युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 09:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
इन्धनमा अझै असहजता
Wednesday, 03.09.2016, 11:26am (GMT+5.5)

भारत निर्भरताको साङ्लोमा बाँधिएर उत्पन्न भएको इन्धन संकटले नेपाली जनतालाई पीडा दिन अझै छोडेको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नेपाल भारतबीच खडा भएको हिउँको पहाड पग्लिएको र दुई देशबीचको सम्बन्धमा न्यानोपनको उपक्रम सुरू भएको धुमधाम प्रचार भैरहे पनि पेट्रोलियम पदार्थको उपलब्धतामा अझै कायम देखिएको संकुचन र नियन्त्रणले उपभोक्ताहरूलाई पिरोल्न छोडेको छैन । नेपालको प्रायःजसो हरेक क्षेत्रलाई नै निर्देशित रूपमा भारत निर्भर बनाउँदै जाने र नेपालको आत्मनिर्णयको अधिकार कुण्ठित गर्दै नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनको समेत स्वामित्व ग्रहण गर्ने भारतको रणनीतिक स्वार्थकै उपजका रूपमा इन्धन संकटको सिर्जना भएको हो । नेपाल भारत सम्बन्धमा उत्पन्न भएको अविश्वास र असहजता हटेको र भारतले पनि अघोषित नाकाबन्दीबाट नेपालमा भारत विरोधी भावना फैलाउने प्रत्युत्पादक काम भएको भनी पछुतो गरेको भनी आत्मरतिपूर्ण प्रचार भैरहे पनि भारतले नेपाललाई पाठ पढाउने मनसाय नछोडेको र मुखमा राम राम बगलीमा छुराको नीति अँगाल्दै पेट्रोलियमको उपलब्धतामा नियन्त्रण कायमै राखेको परिणामले नै देखाएको छ । अघोषित नाकाबन्दी हटाएपछि र दुई देशबीच उच्च राजनयिक तहमा समझदारी र सद्भाव कायम भयो भनिँदै गरेपछि पनि भारतले तेलको आपूर्तिमा ३० प्रतिशत कटौती गरिरहेको र त्यसको प्रत्यक्ष असर नेपालको तेल वितरण प्रणालीमा प्रत्यक्ष रूपमा परिरहेको खुलाशा भैरहेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका अवसरमा पुनः नाकाबन्दी नदोहोरिने समझदारी भएको हुँदो हो त आपूर्तिमा कटौतीको यो दशा अवश्य नै दोहोरिने थिएन भनी अवश्य नै भन्न सकिने थियो  ।

यथार्थ के हो भने नेपाली जनताले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउन प्रयोग हुने ग्याँस अझै पनि सहज रूपमा पाउनसकेका छैनन् । भारतले झण्डै पाँच महिनासम्म अघोषित रूपमा लगाएको नाकाबन्दी र मधेश आन्दोलनका नाममा तराईमा चलेको विग्रहले सिंगो नेपाललाई इन्धन संकटको चरम पीडा भोग्न विवश पारेको तथ्य अझै पनि घर घरको कथा–व्यथा बनिरहेको छ । भारतले प्रधानमन्त्री केपी ओलीलाई भारतमा स्वागत गर्न नाकाबन्दी हटाएको पनि एक महिना बितिसक्यो तर पनि नाकाबन्दी सिर्जित समस्याको निदान अझै भएको छैन । राजधानीकै मात्र कुरा गर्ने हो भने पनि तेल वितरण गरिने हरेक पम्पहरूमा मोटर –मोटर साइकलहरू पङ्क्तिबद्ध भएर घण्टौं लामो समयसम्म कुरिरहेको दृश्य दिनहुँजसो जताततै देखिन्छ । सरकारले आधा सिलिण्डर ग्याँस वितरणको संकटकालीन प्रबन्ध हटाएर पूरा सिलिण्डर उपलब्ध गराउने उद्घोष गरिसकेको भए पनि गृहिणीहरूले अझै सहज रूपमा इन्धन पाउन नसकेको पीडा पोखिरहेका छन् । सार्वजनिक यातायातका साधनहरूले तेलको मूल्यमा भैरहेको कटौती र उपलब्धतामा सुधार आए पनि भाडादरमा कुनै कमी ल्याएका छैनन् । ग्याँसका वितरकहरूले डिपोहरूबाट अफैंले ढुवानी गर्नुपरेको भन्दै नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढी रकम असुल गरिरहेका छन् । नाकाबन्दीका बेला विस्तारित भएको कालो बजारीको सञ्जाल तोडिएको छैन । निरीह उपभोक्ताहरू कालोबजारीकै शरण परेर भए पनि आफ्नो आवश्यकता पूरा गर्न विवश छन् । राज्यले नागरिकहरूको अविभावकत्व ग्रहण गर्न नसकेको अवस्था टड्कारो रूपमा देखिएको छ ।

तेलमा भारत निर्भरताको स्थिति सिर्जना नेपालका सत्ताधारीहरूकै मानसिक दुर्बलताको उपज हो । यो मानसिक दुर्बलतालाई हटाएर वैकल्पिक स्रोतका लागि प्रतिबद्ध प्रयास नगरेसम्म इन्धन संकटको भुमरीबाट नेपालले कहिल्यै मुक्ति पाउने छैन । भारतले अघोषित नाकाबन्दी सुरू गरेको लगत्तैपछि बनेको ओली सरकारले चीनबाट समेत तेल आपूर्ति गर्ने उत्सुकता देखाएको थियो भने चीनले पनि तेल आपूर्तिको सम्भावना इंगित गर्दै १३ लाख लिटर पेट्रोल सहयोग स्वरूप उपलब्ध गराएको थियो । तर बीचमा चीनबाट तेल आयात गर्ने प्रक्रियाले किन गति लिनसकेन भन्ने कुरा रहस्यकै गर्तमा छ । प्रधानमन्त्री ओलीको प्रस्तावित चीन भ्रमणका अवसरमा तेल आपूर्तिको सम्झौता हुने सतह चर्चा भने अझै जीवित छ । भारतले इन्धन आपूर्तिको विषयलाई नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा स्वामित्व ग्रहणका निम्ति दवाव सिर्जना गर्ने दरिलो हतियारका रूपमा उपयोग गरिरहेको अवस्था विद्यमान नै छ । भ्रम होस् वा वास्तविकता, नेपाली जनताले अझै पनि भारतले कुनै पनि बेला दुःख दिनसक्ने आशंका गरिरहेका छन् भने तेलको निर्बाध उपलब्धतावारे सम्बद्ध निकायले दिइरहेको आश्वासनप्रति विश्वास जागृत हुनसकेको देखिँदैन । माग र आपूर्तिबीच सन्तुलन कायम हुन नसकेर नै इन्धनमा असहजताको स्थिति नहटेको हो भनिए पनि वितरण  प्रणालीमा देखिएको अव्यवस्थापन र कालोबजारीबाट कमाउने धन्दा फस्टाइरहेका कारण पनि उपलब्ध इन्धन सर्वसाधारणले सजिलै पाउन सकिरहेका छैनन् । भारतले आपूर्ति प्रणालीलाई संकुचनमा राखिरहेको र उपलब्ध तेलको वितरण पनि व्यवस्थित बन्न नसकेको अहिलेको अवस्थाले सञ्चितिको मानसिकतालाई बल प्रदान गरिरहेको असज स्थिति तत्काल हटाउन सरकारले विश्वसनीय कदम चाल्नु जरूरी छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)



 
::| Latest News

 
[Page Top]