहरू
Tuesday, 07.07.2015, 01:59pm (GMT+5.5)

संविधानसभाभित्रका प्रमुख चार दलहरू जसरी तसरी निकट भविष्यमै देशलाई एउटा कामचलाउ संविधान दिने प्रयासमा जुटेका छन् । जेठ २५ गते चार दलबीच भएको १६ बुँदे सहमतिपछि अगाडि बढेको संविधान निर्माण प्रक्रिया अहिले द्रुत गतिमा अगाडि बढेको छ । चार दलको अन्तर सहमतिमा तयार गरिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएपछि यो यतिखेर छलफलको क्रममा छ । प्रमुख चार दलका नेताहरूले कुन कुन प्रेरणा स्रोतबाट प्रेरित भएर हो कुन्नी आआफ्ना पूर्व अडान, सिद्धान्त र विचारलाई थाती राखेर भए पनि यो देशलाई जतिसक्यो छिटो ‘नेपालको संविधान २०७२’ नामको एउटा दस्ताबेज संविधानसभा–२ बाट बहुमतका बलले पारित गराएर जारी गर्ने सुर कसेका छन् । 

मुलुकको वर्तमान राजनीतिक परिदृश्यमा देखिएका र झ्याँगिदै गएका अनेकौँ विसंगत प्रवृतिलाई पृष्ठभूमिमा राखेर हेर्दा मुलुकको आवश्यकता र आमजनताको भावना अनुरुपको सर्वस्वीकार्य संविधानको परिकल्पना नै गर्न नसकिने अवस्था रहेको हुँदा चार दलको अन्तर सहमति र संविधानसभाभित्रको बहुमतका आधारमा नयाँ संविधान आउने निश्चित प्रायः देखिएकाले सङ्क्रमणकालको अन्त्यका लागि यसलाई उपलब्धिकै रुपमा लिनुपर्ने अवस्था सिर्जित भएको छ । आआफ्ना सिद्धान्त, विचार, नीति र जनताका बीचमा व्यक्त गरिएका प्रतिबद्धताहरूलाई एकातिर पञ्छाएर संविधान निर्माणको यो अवस्थामा आइपुग्नुलाई यसका अभियन्ताहरूले नै बाध्यात्मक परिस्थितिको उपजका रुपमा लिएका छन् र चार दलभित्रैका नेता तथा सभासद्हरूले समेत पचाउन नसकेको यो प्रारम्भिक मस्यौदालाई चार दल बाहिर रहेका संविधानसभाभित्र र बाहिरका दलहरूले यसलाई पचाउने र त्यसलाई आत्मसात गर्ने कुरै छैन । संविधानसभाभित्र ६०१ को भीमकाय सदस्य संख्या रहे पनि निर्णायक भनेका चार दलका मुठ्ठिभर टाउके नेताहरू नै हुन् र  जो जहाँबाट प्रेरित र निर्देशित भए पनि उनीहरू एक ठाउँमा रहेपछि कसैको दैय्या चल्दैन । प्रक्रियागत रुपले आठ वर्षमा हुन नसकेका काम अब हतारपतारमै भए पनि एकाध महिनाभित्रै सम्पन्न हुने पर्याप्त लक्षणहरू छन् । देश नयाँ मोडमा पुगिनैसकेको छ । भावी परिणामका कुरा भविष्यकै गर्तमा छन् ।

