युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 12:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नेपाल चीन सम्बन्धको नयाँ आयाम
Tuesday, 03.15.2016, 02:12pm (GMT+5.5)

प्रधानमन्त्री केपी शर्मा ओलीले  यही चैत ७ गतेदेखि उत्तरी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्नुहुने निश्चित कार्यक्रम तय भएपछि नेपाल–चीन सम्बन्धका विविध पक्षलाई लिएर नेपाली समाजमा गम्भीर बहस चलिरहेको छ । नेपाल र चीनबीचको आधुनिक सम्बन्धको जग सन् १९५५ मा स्थापित दौत्य सम्बन्धले बसालेको भए पनि दुई देशबीच इस्वीको सातौं शताब्दिदेखि नै मैत्रीपूर्ण सहकार्यको थालनी भएको इतिहासले बताउँछ । नेपाल र चीन एउटै भूगोलमा आवद्ध छन् र एकले अर्काको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको सम्मान गर्दछन् । भौगोलिक निकटताले सांस्कृतिक सानिध्यता र सामाजिक–आर्थिक सम्बन्धको अपरिहार्यतालाई पनि निर्देश गरिरहेको छ । चीन भौगोलिक विशालता र आर्थिक–प्राविधिक क्षमताको विकासका दृष्टिले नेपालभन्दा धेरै ठूलो, विकसित र क्षमतावान भए पनि सहअस्तित्वबोधको सम्बन्धले मैत्रीभावको उच्चाइलाई छोएको छ । नेपाल चीन सम्बन्धका बारे ऐतिहासिक प्रसंगका अनेक प्रसंगहरू छन् । पारस्परिक सद्भाव, विश्वास र सहयोगले दुई देशबीचको सम्बन्धलाई निरन्तर मलजल गरिरहेको छ । परिवर्तित विश्वसन्दर्भ,  समयसापेक्ष चेतना र द्विपक्षीय सम्बन्ध विस्तारको अपरिहार्यताले पनि नेपाल र चीनबीच बहुपक्षीय सम्बन्ध विस्तारको अपरिहार्यतालाई टड्कारो रूपमा देखाइरहेको छ । एकदेशीय निर्भरताको चरम पीडा भोगिरहेको नेपालले चीनसितको बहुआयामिक सम्बन्ध विस्तारलाई राष्ट्रिय स्वाभिमान जोगाउने आधारका रूपमा पनि हेर्नुपर्ने अनिवार्यता छ । प्रधानमन्त्री ओलीको सन्निकट चीन भ्रमण यस दृष्टिले पनि द्विपक्षीय सम्बन्धलाई ऐेतिहासिक मोड दिने अवसरका रूपमा चित्रित हुनपुगेको छ । यो भ्रमण औपचारिकता निर्वाहमा मात्र सीमित नरही एकदेशीय निर्भरताको सृङ्खला तोडेर हरेक क्षेत्रमा वैकल्पिक अवसर उपभोगको मजबुत आधार खडागर्न केन्द्रित रहोस् भन्ने आम नेपाली जनताको चाहना छ ।

नेपाल र चीन भूसीमा जोडिएका देश भए पनि बहुपक्षीय सम्बन्ध विस्तारलाई वाञ्छित गतिदिन अझै समयको प्रतिक्षा गर्नुपर्ने अवस्था छ । भारतबेष्ठित मानसिकता, भारत निर्भरताको विद्यमान कठोरता र बाह्य निर्देशनको स्वाभिमानहीन अनुशरणको राजनीतिक संस्कारले सिर्जना गरेका अनेक समस्याको जञ्जाल नेपालले भोगिरहेको छ र त्यसबाट मुक्त हुने उपायका रूपमा चीनसितको बहुपक्षीय सम्बन्ध विस्तार नै वैकल्पिक माध्यम रहेको निर्विकल्प सोच नेपाली समाजमा रहेको छ । नेपालको आन्तरिक परिस्थितिलाई चीनले राम्रोसंग बुझेको छ । नेपालको आन्तरिक मामिलामा कुनै पनि बाह्यशक्तिले हस्तक्षेप गर्नुहुँदैन– नेपाली जनता आफ्नो भाग्यनिर्धारण गर्न आफैं सक्षम छन् भन्ने चीनको धारणा रहँदैआएको तथ्यबाट नेपाली जनता परिचित छन् । चीन नेपालको भरपर्दो, दुःखमा पनि साथ दिने, नेपालको स्थायित्व र विकासका लागि हरतरहले मद्दत गरिरहने अति विश्वाशिलो मित्र हो भन्ने सवै नेपालीले अनुभव गर्दैआएको विशिष्ट पक्ष हो ।

