युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतीय नाकाबन्दीले दिएको सन्देश
Tuesday, 10.27.2015, 02:49pm (GMT+5.5)

नेपालीहरूको महान चाड बडादशैं भरखरै सकिएको छ । संस्कृतिप्रेमी नेपालीले आफ्नो राष्ट्रिय चाडपर्व बडो सकसका साथ मनाए । भारतले एक महिना अगाडिदेखि अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण नेपालको आपूर्ति प्रणाली पूरै अवरुद्ध भएको अवस्थाले आम नेपालीको दैनिक जीवन अभावग्रस्तताको चपेटामा परेको छ । भारतले सोझो बाटोबाट आफ्नो स्वार्थपूर्ति गर्न नसक्ताको अवस्थामा बिभिन्न हथकण्डा प्रयोग गरी नेपालको घाँटीमा सुर्केनी कस्ने र नेपाललाई घुँडा टेकाएर आफ्नो स्वार्थपूर्ति गर्ने लामो परम्परा बसालेको  छ ।  भारतले नेपाललाई आफ्नो संरक्षित राष्ट्र ठान्ने, एकलौटी प्रभाव क्षेत्र बनाउने, एकाधिकार बजार बनाइराख्ने र नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनको जिम्मा आफ्नै मुठ्ठीमा राख्ने हैकमवादी दुराकाङ्क्षा राख्दैआएकाले नेपाल भारत सम्बन्ध औपचारिक शब्दावलीमा बाहेक कहिल्यै पनि समस्यारहित र सुमधुर रहेको छैन । नेपालका जुनसुकै चरणका र जुनसुकै चरित्रका सत्ताधारीहरूसंग आन्तरिक दवाव दिएर निहित स्वार्थ पट्याउन नसक्दा नेपालभित्रै विग्रहजन्य स्थिति सिर्जना गर्ने र घुमाइफिराई नेपालीहरूलाई नै उपयोग गरेर नेपालको हुर्मत लिने भारतको स्थायी रणनीति रहेको तथ्य समय समयका घटनाक्रमले प्रष्ट रुपमा इंगित गर्दैआएका छन् । नेपालभित्र नै एउटा शक्तिलाई उपयोग गरेर अर्काे शक्तिलाई ठेगान लगाउने भारतको कुटिल चालबाजीको शिकार नेपाल पटकपटक हुँदैआएको छ । विगत लामो समयदेखि आफैले खेलाउँदै आएकाहरू बिच्किएर आफ्नो मार्गदर्शनमा नहिँडेको चाल पाएपछि त्यसैको झोक देखाएर भारतले अहिले आफ्ना गुमस्ताहरूलाई उपयोग गरेर अघोषित नाकाबन्दी गरेको जगजाहेर भैसकेको छ । नेपाली जनताले निकट भविष्यमा के कस्ता सकस भोग्नुपर्ने हो र यसबाट नेपालको सुदूर भविष्य कति प्रभावित हुने हो भन्ने कुरा अनुमानभन्दा टाढाको विषय छ ।