जहाँसम्म संविधानको प्रारम्भिक मस्यौदाको कुरा छ त्यसले उब्जाएको विवाद र बहसले अहिले जुन रुप र गति लिएको छ त्यसलाई हेर्दा मुलुकको भावी दिशा र दशावारे अनेकौं आशंकाहरू उब्जिरहेको प्रष्टै अनुभूत हुन्छ । नेपालको आन्तरिक राजनीतिमा दक्षिण, पश्चिम, उत्तर, पूर्व जताततैबाट सुनियोजित रुपमा बीजारोपण गरिएका धारणाहरूले नेपालको अन्तर स्थिति र मानसिकतालाई जुन रुपमा उद्वेलित गराइरहेको छ त्यसलाई केन्द्रबिन्दुमा राखेर हेर्दा मुलुकको शान्तिपूर्ण भविष्य र समृद्ध नेपालको निर्माण त्यति सहज र सरल देखिँदैन । जुन देशको आन्तरिक राजनीति आफ्नो मुलुकको गौरवमय इतिहास, संस्कृति, जीवन पद्धति र जनभावनाबाट प्रेरित नभै बाह्य प्रभाव र निर्देशनमा परिचालित हुन्छ त्यस्तो मुलुकको भविष्य जहिले पनि अनिश्चित र अन्धकारमय हुन्छ । परनिर्भरताको राजनीतिले कहिल्यै पनि धरातलीय यथार्थलाई आत्मसात गर्न सक्दैन र सही बाटो पहिल्याउन सक्दैन । नेपाल वारंवार यस्तै दुश्चक्रमा फँस्दैआएको छ र यसबाट मुक्त हुने कुनै सकारात्मक लक्षणहरू अहिलेसम्म देखिएका छैनन् । अग्रगमनका जति नै गगनभेदी नारा लागे पनि मुलुक हरेक क्षेत्रमा परनिर्भरताको जञ्जिरले बाँधिदैगएको छ र अब आउने नयाँ संविधानले पनि त्यो जञ्जिर तोड्ने क्षमता राख्दैन भन्ने प्रष्टै देखिएको छ । नयाँ संविधान नबन्दै बितण्डावादी प्रवृतिहरू प्रक्षेपित भैसकेका छन् । संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाभित्र र बाहिर च्यात्ने र जलाउने क्रम सुरु भैसकेको छ । यो कति स्वतस्फूर्त र कति नेपथ्य निर्देशित छ भन्ने कुरा पनि त्यत्तिकै बिचारणीय पक्ष छ । चारतिर मुख फर्काएका कथित मधेशी दलका केही नेताहरू संविधानसभाभित्र मस्यौदा च्यातेर एकजुट हुँदै भारतीय राजदूतावास त्यसै छिरेका छैनन् । बोलावट र निर्देशन क्रम उपक्रमहरू सदा सर्वदा चलिनैरहने नियतिको खेल नै हो । जुन शक्तिको चलखेलमा अन्तरिम संविधान बनेर जारी भएको थियो उही शक्तिको आशीर्वादमा राजनीतिक हैसियत बनाएकाहरूले नै त्यो संविधान विरुद्ध आगो ओकलेर तराईमा मधेश आन्दोलनको ज्वाला दन्काइएको थियो । बोक्सी पनि आफैं र धामी पनि आफंैका अनेक रुपहरू देख्नसक्नेहरूले बारम्बार देख्दैआइरहेका छन् । नियतिको त्यो दुश्चक्रबाट अब बन्ने नयाँ संविधान पनि मुक्त नहुने लक्षणहरू मञ्चित भैसकेका छन् । नियतिको यस्तै खेलका बीच नयाँ संविधानको प्रतिक्षा भैरहेको छ ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाभित्र छलफलको क्रममा छ भने यसले चौतर्फी प्रतिक्रियाको लहर उठाएको छ । प्रस्तावनामा प्रदर्शित शब्दाडम्बर र परस्पर बिरोधी विचार, सिद्धान्त र आदर्शको संश्लेषित स्वरुपले नै यसको विरोधाभाषी चरित्रलाई उजागर गरेको छ भने सर्बाेच्च अदालतदेखि लिएर पत्रकार महासंघसम्मका असन्तुष्टिहरूले स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउने नियत राखेको प्रष्टै उजागर गरेको छ । प्रस्तावित मस्यौदालाई जनजातिका नेताहरूले जनजाति विरोधी र महिला अधिकारीहरूले महिला विरोधी भनेर आक्रोश व्यक्त गरिरहेका छन् । संविधानसभाभित्र भएको नाराबाजी र धर्नाले पनि आफ्नो रुप देखाइसकेको छ । मौकापरस्त राजनीतिक मानसिकताबाट निर्देशित भएर आउन लागेको तदर्थवादी प्रकृतिको संविधानलाई जारी हुनबाट रोक्नसक्ने शक्ति र क्षमता अहिले कसैसंग छैन तापनि जुन रुपको नयाँ संविधान बन्दैछ त्यसले विधिको शासनको प्रत्याभूति दिनसक्ने र कानूनी राज कायम हुनसक्ने वातावरण कसरी सिर्जना गर्ला भन्ने अहं प्रश्न खडा भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)



 
::| Latest News

 
[Page Top]