युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 07:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतीय सत्ताधारीहरूको दुर्नियत
Tuesday, 12.15.2015, 12:10pm (GMT+5.5)

नेपाल–भारत सम्बन्ध सधैं भनिने गरेको जस्तो सुमधुर, सोचेको जस्तो विश्वसनीय र हुनुपर्ने जस्तो समतामूलक छैन । नेपाल एउटा सार्वभौम सत्तासम्पन्न स्वतन्त्र देश हो र उसंगको व्यवहार तदनुरुप नै गर्नुपर्छ भन्ने मान्यतालाई भारतका सत्ताधारीहरूले आत्मसात गर्न नसक्दाका दुष्परिणामहरू नेपालले वारम्वार भोग्दैआएको छ  । रोटी बेटीको सम्बन्ध, सांस्कृतिक (धार्मिक निकटताको सम्बन्ध, सम भूगोलको सम्बन्ध, खुला सिमनाको सम्बन्ध, जनस्तरमा फैलिएको सम्बन्ध जस्ता अनेक शब्दजालले बेरिएको दुई देशबीचको सम्बन्धले भारत बृटिस गुलामीबाट मुक्त भएपछि पनि समयसापेक्ष गति लिनसकेको छैन । सन् १९४७मा भारत स्वतन्त्र भएदेखि नै त्यहाँका सत्ताधारीहरूले नेपालको सार्वभौमिक सत्तालाई कुण्ठित गर्ने हर्कत गर्दै  हैकम जमाउने विस्तारवादी गतिविधिलाई निरन्तरता दिँदैआएका छन् । नेपाललाई राजनीतिक कुटनीतिक रुपमा आफ्नो प्रभाव क्षेत्र बनाउने र आर्थिक रुपमा एकाधिकार बजार कायम गरिराख्ने प्रभुत्ववादी सोचलाई कुनै पनि चरणका सत्ताधारीहरूले परित्याग गर्न सकेका छैनन् । नेपालको आकाङ्क्षा र यथार्थ स्थितिलाई मित्रवत रुपमा अनुभूत गर्नुको सट्टा नेपाललाई हरतरहले सधैं आफ्नो मुठ्ठीमा राख्ने गलत सोचले निरन्तरता पाइरहेको छ । बेलायती साम्राज्यको विरासतमा प्राप्त  गुलामी मानसिकताले ग्रस्त त्यहाँको स्थायी संयन्त्रले पनि नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मानजनक ढंगले हेर्न नसकेको र त्यहाँका परिवर्तित सत्ताधारीहरू पनि अन्ततः स्थायी प्रशासनिक संयन्त्र र गुप्तचर निकायको प्रभावबाट मुक्त नरहेकाले  नेपाल भारत सम्बन्धले परिवर्तित विश्वसन्दर्भ अनुरुपको आकार ग्रहण गर्न र गति लिन सकेको छैन । नेपाल भारतबीचको सम्बन्धमा रहेको स्थायी समस्या र जटिलता नै यही हो । कटुसत्य के हो भने यो समस्याको स्थायी निदान नभएसम्म सद्भावना र विश्वासको सेतु बन्न सक्दैन ।