भर–विश्वासको यो सम्बन्धलाई समयको माग अनुसारको गति दिन नेपाल स्वप्नशील भएर अग्रसर हुनुपर्दछ । नेपाल र चीनबीच पारबहन, व्यापार र जलस्रोत उपयोग विषयक सन्धि–सम्झौताहरू प्रस्तावमा रहेका छन् भने चीनबाट पेट्रोलियम पदार्थको आयात गर्नेबारे भएको समझदारीलाई सम्झौता गरेर परिणाममुखी बनाउनु उत्तिकै जरूरी छ । भारत निर्भरताको जञ्जिर तोड्ने यो उपयुक्त अवसर हो । नेपाल–चीन सम्बन्धलाई समयसापेक्ष गतिदिनबाट रोक्न विगतमा पनि भित्रीबाहिरी तत्त्वहरू सक्रिय रहँदैआएको पृष्ठभूमिमा अब पनि त्यस्ता प्रयासहरू हुनसक्ने कुरालाई इन्कार गर्न सकिन्न । प्रधानमन्त्री ओलीले स्वप्नशील भएर नेपालको स्वाभिमान र आत्मनिर्णयको अधिकारको रक्षा एवं आर्थिक समृद्धिको बाटो खोल्ने अवसर उपयोग गर्ने क्षमता प्रदर्शन गर्नसके नेपालको वैदेशिक सम्बन्धको नयाँ आधारमात्रै खडा हुने होइन नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि निश्चय नै उच्चो हुने निर्विवाद छ ।      

नेपाल–चीन सम्बन्ध अतीतको गाथामा सीमित हुनुहुँदैन । आधुनिक चीनले विश्व व्यवस्थापनमा स्थापित गर्दैगएको आफ्नो अपरिहार्य भूमिकाबाट नेपाल अप्रभावित रहनसक्ने अवस्था छैन । चीनले निर्माण गरेको आर्थिक समृद्धिको बाटो हाम्रा लागि पनि वरदान हुनसक्ने अवस्था सिर्जित छ । चीनले नेपालको आर्थिक विकासमा दिँदैआएको योगदान र राख्दैआएको चासोलाई अरू कसैको रणनीतिक स्वार्थ र उक्साहटमा उपेक्षा गर्ने जुन मानसिकता बेलाबखत देखिने गरेको अनुभूत हुने गरेको छ त्यो अब कदापि दोहोरिन नदिनु नेपालको समग्र हितमा छ भन्ने कुरा प्रधानमन्त्री ओलीले स्वयं बुझेको हुनुपर्दछ । नेपाल चीनबीच बहुआयामिक सम्बन्ध विस्तारका लागि उपलब्धिमूलक दूरदृष्टिको अपरिहार्यता वर्तमान समयले नै निर्देश गरेको छ । दुई देशबीचका अधिकतम सम्भाव्य नाकाहरू खोलेर व्यापार विस्तार र पारबहन सहजताको अवसर उपयोगका लागि नेपालले नै अग्रसरता देखाउनु जरूरी छ । भारत निर्भरताको पीडा कति कठोर छ भन्ने कुरा त हालैको पाँच महिने नाकाबन्दीले नै देखाइसक्यो । त्यस्तो स्थिति भविष्यमा दोहोरिन नदिन नेपाल र चीनबीच अधिकतम नाकाको उपयोग हुने गरी आर्थिक–व्यापारिक सम्बन्ध विस्तार गर्नुबाहेक अर्को विकल्प छैन । प्रधानमन्त्री ओलीको सन्निकट चीन भ्रमणले हरेक क्षेत्रमा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई नयाँ आयाम दिनसकोस् भन्ने हाम्रो हार्दिक कामना छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)



 
::| Latest News

 
[Page Top]