युगसम्बाद साप्ताहिक

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण
Thursday, 02.18.2016, 07:41am (GMT5.5)

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेदेखि ११ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने निश्चित भएपछि यो भ्रमणको उपादेयता र नेपाल भारत सम्बन्धका विविध आयाम वारे नेपाली समाजमा अनेक चर्चा परिचर्चा भैरहेका छन् । भारतले नेपालमा जारी भएको नयाँ संविधानप्रति असन्तुष्टि देखाएर तराईमा मधेश आन्दोलनको प्रायोजन गरी त्यसैको आडमा साँढे चार महिनासम्म अघोषित नाकाबन्दी गरेर नेपाललाई थिलोथिलो पारेको पीडादायी र तीतो अनुभव नेपाली जनताले गरिरहेको बेलामा अप्रत्यासित रूपमा नाकाबन्दी खोलेर भारतले दिल्लीमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तारतम्य मिलाएको सहजै देखियो । भारतीय नाकाबन्दीका बेला राष्ट्रियताको प्रबल पक्षधरका रूपमा आफूलाई प्रस्तुत गर्ने जमर्काे गर्दै प्रधानमन्त्री ओलीले भारतसंग कुनै हालतमा पनि नझुक्ने अडान दोहोर्याउँदै आउनुभएको थियो भने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको राष्ट्रहितविरूद्ध कुनै पनि सहमति—सम्झौता नगर्ने बताइरहनु भएको छ । नेपाल भारत सम्बन्धका बीचमा हिउँको पहाड खडा भएको तथ्यलाई अघोषित नाकाबन्दीको अमानवीय र अमैत्रिपूर्ण हर्कतले नै प्रष्ट पारिसकेको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई पास्परिक सद्भाव, विश्वास र सहयोगको पुनर्ताजकीका लागि के कस्ता कदम चालिने हुन् र नेपालको स्वतन्त्रता, स्वाधिनता र आत्मसम्मान अनुरूपको व्यवहार भारतले कुन रूपमा प्रदर्शन गर्ला भन्ने आमचासो र जिज्ञाशाको विषय बनिरहेको छ । भारतले नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष सरोकार राखेर दिँदैआएको दखलले उब्जाएका अनगिन्ती समस्याहरूको खातबाट नेपाल निरन्तर थिचिँदैआएको तथ्यबाट सवै नेपाली परिचित छन् तापनि निरन्तर बल्झिइरहने त्यो समस्याको निदानको बाटो नपहिलिनु स्थायी पीडा बनेको छ । यो पीडाको स्थायी निराकरण कसरी भन्ने प्रश्न यथास्थानमा नै छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण परम्परागत सोच, धारणा र व्यवहारको निरन्तरताको एउटा क्रम मात्र हो । नेपालमा नयाँ सरकार बनेपछि त्यो सरकारका प्रमुखले भारत भ्रमण नगरी अथवा भनौं दिल्लीमा गएर दीक्षा प्राप्त नगरी अरू देशमा जानै हुँदैन भन्ने सोच र व्यवहारको अनुशरण गरेर नै प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट विदेश भ्रमणको थालनी गर्नलाग्नु भएकोमा कुनै सन्देह छैन । उहाँलाई मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको पनि निम्तो थियो । भारत भ्रमण नगरी चीन जाँदा भारत रिसाउँछ र प्रधानमन्त्रीको आशनमा भूँइचालो आउँछ भन्ने मनोत्राशकै कारण चीन भ्रमण प्राथमिकतामा नपरेको कुरा पनि त्यत्तिकै सत्य हो । नेपालको स्वाभिमान, राष्ट्रहित र आत्मनिर्णयको अधिकारको पक्षमा जति नै वकालत गरे पनि भारतीय हैकमविरूद्ध दरोसंग उभिनसक्ने राजनीतिक नेतृत्वको अभावकै कारण भारतको हेपाहा नीति र व्यवहारलाई नेपालका सत्ताधारीहरूले आत्मसात गर्दैआएका छन् । नेपाल भारत सम्बन्धभित्रको जटिलता जति नै बढ्दैगएको भए पनि त्यसलाई लिपापोती गरेर ढाकछोप गर्ने र भारतीय हैकमवादको निरन्तरतालाई स्वीकार गर्ने गलत सोच र व्यवहारले ओली सरकारलाई पनि उत्तिकै प्रभाव पारिरहेको प्रमाण नै आसन्न भारत भ्रमणको कार्यक्रम हो । यो भ्रमणले दुई देशबीच चिसिएको सम्बन्धलाई केही न्यानो पारेको भ्रम त दिनसक्ला तर नेपालको राष्ट्रिय आकाङ्क्षा तृप्त गर्नसक्ने गरी कुनै उपलब्धि हासिल हुनसक्ने कुनै आधार खडा हुनसक्ने अवस्था देखिँदैन । यो नै अहिलेको वास्तविकता हो । 

नेपाल भारत सम्बन्धले यतिखेर वाञ्छित गति लिएको छैन । भारतीय नाकाबन्दीले सिर्जना गरेको तिक्तता, असमझदारी र अविश्वासले दुई देशबीचको सम्बन्धलाई कटुतापूर्ण बनाएको मात्र छैन भावी दिशाप्रति पनि आशंका बढाइरहेको छ । भारतीय सत्ताको प्रत्यक्ष समर्थन र सहयोगमा लामो समयदेखि चलेको मधेश आन्दोलन अहिले शिथिल देखिए पनि त्यो रोकिएको छैन । भारतीय सत्ताले त्यो आन्दोलनलाई बार्गेनिङ् चीप्सका रूपमा उपयोग गर्ने अवस्था विद्यमान नै छ । भारतले नेपालसंग के के चाहेको छ र त्यो पाउनका लागि दृश्य—अदृश्य रूपमा के के गर्छ भन्ने कुराको भेउ पाउन सजिलो छैन । प्रम ओलीको आसन्न भारत भ्रमणले तत्कालका लागि अहिलेको चीसो र तीतो सम्बन्धलाई सामान्यीकरण गर्न बल पुर्याएमात्र पनि त्यसलाई उपलब्धिपूर्ण नै मान्नुपर्ने अवस्था छ । भारतले नेपाललाई हेर्ने दृष्टिकोण र गर्दैआएको परम्परागत व्यवहारमा परिवर्तन नगरेसम्म र नेपालका सत्ताधारी एवं राजनीतिक नेताहरूले उताकै आशीर्वादको अपेक्षा गर्ने मनोदशा नफेरिइसम्म सार्वभौम सम्पन्न दुई देशबीचको सम्बन्धले समयसापेक्ष मार्गदिशा ग्रहण गर्न सक्दैन भन्ने तथ्यलाई सवैले आत्मसात गर्नैपर्दछ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण नेपालको आत्मसम्मान र राष्ट्रहितमा ठेस नपुर्याउने गरी पारस्परिक सद्भावना, विश्वास र सहयोग वृद्धिका लागि उपयोगी सिद्ध हुनसकोस् भन्ने हाम्रो शुभकामना छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com