युगसम्बाद साप्ताहिक

अनिष्टकारी भविष्यको संकेत
Tuesday, 09.15.2015, 11:41am (GMT5.5)

मुलुक अनिष्टकारी चक्रव्यूहमा फँसेको छ । नानाथरी बितण्डाहरू नेपाल भूमिमा प्रायोजित रुपमा मञ्चित भैरहेका छन् । सबभन्दा ठूलो चुनौति राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतामाथि नै खडा भएको छ । नेपालको आन्तरिक राजनीतिक गतिविधिमा बाह्यशक्तिको खटनपटन नांगो रुपमा देखिँदैआएको छ ।  नेपालको राजनीतिक दिशा निर्धारण नेपाली जनताको अभिमतले नभै बाह्यशक्तिको रणनीतिक स्वार्थ अनुरुपको निर्देशनमा चल्ने कुत्सित परम्परा बसालिएकाले त्यसका विकृत रुपहरू जताततै उजागर भैरहेका छन् । देशको कथित मूलधारको राजनीति देशको भूराजनीतिक अवस्थिति अनुरुप नभै बाह्यशक्तिको दलालीमा परिचालित हुने गरेकाले सिद्धान्त, मूल्य, मान्यता र आदर्शको विसर्जन स्वाभाविक नियति बनेको छ । नेपाललाई बहुपक्षीय द्वन्द्वको भूमरीमा फँसाएर आफ्नो अभीष्ट पूरा गर्ने लामो समयदेखि चल्दैआएको खेल पुनः एकपटक उत्कर्षमुखी बन्दैगएको तथ्यको उद्घाटन देशमा अहिले प्रायोजित रुपमा प्रक्षेपित भैरहेका घटनाक्रमले उजागर गरिरहेका छन् । मुलुकको स्वतन्त्र अस्तित्वमाथि नै आँच आँच पुर्याउने खालका अनेक सुनियोजित प्रकरणहरू दृश्यमान हुँदैगएका छन् । हत्या, हिंसा र अराजकताको माहोल खडा गरेर राष्ट्रिय एकता, अखण्डता, सद्भाव र सार्वभौमिकतामाथि धाबा बोल्ने जुन षड्यन्त्रात्मक गतिविधिहरू प्रायोजित भैरहेका छन् ती प्रसंगले प्रत्येक देशभक्त नेपालीको मन रोइरहेको छ । मुलुकको भविष्य अब कुन दिशातिर मोडिने हो ? यो अनुमान गर्नै नसिकिने अवस्थाको सिर्जना भएको छ ।

विगत एक महिनादेखि देशका बिभिन्न भागमा हिंसा भडकिइरहेको छ । एकातिर जसरी भए पनि  संविधान निर्माण गरिछोड्ने हठको प्रदर्शन भैरहेको छ भने अर्कातिर आन्दोलनका नाममा बर्बर ढंगले मान्छे मार्ने शृङ्खला चलेको छ । संघीयताको नाममा मुलुकमा रोपिएको बिषाक्त बीजले  राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावमाथि नै आँच ल्याउने खालका गतिविधिलाई प्रबद्र्धन गरिरहेको छ । मुलुक समग्रतामा संविधान निर्माणको हठ र त्यसको विरोधमा दूराग्रहजन्य धारणा राखेर मच्चाइएको अराजकताको दोहोरो चापमा परेको छ । यो सुनियोजित अराजकताले अहिलेसम्म चालीस जनाको ज्यान लिइसकेको विवरण सार्वजनिक भैसकेको छ भने देशको समग्र अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको छ । महिना दिनदेखि तराई क्षेत्रका उद्योगहरू बन्द छन् भने हजारौं मजदुरहरू बेरोजगार बनेका छन् । राजस्व संकलन दिनहूँ ओरालो लागेको छ । लाखौं विद्यार्थीहरूले विद्यालयको मुख देख्न पाएका छैनन् । सर्वसाधारण जनताको आवागमनमा निरन्तर रोकावट छ । देशका जनतालाई चामल, दाल, तरकारी समेत विदेशबाटै आयात गरेर खानुपर्ने अवस्थामा पुर्याउने कारणीहरू नै यो देशको देखाबटी हर्ताकर्ता बनेकाले मुलुकको यो दर्दनाक हालतलाई आत्मसात् गर्ने र त्यसलाई सम्बोधन गर्ने क्षमता खेताला हैसियतका नेताहरूसंग नभएको ध्रुब सत्य नै हो । यस्तो नियतिले मुलुकलाई कुन भँड्खालोमा जाक्ने हो भन्ने मात्र चिन्ता जनमानसबीच जागृत भैरहेको छ ।

चार दलले जेठ २५ गते १६ बुँदे सहमति गरेपछि असार मासान्तभित्र संविधानको रटान लगाए । माघ ८ गतेको रटानले एक वर्ष खाएकै थियो । असार पछि साउन र साउनपछि भदौको रटान चल्यो । संघीय संरचना पछि आयोग बनाएर गर्ने भनिएकोमा त्यसमा दिल्लीको लगाम लाग्यो अनि संघीय संरचनाको कोठे खाकाले देशमा आगो लगाउने निर्देशित परिस्थिति सिर्जना गर्याे । हिंसा हत्या, आगजनी, तोडफोड, बन्द, हड्तालको शृङ्खला सुरू भयो । द्रुतमार्गबाट संविधान बनाउन निर्देशन पाएका नेताहरू कोठे बैठकमा लागे । निर्माण प्रक्रिया अगाडि बढाउन भनी जनताको रे संकलनको पनि नाटक मञ्चन भयो तर प्राप्त रे सुझावलाई थन्क्याएर विदेशी प्रभुहरूकै निर्देशनलाई शिरोधार्य गरी मस्यौदाले विधेयकको रुप लियो । अब जस्तो भने पनि संविधान बन्ने भयो भन्ने अवस्थामा पुगेपछि दिल्लीको लगाम फेरि कसिएको छ । पछिल्लो चरणमा भदौभित्रै संविधानको रटान गर्ने नेताहरू दिल्लीको लगामपछि लत्याकलुतुक भएका छन् । नेताहरूको हैसियत पूरै उदांग भएको छ । नयाँ दिल्लीले नेपालको राजनीतिक स्वामित्व नेपाली जनताको हातमा होइन आफ्नो हातमा रहेको देखाउन गरेको हर्कतले संविधान निर्माणको गतिलाई मात्रै  प्रभावित पार्ने नभै मुलुकको अनिष्टकारी भविष्यप्रति इंगित गरिरहेको छ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com