दुई महिनादेखि तराइको जनजीवन ठप्प छ । एक महिनादेखिको अघोषित नाकाबन्दीले आम नेपालीको जनजीवन अस्तव्यस्त छ । भारतले २०४६ सालको जनआन्दोलनपछि स्थापित सरकारहरूलाई उपयोग गरी नेपाललाई चाहिने पेट्रोलियम पदार्थको उपलब्धतामा एकाधिकार कायम ग¥यो । स्रोतहरूको पूरै व्यवस्था गरी निर्माणाधीन अवस्थामा पुग्नलागेको अरूण तेस्रो जलविद्युत योजना पनि नेपाली शिखण्डीहरूलाई उपयोग गरी भारतले तुहाइदियो र नेपाललाई बिद्युत सेवा कटौतीको चरणमा प्रवेश गराइदियो । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भूमिका स्थापित गरी दीर्घकालीन रुपमा नेपाललको अहित हुने अनेकथरी कामहरू निर्देशित रुपमा हुनपुगे । तराइवासी भूमिपुत्र नेपालीहरूलाई आफ्नै थातथलोमा अल्पमतमा पार्ने गरी भारतीयहरूलाई नागरिकता दिलाउन अनेक प्रपञ्च रचिए । त्यसको समग्र असर अहिले सिंगो नेपालमा परेको छ र राष्ट्रिय एकता र अखण्डता नै जोखिममा पर्दैगएको टड्कारो रुपमा देखापरिसकेको छ । नेपालको अर्थतन्त्र क्षतविक्षत पारिएको छ । भारतीय हैकमलाई त्वं शरणम् गरेर स्वीकार नगर्दासम्म अनेक हथकण्डा प्रयोग गरेर नेपाललाई दुःख दिइरहने  भारतको दीर्घकालीन रणनीति नेपालको सार्वभौमिक अखण्डताविरुद्ध लक्षित रहेको कुरामा कुनै सन्देह छैन । भारतीय प्रायोजनको संघीयताले नेपाललाई अहिले नै यति ठूलो संटमा पारेको छ भने सीमांकनको हेरफेर र नागरिकता प्राप्तिका लागि प्रस्ताव गरिएका बुँदाहरू स्वीकृत भएको खण्डमा दुर्नियतिको पारो कति माथि चढ्ने हो भन्ने कुराको अनुमान गर्न सहज छैन । कथित मधेश आन्दोलनको चरित्र र भारतको अघोषित नाकाबन्दीको हथकण्डा उपयोगको वर्तमान स्वरुप हेर्दा नेपालले कडा दुर्दिनको सामना गर्नुपर्ने अवस्थाको पूर्व संकेत भैसकेको छ ।

भारतको अघोषित नाकाबन्दीले तत्काल आमनेपाली जनजीवनलाई दुष्प्रभावित पार्नु एउटा कुरा हो भने नेपालप्रति भारतको दुराशयबोधको यो एउटा अवसर पनि हो । आम नेपाली जनमत अहिले भारतसंग तेलका लागि आत्मसमर्पण नगर बरू बैकल्पिक उपाय अपनाउ भन्ने पक्षमा दृढ छ । राष्ट्रिय स्वाधीनताको रक्षा पहिलो प्राथमिकताको विषय हो । नेपालले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि राष्ट्रिय स्रोतहरूको अधिकतम उपयोगको नीति अवलम्बन गरी राष्ट्रिय उत्पादनवृद्धिको बाटो अख्तियार गर्नुपर्ने प्रष्ट सन्देश अहिलेको अवस्थाले दिएको छ । नेपाली जनताले भारतीय हैकमवादसंग नझुक्न सरकारलाई अभूतपूर्व साथ दिएका छन् । सत्ता सञ्चालनको सहजीकरणका लागि  भारतको रणनीतिक स्वार्थको गोटी नबन्न जनताले सरकारलाई सचेत गराइरहेका छन् । नेपालले आफ्नो राष्ट्रहितको ख्याल गरेर भारत र चीन दुवै छिमेकीसित समनिकटता र समदूरीको नीति व्यवहार अवलम्बन गर्नसके मात्र नेपालको कल्याण छ । भारतले नेपालको आत्मनिर्णयको अधिकारमाथि दखल दिन साम–दाम–दण्ड–भेदका चारै नीति अवलम्बन गर्दैआएको छ । भारतले तराइमा जनमत गुमाएका कृत्रिम नागरिकताधारीहरूलाई उचालेर मच्चाइरहेको बित्तण्डाको हरतरहले सामना गर्न  नेपाली जनता तयार भएको बेला सरकारले खुट्टा नकमाइकन नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्नुपर्छ र सार्वभौमिक समानताका आधारमा सम्बन्ध परिचालनको बाटो अख्तियार गर्नुपर्छ भन्ने हाम्रो दृढ अभिमत छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)



 
::| Latest News

 
[Page Top]