युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नेपाली अन्तर्मनको आवाज
Tuesday, 12.01.2015, 02:53pm (GMT+5.5)

नेपाल भारत सम्बन्धमा यतिखेर ठूलो विचलन देखिएको छ । भारतको संकीर्ण एकल स्वार्थअनुरूपको मार्गचित्रमा हिड्न नेपालले आनाकानी गर्नासाथ भारतका सत्ताधारीहरूको कन्सिरीको रौं तातेर आउने गर्दछ र नेपालभित्रकै विभिन्न शक्ति र समूहलाई रोजी र छाडी उपयोग गरेर एक अर्काविरुद्ध भिडाउँदै नेपाल र नेपालीहरूमाथि कठोर प्रहार गर्न ऊ अग्रसर हुन्छ । नेपालको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिक अखण्डतामाथिको उसको गिद्धेदृष्टि बृटिश दासताबाट मुक्त भएर प्रजातान्त्रिक स्वतन्त्र भारत बनिसकेपछि पनि समय समयमा प्रदर्शित हुँदैआएको छ । भारत समग्रतामा नेपाललाई आफ्नो मुठ्ठीको माखो बनाइरहन चाहन्छ र उसको चाहना विपरीतका कुनै पनि कदम स्वीकार गर्न त्यहाँका सत्ताधारीहरूको गुलामी मानसिकताले दिँदैन । भारतका सत्ताधारीहरूको प्रभूत्ववादी मानसिकता र छरछिमेकमा हैकम जमाउने विकृत चाहनाकै प्रतिफल उसका कुनै पनि छिमेकी देशले विभिन्न चरणमा त्यसको पीडा भोग्नुपरेका अनेक प्रकरणहरू छन् । नेपालले संविधानसभाबाट नयाँ संविधान बनाउँदा उसको खटनमा पूरै नहिँडेको अनुभव गर्नासाथ भारतको सत्ता नेतृत्व विचलित हुनु  र मधेश आन्दोलनको प्रायोजन गर्न र अघोषित नाकाबन्दी गरेर नेपाललाई सकसमा पारेर झुकाउन खोज्नुको मूल कारण नै यही हो । यो विचलनले भूपरिवेष्ठित नेपालको पारवहन अधिकारको ठाडो उल्लंघन गरेको छ भने दुई देशबीचको मैत्री सम्बन्धमाथि पनि कुठाराघात गरेको छ । नेपालको सरकार, नेपाली जनतादेखि लिएर र संयुक्त राष्ट्रसंघ एवं अमेरिका, बेलायत, चीन, बंगलादेश, पाकिस्तान लगायतका देशले भारतको नाकाबन्दीले नेपालमा मानवीय संकट खडा गरेको विषयलाई उजागर गरिरहेका छन् । भारतमै पनि नेपालविरुद्धको नाकाबन्दीको विरोध भैरहेको छ तर भारत सरकारले कुनै सुनुवाई गरेको छैन बरू उल्टै नेपालभित्रै साम–दाम–दण्ड–भेद गरेर मानवीय संकट गहिर्याउने ब्यूहरचना गरिरहेको छ ।

