युगसम्बाद साप्ताहिक

कैलालीको घटनाबाट पाठ सिकौं
Tuesday, 09.01.2015, 11:47am (GMT5.5)

अघिल्लो हप्ता  भदौ ७ गते सोमवार कैलालीको टीकापुरमा मच्चिएको विभत्स हत्याकाण्डका अनेक आयामहरू उद्घाटित भैरहेका छन् ।  प्रहरी निहत्था हुनु र आन्दोलनकारी हतियारधारी हुनुको दुर्दान्त परिणतिकै कारण निर्दाेष र अबोध २ वर्षे बालकदेखि लिएर नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको हत्या हुनु अति असामान्य घटना हो । राष्ट्रिय सद्भाव खल्बल्याउने, एकआपसमा युगौंदेखि मिलेर बसेका जनताबीच बैमनष्यता सिर्जना गराउने र परस्परमा मुठभेट गराई अशान्ति र अराजकताको स्थिति सिर्जना गरी अन्ततः विधिको शासन स्थापना होइन बिखण्डनको बीजारोपण गर्ने दुराशययुक्त षड्यन्त्रको अभ्यासगत क्रमको यो एउटा कडी हो । दण्डहीनता मौलाएको यो मुलुकमा त्यसको लाभ उठाएर बिखण्डनको दुराकाङ्क्षा राख्दै बाह्य निर्देशनमा चलखेल गर्दैआएका केही देशद्रोहीहरूको उक्साहटमा यो दुर्दान्त हत्याकाण्ड रचिएको खुलाशा भैसकेको छ । तराईमा सुनियोजित रुपमा बिखण्डनको आगो सल्काउँदै हिडेका कथित मधेशवादी नेताहरूलाई कानूनको कठघरामा ल्याउनुको सट्टा उल्टै उनीहरूबाट दिइएको चुनौति सुनेर सरकारले आफ्नो निरीहता प्रदर्शन गरिरहेको छ । कैलाली जस्तै तराईका अरू जिल्लामा पनि हत्याकाण्ड मच्चाउने संकेत वीरगञ्जमा प्रहरीमाथि भएको पेट्रोल बमको प्रहार र ठाउँठाउँमा भएका तोडफोड र आगजनीका घटनाले इंगित गरिरहेका छन् । राष्ट्रिय एकता, अखण्डता र सद्भाव विरुद्धका प्रायोजित गतिविधिप्रति राष्ट्रिय सजगता नअपनाउँदा मुलुकको भविष्य नै ठूलो संकटमा परेको छ ।

नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामाथि अनेक चुनौति खडा भएका छन् । २०६२ मंसिरमा नयाँ दिल्लीमा भएको बाह्रबुँदे संझौतापछि देशको राजनीतिले नयाँ दिशा लियो । नेपालका आठ दलबीच भएको भनिएको त्यो सम्झौताको स्वामित्व नेपाली नेताले होइन भारतका अधिकारीहरूले लिए । त्यसपछिको  नेपालको राजनीतिक परिचालनको केन्द्र नयाँदिल्लीमा स्थानान्तरित भयो । अहिले चलनचल्तीमा रहेका सवैखाले राजनीतिक हस्तिहरूको मार्गनिर्देशनको थलो दिल्ली नै बनेको कुरामा कुनै सन्देह छैन । नेपाली कांंग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाले बेलाबेलामा ग्य्राण्ड डिजाइनको कुरा गर्नुहुन्थ्यो भने भारतले चाह्यो भने तराईको समस्या दुई मिनेटमा समाधान हुन्छ पनि भन्नुहुन्थ्यो । उहाँले त्यो ग्य्राण्डडिजाइनबारे नेपाली जनतालाई कहिल्यै खुलस्त पार्नु भएन तर उहाँ स्वयं नै ग्य्राण्ड डिजाइनको गोटी बनेर उपयोग हुनुभएको कुरा भने घटनाक्रमले नै सिद्ध गर्दैआएका हुन् । नेपाली जनताको माग र अभिमतविना नै नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको  प्रक्षेपण उहाँकै नेतृत्वमा भएको थियो । अहिले नेपालको राष्ट्रिय एकता, अखण्डता र सामाजिक, क्षेत्रीय, जातिय एवं धार्मिक–सांस्कृतिक सद्भाव र सहिष्णुताविरुद्धका सुनियजित गतिविधिहरूको बीज त्यही नै हो । जानेर नजानेर त्यो बाटोमा हिँडेका राजनीतिक नेताहरूले एक दशकको अन्तरालमा पनि आन्तरिक राजनीतिक व्यवस्था गर्न सकेका छैनन् र अझै पनि बाहिरी शक्तिको आशीर्वाद खोज्ने र त्वंशरणम् गर्ने प्रवृत्ति त्यागेका छैनन् । अहिले राष्ट्रिय संकट घनीभूत हुँदैजानुको मूल कारण त्यही नै हो ।

अहिले देशमा उत्पन्न भएको अराजकता, विप्लव र बिद्रोहका प्रयोजित रुपहरूमा संघीयताको संरचनामा केन्द्रित जस्तो देखिएता पनि नेपाली जनतालाई एकआपसमा लडाएर भीडन्त गराइरहने र गृहयुद्ध, विखण्डन र विलयको नियतितिर डोर्याउने दीर्घकालीन योजनाअनुरूप नै यस्ता गतिविधिको प्रायोजन भैरहेको झलक देखिँदैछ । कैलालीदेखि तराईका विभिन्न जिल्लामा खुला सीमाको दुरुपयोग गर्दै प्रदर्शनमा सहभागी हुन दक्षिणतिरबाट अपराधकर्मीहरूको आयात भएको कुरा त गृहमन्त्री स्वयंले खुलाशा गर्नु सामान्य घटना होइन । सिक्किमको भारतमा विलय, पाकिस्तानको विखण्डन र श्रीलंकाको  विभाजनको मागसहितको  तामिल जातीय विग्रह एवं लामो गृहयुद्धका पछाडि कसको हात थियो र कस्ताकस्ता गतिविधिहरू प्रायोजित थिए भन्ने कुरा इतिहासमा अंकित छ र नेपालीहरूले ती प्रकरणबाट सधैं पाठ सिकिरहनु पर्दछ । सिक्किम विलयमा लेण्डुप दोर्जेको उपयोग भयो, पाकिस्तानबाट अलग बंगलादेश बनाउन मुक्तिबाहिनीहरूको निर्यात भयो भने श्रीलंकामा प्रभाकरणको नेतृत्वमा पृतकतावादी तामिलहरू  प्रशिक्षित र परिचालित भए । कैलाली र तराईका अन्य जिल्लामा देखिएका विद्रुपहरूले नेपाल दुर्नियतिको कुन चाहिँ बाटोतिर धकेलिँदैछ भन्ने गम्भिर प्रश्न खडा गरेको छ । कैलाली र तराईका विभिन्न जिल्लामा प्रायोजन भेरहेका घटनाबाट सवै देशभक्त नेपालीले पाठ सिक्नुपर्ने अवस्था आएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com