युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 09:08pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नयाँ वर्षको आगमन
Tuesday, 04.12.2016, 01:26pm (GMT+5.5)

नयाँ वर्ष २०७३ भोलिदेखि सुरु हुँदैछ । नेपालको इतिहासमा अति कष्टकर वर्षका साथै नयाँ संविधान घोषणाको अभिलेख राखेको २०७२ सालले आज विदा लिँदैछ । ३ सय ६५ दिनको एउटा समयचक्र पूरा गरेपछि नयाँ सम्वत्सर फेरिन्छ र नयाँ वर्ष सुरू हुन्छ । नेपालमा विक्रम सम्वत् प्रचलनमा छ र हरेक वर्षको बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मानेर वर्ष पात्रो फेरिने क्रम चल्दैआएको छ । नयाँ वर्षको आगमनलाई विशेष उत्साह र उमंगकासाथ स्वागत गर्ने र एक आपासमा शुभकामनाको आदान प्रदान गर्ने परम्पराको निर्वाह हुँदैआएको छ । वितेका वर्षका उल्लेख्य घटनाहरूलाई अभिलेखमा राखेर नयाँ वर्षलाई विशेष अवसरका रूपमा ग्रहण गर्ने सकारात्मक र आशाप्रद धारणाको प्रवाह निरन्तर हुँदैआएको छ ।  हामी पनि  नयाँ वर्ष २०७३ प्रवेशको यो  क्षणमा समस्त नेपाली जनको समुन्नति, प्रगति र सुख–शान्तिको कामना गर्दै स्वाभिमान  नेपालको नव निर्माणका लागि राष्ट्रिय एकताको भावना सबल बनोस् र विधिको शासन कायम गर्दै देशले समुन्नति र समृद्दिको सुमार्ग पहिल्याओस् भन्ने हार्दिक कामना गर्दछौं ।

२०७२ सालले आजदेखि विदा लिँदैछ । बितेको यो वर्ष सम्पूर्ण नेपालीका लागि ठूलो कष्टदायी बन्यो । बैशाख १२ गते आएको महाभूकम्प र त्यसपछि लगातार रुपमा आएका पराकम्पनले हजारौं नेपालीको ज्यान लियो भने लाखौं नेपालीलाई घरबारबिहीन अवस्थामा पुर्यायो । कैयौं ऐतिहासिक स्मारकहरू क्षतविक्षत भए । राष्ट्रिय क्षतिको कुनै लेखाजोखा नै छैन । राजनीतिक स्थिरता र आर्थिक विकासको बाटो पहिल्याउन नसकेर विपन्नताको जञ्जिरमा बेरिएको दारूण स्थिति मुलुकले झेलिरहेकै बेलामा महाभूकम्पको प्राकृतिक प्रताडना असैह्य पीडा र वेदनाको नयाँ अभिलेख बन्न पुग्यो । खर्बौंखर्बको राष्ट्रिय क्षति मुलुकले बेहोर्नु प¥यो । त्यसै त कछुवा गतिमा रहेको राष्ट्रिय विकासको गतिलाई महाभूकम्पले झनै अवरूद्द पा¥यो । राष्ट्रिय शोक र क्षतिको यो अवस्थालाई नयाँ शक्ति निर्माण र राष्ट्रको पुनः निर्माणको अवसरमा बदल्ने प्रतीज्ञा गरिए पनि यथार्थमा त्यो परिणत हुन नसक्दा हाम्रो आन्तरिक क्षमताको निरीहता, सत्ताधारीहरूको जवाफदेहिताविहीन प्रवृत्ति र संकीर्ण राजनीतिक स्वार्थका हर्कतहरू झनै उदांग रूपमा प्रस्तुत भए । वैदेशिक चलखेल र हस्तक्षेपले पनि अनपेक्षित गति लियो । मानवीय संवेदना पनि गुम्दैगएको कटु अनुभूति यो क्षणले चर्को रूपमा गरायो । भूकम्पपछिको एक वर्षको अन्तरालमा पनि पीडित र बिस्थापित जनतालाई वाञ्छित र अपेक्षित सहायता उपलब्ध गराएर अविभाकत्व बोध गराउन राज्य पूरै विफल देखियो । भूकम्पपीडित क्षेत्रमा वाञ्छित मानवीय सेवा र पुनर्निर्माणले अझै गतिलिन सकेको छैन । २०७२ सालको अभिलेखमा रहेको यो प्रताडनालाई नेपाली जनताले सहजै विर्सिनसक्ने अवस्था छैन तापनि उज्यालो भविष्यका लागि सम्भावनाका द्वारहरू सदा खुला छन् भन्ने हाम्रो विश्वास छ । नयाँ वर्ष २०७३ ले मानवीय संवेदनशीलतालाई अनुभूत गराउँदै पुनर्निर्माणको गति लिन प्रेरित गरोस्– हाम्रो यही कामना छ ।

