युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उपलब्धिपूर्ण भ्रमण
Tuesday, 03.29.2016, 03:54pm (GMT+5.5)

नेपाल चीन सम्बन्ध सद्भावना, विश्वास र सहयोगको नयाँ उच्चाइमा पुगेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको गत आइतवार सम्पन्न चीनको सप्ताहब्यापी औपचारिक भ्रमणले दिएको सुमधुर सन्देश नै यही हो । प्रधानमन्त्री ओली बेइजिङ पुग्नु भएको भोलिपल्टै पारवहन तथा यातायात, नेपालमा ग्यास तथा तेलको अन्वेषण गर्न सम्भाव्यता अध्ययन, नेपाल र चीनबीच बैंकिङ रेगुलेशन, नेपाल र चीनबीच खुला व्यापार क्षेत्र सम्भावता अध्ययन, पोखरामा क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आर्थिक प्राविधिक सहयोग लगायतका विषयमा भएको १० बुँदे सम्झौता र त्यसको दुई दिनपछि जारी भएको १५ बुँदे संयुक्त वक्तव्यले नेपाल र चीनबीच विकसित हुँदैआएको पारस्परिक सद्भाव, विश्वास र समय सापेक्ष सहयोगको दूरगामी प्रभाव इंगित गर्ने आधारशीला खडा गरेको छ । 

चीनसित भएको पारवहन सम्झौताले भारतसितको एकपक्षीय निर्भरताको अन्त्य र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि वैकल्पिक आधार खडा गरेको छ भने नेपालको समग्र विकासका लागि सम्भावनाको नयाँ द्वार पनि खोलेको छ । नेपाल चीनबीच तत्काल इन्धन व्यापारको अपेक्षाअनुरूपको सम्झौता नभए पनि नेपालतर्फ व्यावसायिक इन्धन निर्यातसम्बन्धी सम्झौता चाँडै गर्न दुई देशबीच सहमति भएको छ । काठमाडौं र लुम्बिनीसम्म रेल सञ्जालको विस्तारको सम्भावनादेखि लिएर दुई देशबीच उर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने संयन्त्र स्थापित गर्न भएको सहमति कार्यान्वयनको चरणमा पुग्दा नेपालको कायापलट नै हुनसक्ने प्रष्ट इंगित भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको बिशिष्ट उपलब्धिलाई जोगाउन यो चरणमा भएका सम्झौता र सहमतिलाई परिणामदायी बनाउन विषेश कार्य योजना बनाएर सरकार नै अगाडि बढ्नसके नेपालले वाञ्छित लाभ उठाउनसक्ने कुरामा कुनै सन्देह छैन ।

प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुभयो । यो भ्रमणले विकास र समृद्धिको लामो प्रतिक्षामा रहेका नेपाली जनतालाई आशाको सञ्चार गराएको छ । नेपाल र चीनबीचको सम्बन्धमा असन्तुष्टि, असमझदारी र अविश्वासका कुनै तुष छैनन् । नेपालको सामाजिक आर्थिक विकासमा चीनले निरन्तर उदारमना सहयोग गर्दैआएको छ । विश्वकै सर्वाधिक उच्च हिमशेङ्खलाले दुई देशबीचको सीमा निर्धारण गरेको भए पनि सद्भाव, विश्वास र सहयोगको सम्बन्ध विस्तारका लागि यो प्राकृतिक अवस्थिति बाधक बनेको छैन र बन्ने पनि छैन । विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले आर्थिक प्राविधिक क्षेत्रमा गरेको प्रगति र विकास गरेको क्षमताले विगतमा जटिल र असहज मानिएका पक्षहरूसम्भाव्य र सहज सिद्ध भैसकेका छन् । चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पूर्ण सम्मान गर्दै नेपालसितको बहुपक्षीय सम्बन्ध विस्तारलाई जुन महत्व दिँदैआएको छ त्यसलाई नेपाली जनताले आत्मैदेखि प्रशंसा गर्दैआएका छन् । बरू हाम्रै पक्षबाट चिनीया सद्भाव र सहयोगको सदुपयोगमा कमी कमजोरी रहेको बेलाबखत उजागर हुँदैआएको छ । चीनले आर्थिक प्राविधिक क्षेत्रमा हाँसिल गरेको बिष्मयकारी उपलब्धिबाट यथाशक्य लाभ लिनका लागि नेपालले दृढ इच्छाशक्ति राखेर दह्रो कदम नै चाल्नुपर्दछ । नेपालको आत्मनिर्णको अधिकारमाथि अंकुश लगाउने प्रकृतिका बाह्य खेलहरूको घनचक्करमा परेर नेपालले गुमाएका अवसरहरूको लामो फेहरिस्त एकातिर छ भने अर्कातिर हाम्रो जटिल भौगोलिक अवस्थिति र कमजोर मानसिकताबाट अवाञ्छित लाभ उठाउने प्रवृत्ति पनि उत्त्तिकै बलियो छ । यस्तो अनपेक्षित प्रवृत्तिसंग जुध्ने र आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने क्षमताको विकास हाम्रा लागि अनिवार्य छ । नेपाल चीनसम्बन्ध विस्तारको सापेक्षतामा पनि यस्ता पक्षहरू महत्वपूर्ण छन् ।   

