युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:54am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
मत संकलनको तामझाम
Tuesday, 07.21.2015, 02:46pm (GMT+5.5)

मुलुक नयाँ संविधानको व्यग्र प्रतिक्षामा छ । नयाँ संविधानको मस्यौदामाथिको छलफल व्यापक रुपमा चलिरहेको छ । हिजो असार ४ गते र आज ५ गते देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा जनताको राय लिने भनी जनसभाहरू समेत आयोजित छन् । मुलुकभित्र मात्र होइन बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू पनि मस्यौदा संविधानमाथि छलफल गर्न र राय सल्लाह दिन जुटेका छन् । इमेलबाट समेत मत प्रकट गर्न सकिने भनिएकाले राय सल्लाहको ओइरो नै लागेको हुनुपर्छ । यो सवै तामझाम देख्दा लाग्छ– अब नेपाली जनताले आफूले चाहेजस्तै खोजेजस्तै संविधान निकट भविष्यमै पाउनेछन् र देश विधिको शासनको सुनिश्चित बाटोमा लाग्नेछ  । तर गहिरिएर देशको वर्तमान नियति, नेताहरूको बोली, व्यवहार र भित्री गतिविधि नियाल्दा एवं संविधानको मस्यौदाले निर्धारण गर्न खोजेको बाटो हेर्दा मुलुकले काम चलाउ प्रकृतिको एउटा संविधान नामको दस्तावेज पाउने निश्चित प्रायः देखिए तापनि राष्ट्रिय एकता र अखण्डतालाई मजबुत पार्ने र शान्ति, स्थायित्व र विकासका निम्ति राष्ट्रिय चिन्तनधारलाई समेटेर अगाडि बढ्नसक्ने संविधान भने कुनै हालतमा आउन नसक्ने प्रष्टै देखिइसकेको छ । जननिर्वाचित संविधानसभा जसरी चार दलको नियोजित फन्दामा फँसेको र यसको निरीहता संविधानसभा–१ देखि नै प्रदर्शित हुँदैआएको देखिएको छ त्यसलाई पृष्ठभूमिमा राखेर हेर्दा र मस्यौदा संविधानको प्रारुप र अहिलेका गतिविधि हेर्दा स्वस्थ विचार, स्वस्थ प्रक्रिया र सुनिश्चित गन्तव्यकै नितान्त कमी रहेको कुरामा कुनै सन्देह छैन । तर पनि नहुनु मामाभन्दा कानो मामा निको भन्ने उखान सम्झेर नेपाली जनताले नयाँ संविधानको प्रतिक्षा भने गरिनैरहेका छन् ।

नेपाली जनताले चाहेको भनेको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत पार्ने र मुलुकलाई राजनीतिक स्थायित्वको प्रत्याभूति दिनसक्ने गरी विधिको शासन स्थापित गर्नसक्ने  संविधान हो । तर, नेपालको वर्तमान राजनीतिक नियति हेर्दा सवभन्दा बढी प्रहार राष्ट्रिय एकता र अखण्डतामाथि नै भैरहेको छ र विभाजित र विखण्डित मानसिकताको बीजारोपण राजनीतिक आवरणबाट नै भैरहेको छ । नेपालको राजनीतिक मार्गचित्र निर्माण नेपाली जनताको अभिमतबाट भन्दा पनि बाहिरी शक्ति केन्द्रहरूको रणनीतिक स्वार्थबाट प्रेरित भएर हुने गरेको र नियोजित राजनीतिक विचलनले मुलुकलाई निरन्तर राजनीतिक अस्थिरताको फन्दामा कसिरहेको कटु यथार्थबोध निरन्तर भैरहेको अहिलेको पनि वास्तविकता हो । २०६२ साल मंसिरमा भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनको स्वामित्व नेपालीको हातबाट गुमेको र नेपालीहरूको राष्ट्रिय मनोविज्ञान नै शिथिल बन्नपुगेको अकाट्य तथ्य नै हो । यता संविधान निर्माणका लागि ताजझामका साथ जनमत संकलनको अभियान चलेको बेला संविधान निर्माणमा भारतको सहयोग र सद्भाव अनिवार्य छ भन्दै दिल्ली दर्शनमा धाउने जुन चरित्र अहिले प्रदर्शित छ त्यसले पनि संविधान निर्माणमा पर्दाभित्रका खेलहरूको एउटा स्वरुप इङ्गित गर्दछ । नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप निम्त्याउने यस्तै बेसोमति हर्कतहरूले नै नेपाललाई पथविचलित गराइरहेका छन् र शान्ति, स्थिरता र विकासको बाटोमात्रै अवरुद्ध नभै राष्ट्रिय एकता र अखण्डता नै जोखिममा पर्दैगएको सर्वत्र अनुभूत छ । तदर्थवादी संविधान निर्माणको यो पछिल्लो चरणमा देखिएको वैदेशिक चासोले कस्तो परिणति निम्त्याउने हो भन्ने पनि उत्तिकै जटिल प्रश्न खडा भएको छ ।

मस्यौदा संविधानमाथि सुरुदेखि नै जाहेर भएका प्रतिक्रियाहरू र छलफलका क्रममा सार्वजनिक भएका विचारहरूलाई नियाल्दा सर्वस्वीकार्य संविधानको अपेक्षा त के कल्पना गर्नुपनि व्यर्थ छ । मस्यौदा संविधानको अन्तर्वस्तु नै बाह्य प्रक्षेपणबाट प्रभावित भएको एकातिर अनुभूत हुन्छ भने अर्कातिर बाह्यशक्तिकै बलमा बुर्कुसी मार्नेहरूले जस्तो चरित्र प्रदर्शन गरिरहेका छन् त्यसलाई मनन गर्दा संविधान निर्माणमा अझै प्रचूर व्यवधान रहेको र संविधान जारी भएपछि पनि मुलुकले राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि वाञ्छित वातावरण सिर्जित हुन नसक्ने प्रष्ट इङ्गित भैरहेको छ । अहिलेको मत संकलन केवल झाराटराइ मात्र हो र जनताको आँखामा छारो हाल्ने यो कामले कुनै राम्रो नतिजा देला भन्ने पनि छैन । ठूलो धनराशी व्यय गरेर संकलन गरिएको मतको दुई दिनभित्रै कस्तो प्रतिवेदन बन्ला ? एकातिर यो अहं प्रश्न खडा छ भने अर्कातिर नामांकन र सीमांकन गरी असन्तुष्ट पक्ष सवैलाई समेटेर संविधान निर्माण गर्न बाह्य शक्तिबाट प्राप्त निर्देशनको प्रभाव कुन रुपमा प्रदर्शित हुने हो भन्ने गम्भिर चासो पनि उब्जिरहेको छ । नियतिको खेल टुंगिएको छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)



 
::| Latest News

 
[Page Top]