२०७२ सालको अभिलेखमा रहेको अर्को ठूलो पीडा भारतले नेपालविरूद्ध अघोषित रूपमा पाँच महिनासम्म लगाएको नाकाबन्दी नै हो । नेपाल महाभूकम्पले थिलोथिलो परेको बेला घाउमा नूनचूक दल्ने गरी भारतीय सत्ताधारी वर्गले नेपाली जनताको ढन्नेसो नै भाच्ने गरी नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानून र मर्यादाको ठाडो उल्लंघन गर्दै अमानवीय हर्कत देखाएर नेपाली जनतालाई दिनुसम्म दुःख दियो । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा आफ्नो स्वामित्त्व स्थापना गर्न निरन्तर प्रयत्नशील रहँदैआएको भारतले  उसको निर्देशन विपरीत गएर नेपालले नयाँ संविधान जारी गरेको अवस्थालाई सहन गर्न नसकेर चालेको अमैत्रिपूर्ण घातक कदमले नेपालको आर्थिक विकासको मन्द गतिलाई अधोगतितिर धकेलिदियो । नेपालले भारत निर्भरताको चंगुलबाट मुक्त हुन गरेका पछिल्ला प्रयासहरूबाट भारतीय सत्ताधारीहरू झनै रुष्ट देखिएका छन् र अन्तर्राष्ट्रिय क्षेत्रमा हारगुहार गर्दै आफ्ना कुत्सित मनसाय प्रदर्शन गर्दैछन् । विभाजनकारी मानसिकताको बीजारोपण गरेर नेपालको आन्तरिक परिस्थितिलाई तरंगित र अस्थिर बनाइरहने खेलहरूको निरन्तरताले नेपालको स्वाधिनता, राष्ट्रिय एकता र अखण्डतालाई नै चुनौति दिइरहेको पृष्ठभूमिमा नेपाललाई शिर ठाडो बनाएर उभिन नदिन चालिएका हस्तक्षेपकारी कदमहरू विरुद्ध एकीकृत हुँदैगएको नेपाली मानसिकतालाई नयाँ वर्ष २०७३ ले नयाँ उर्जा दिने र राष्ट्रिय एकताको भावना अरु मजबुत पार्ने सन्देश प्रवाह गर्ने विश्वास जागृत  भएको छ । पराधिन मानसिकताविरुद्ध राष्ट्रिय जागरणले अभियानको रुप लिइरहेको छ । नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा यो सुखद सन्देश हो ।

नेपालको नयाँ संविधान (२०७२ सालको विशेष उपलब्धिका रुपमा अभिलेखित बन्नपुगेको छ । यो संविधानको कार्यान्वयनमा अनेक जटिलता देखिएका छन् तापनि नेपाललाई विधिको शासनको बाटोमा डोर्याउने यो वैधानिक आधार बनेको छ । वैदेशिक चलखेल र हस्तक्षेपका अनेक चरणबाट गुज्रँदैआएको नेपालले राष्ट्रिय मार्गचित्र निर्माण गर्न अझै धेरै राजनीतिक कसरत गर्नुपर्ने चुनौतिपूर्ण अवस्था विद्यमान छ तापनि राष्ट्रिय जागरणको लहर सुरू भैसकेकाले आत्मनिर्णयको अधिकार सुरक्षित गर्दै नेपाल अघि बढ्ने विश्वास नेपाली जनतामा पलाइरहेको छ । नयाँ वर्ष २०७३ को आगमन समस्त नेपालीका लागि सुखद बनोस्- हाम्रो हार्दिक कामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)



 
::| Latest News

 
[Page Top]