भारतले तेस्रो पटक लगाएको झण्डै तिन महिना पुग्न लागेको नाकाबन्दीको मार नेपाली जनताले यतिखेर प्रचूर मात्रामा भोगिरहेका छन् । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापन पूर्णतः आफ्नो मार्गचित्र अनुरुप गर्दैजाने, नेपालको प्राकृतिक सम्पदा जलस्रोतलाई पूरै आफ्नो एकलौटी उपभोगका लागि वातावरण तयार गर्ने र उसको सुरक्षा अवधारणा अनुरुप नेपाललाई खण्डित गर्दै सिक्किमको हालतमा समेत पुर्याउनेसम्मको कुत्सित मनसाय भारतका सत्ताधारीहरूले राखेको कुरामा नेपालीहरूले मात्र आशंका गरिराखेका छैनन् भारतका सञ्चार माध्यम, विभिन्न प्रकाशन र त्यहाँका सत्ताधारी दलकै भुरे टाकुरे नेताहरूको मुखबाट उजागर गराउने गरिएको छ । भारतीय सत्ताधारीपक्षले नेपालका सत्ताधारीहरूसंग चाहेको कुरा पाउन नसक्दा र मार्ग निर्देशन उल्लंघन भएको अनुभव गर्नासाथ विपरीत धारका ठूला(साना जस्ता पनि शक्तिलाई उचालेर  राजनीतिक अधिकारको बहाली वा अनेक अधिकार प्राप्तिका नाममा बबण्डर मच्चाउने खेल रच्दैआएको छ । नेपालसितको बहुपक्षीय सम्बन्ध उसको देखाउने दाँतमात्र हो खाने दाँत अर्कै छ । दुःखको कुरा यस्ता खेलमा नेपाली अनुहारका मिर्जाफरहरू र लेण्डुप दोर्जेहरू समय समयमा उपयोग हुँदैआएका छन् । जसले नेपालको राष्ट्रहितका पक्षमा थोरैमात्र पनि अडान राख्न खोज्छ त्यसलाई जरैसमेत उखेलेर फाल्न भारतका सत्ताधारीहरू अगाडि सर्छन् । यो नेपालीले भोग्दैआएको नियतिको पीडा हो । अहिले तराई क्षेत्रमा मधेश आन्दोलनका नाममा जुन गतिविधि परिचालित छ त्यसमा उपयोग गरिएका कथित नेताहरूले आँफूलाई भारतको साखुल्ले ठानेका छन् र भारतले दवाव दिएर उनीहरूलाई ठूलै हैसियतमा पुर्याइदिन्छ भन्ने भ्रम पालेका छन् । विगतमा पनि यस्तै भ्रममा परेर उपयोग हुनेहरू अनेक थिए– समयक्रममा उपयोग सकिएपछि कोही किनारा लागे कतिको कन्तबिजोग भयो । खेतालाहरूको नियति नै यही हो ।

वर्तमान समयले अब नेपाल भारत सम्बन्धले कुन गति लिन्छ ? मधेश आन्दोलनको अवशान कुन रुपमा हुन्छ ? शिथिल देखिँदैगएको नाकाबन्दी पूर्णतः हटिसक्दाका दिनसम्म भित्रभित्रै नेपालले के कति मूल्य चुकाउनुपर्ने हो ? भविष्यमा नेपालले भोग्नुपर्ने नियति के हो ? भनेजस्ता अनेक प्रश्नहरू उठाइरहेको छ । समयको अन्तरालमा नेपालभित्र भारतको मात्र होइन विभिन्न बाह्य शक्तिका अनेक खेलहरू पनि उत्तिकै चलिरहेका छन् । भारतले जुन उद्देश्य प्राप्तिका लागि मधेश आन्दोलनको प्रायोजन गरेको हो त्यो सहज रुपमा प्राप्त नहुँदा परिवर्तित हुँदैगएको रणनीतिको प्रतिबिम्बन अब कुन रुपमा देखिने हो भन्ने पनि उत्तिकै चासो र कुतुहलताको विषय छ । मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले तत्कालका लागि मानवीय संकटमात्रै खडा गरेको नभै नेपालको अर्थतन्त्रलाई धेरै समयसम्म उठ्नैनसक्ने गरी धरासायी बनाएको छ । भारत निर्भरताको विकल्पमा देखिएका बाटाहरू उपयोग गर्न समेत अहिलेको समस्याबाट जुधिरहेको सरकार अग्रसर नदेखिनु शंकाको अर्काे पाटो बनिरहेको छ । भारतीय सत्ताधारीहरूको दुर्नियतबाट नेपाललाई जगाउने र जोगाउने क्रममा यतिखेर नेपाली जनताले देखाएको एकता, धैर्यता र अदम्य शाहसलाई आत्मसात गरेर अगाडि बढ्नसकेमात्र नेपालको कल्याण छ । कथं फेरि पनि त्वंशरणम्कै बाटो अनुशरण हुनगयो भने मुलुकका निम्ति त्यो ठूलो दुर्भाग्य हुने छ । यो नै अहिलेको समयले दिएको सन्देश हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)



 
::| Latest News

 
[Page Top]