भूमिपुत्र तराईवासी नेपाली जनता भारतीय ज्यादतिको सर्वाधिक शिकार भए पनि त्यसले समुचित वाणी पाउन सकेको छैन । गत बुधवार मात्र भारतको सीमा सुरक्षा बलले अनधिकृत रुपमा नेपाल सरहदभित्र प्रवेश गरी चारजना धर्तिपुत्र युवा यादवहरूमाथि गोली चलायो । सीमा क्षेत्रबाट दैनिक उपभोगका सामान ल्याउँदा पनि तराईवासी सर्वसाधारण जनतामाथि ज्यादती हुने गरेको छ । कथित आन्दोलनकारीहरूले ज्यूँदै मान्छे जलाउनेसम्मका हर्कत गर्न थालेका छन् । आन्दोलनकारी नेताहरू औषधिको आयात नरोक्ने भन्दै वक्तव्यबाजी गर्छन् तर उनैका कार्यकर्ता औषधि बोकेको गाडी जलाउने, बेरामी बोकेको एम्बुलेन्स तोडफोड गर्ने, एम्वुलेन्सबाट बेरामी थुतेर मार्ने काम गर्छन् । मधेश आन्दोलनभित्र पन्पिइरहेको आतंककारी गतिविधिले राजनीतिक स्वरुप र शान्तिपूर्ण आन्दोलनको आफैं खिल्ली उडाएको छ । भारतीय सुरक्षा बलले तराईवासी नेपालीको छातीमा गोली हान्दा होस् वा तराई डुब्ने गरी सीमाक्षेत्रमा तटबन्ध बनाउँदा होस् मधेशी नेता कोही बल्दैनन् । उनीहरू भारतको निगाहबाट बञ्चित हुने डर छ । आफ्नै भूमि र बन्धुबान्धवविरुद्ध भारतले चालेका कदमविरुद्ध बोल्न नसक्नेहरूले मधेश आन्दोलनका नाममा तराईवासीकै हुर्मत लिइरहेका छन् भने राष्ट्रिय एकता, अखण्डता र सद्भावविरुद्ध भारतको गोटी बनेर उपयोग भैरहेका छन् । नेपाली जनमतले कदापि स्वीकार नगर्ने तराईमा दुई मधेश प्रदेशको माग दुराशयपूर्ण मात्र होइन षड्यन्त्रपूर्ण पनि छ । मधेश आन्दोलनलाई सघाउनेहरूबाटै नेपाल खण्डित गर्ने दुराशयका कुराहरू धमाधम सतहमा आइरहेका छन् । यो डरलाग्दो भविष्यको संकेत हो ।

नेपालमा भारतले चाहेको के हो ? पहाड र तराईलाई अलग नगरिन हुने कारण के हो ? जनसंख्याकै आधारमा मात्र निर्वाचन क्षेत्र किन चाहिएको हो ? कृतिम नागरिकलाई वंशज सरहको अधिकारको माग किन राखिएको हो ? यी सवै कुरालाई गहिराइमा गएर नहेर्ने हो भने नेपालको भविष्य झनै असुरक्षित बन्दैजाने निश्चित छ । मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दी एक अर्काका परिपुरक हुन् भन्ने कुरामा कुनै सन्देह छैन । तर भारतले आफ्ना पालित–पोषितहरूको जमात खडा गरेर नेपालभित्रै भ्रमको खेती गरी त्यसलाई मलजल गरिरहेको छ । भारतले स्वतन्त्र सिक्किमका लेण्डुप दोर्जी मार्काहरूलाई उपयोग गरेर जसरी सिक्किमको स्वतन्त्रता हडपेको थियो त्यसरी नै नेपालमा लेण्डुपवादीहरूको जमात खडा गरेर अवाञ्छित खेल खेलिरहेको छ । भारतले आफ्ना गुलामहरूलाई सत्तामा स्थापना गर्ने र नेपाललाई लुटिरहने, त्यो नहुँदा नेपाली नेपालीबीच फुट पैदागरेर अशान्ति र अस्थिरता मच्चाइरहने, नेपाललाई संघीयताको भूमरीमा पारेर  खण्डित गर्दैजाने र क्रमशः विलय गर्दैजाने उसको ध्येय छ भन्ने प्रष्टै आभास हुनथालेको छ । यस्तो अवस्थामा संकीर्ण राजनीतिक स्वार्थबाट माथि उठेर सवै राजनीतिक दलहरूले देश कसरी जोगाउने भन्नेतिर लाग्नुपर्दछ । सवै नेपाली एकजुट हुनु पर्दछ । यो नै नेपाली अन्तर्मनको आवाज हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)



 
::| Latest News

 
[Page Top]