नेपाल चीनबीच बढ्दो सहकार्य आम नेपालीका लागि उत्साहबर्धक प्रसंग हो । नेपालले विगतमा उत्तरतिर सीमा झोडिएको चीनसितको बहुपक्षीय सम्बन्ध विस्तारलाई खासै महत्व नदिएर दक्षिणतिर सीमा जोडिएको भारतसित मात्र भरपर्दा भोगेका कठिनाइको ताजा उदाहरण त झण्डै आधावर्षको नाकाबन्दी नै छ । सतहमा हेर्दा नेपालको आन्तरिक विकासमा भारतीय सहयोगका अनगिन्ती उदाहरण भए पनि उसको हैकमवादी दृष्टिकोण र व्यवहारका त्यस्तै अनगिन्ती हर्कतले खडा गरेका समस्याहरूको जाँतो मुनी नेपाल निरन्तर पिसिँदैआएको कटु यथार्थबोध आम नेपालीले गरिरहेका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्नु अघि प्राथमिकतामा राखेर भारत भ्रमण गर्नुभएको अभिलेख भए पनि एउटा संयुक्त वक्तव्यसमेत निस्किन नसकेको स्थितिले इंगित गरेको जटिलता सहज बोधगम्य नै छ । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केन्द्रित रहेर भारत सरकारका प्रतिनिधि, निर्देशित रुपमा मुखवीर बनेर धारणा राख्ने कथित बुद्धिजीवी तथा सञ्चार माध्यमहरुबाट जे जस्ता अप्रीतिकर प्रतिक्रियाहरू आइरहेका छन् तिनले नेपाल चीनसम्बन्धको नयाँ आयामलाई सहज रुपमा स्वीकार गर्न नसकेको र दुराशयपूर्ण हर्कत देखाएको प्रष्टै इंगित भएको छ । नेपालले चीन र भारत दुवै छिमेकीसंग सार्वभौमिक समानताका आधारमा समनिकटताको सम्बन्ध स्थापित गर्नु नेपालको हितमा छ भन्ने आम नेपालीको बुझाइ छ । तर भारतले नेपालको आन्तरिक मामिला र अरू देशसितको सम्बन्धमा अनपेक्षित चासो राखेर बडपपन देखाउन नछोडेको  अहिले पनि अनुभूत भएको छ । नेपालले चीनसंग बहुआयामिक सम्बन्ध विस्तारको आकांक्षा राखेर प्रधानमन्त्री ओलीले सान्दर्भिक भ्रमणका अवसरमा जे जस्ता धारणा राख्नु भयो र सम्झौता र सहमति भए ती अत्यन्त महत्वपूृर्ण र दूरगामी परिणामदायी छन् । यो भ्रमणको उपलब्धि र सार्थकता निःसन्देह अप्रतिम छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)



 
::| Latest News

 
[Page Top]