युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.17.2019, 05:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अस्थिरताको अर्को सृङ्खला
Tuesday, 07.19.2016, 10:28am (GMT+5.5)

वर्तमान सत्ता गठबन्धनबाट  नेकपा माओवादी केन्द्रको अप्रत्याशित बहिर्गमनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थितिको जन्म भएको छ । मुलुकलाई पुनः अन्योल र अस्थिरताको भूमरीमा फँसाउने गरी सिर्जित भएको यो घटनाका  अन्तर्नि्हित कारण के हुन् र यसमा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता के कति छ भन्नेबारे अनेकथरि चर्चा र बहसहरू भैरहेको देखिन्छ । मुलुकमा अहिले जुन धारको राजनीति चलिरहेको छ त्यसको मार्गचित्र स्वदेशमा बनेको नभै बाह्यशक्तिकै प्रत्यक्ष संलग्नतामा बनेको तथ्य आमस्वीकार्य जस्तै छ भने नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा घुमिफिरी बाह्यशक्तिकै हस्तक्षेपकारी एवं निर्देशनात्मक भूमिका स्थापित गर्ने खालका गतिविधि निरन्तर चलिरहेको पनि जगजाहेर नै छ । वर्तमान सत्ता गठबन्धन र यसले निर्धारण गर्न खोजेको गन्तव्य आफ्ना लागि अस्वीकार्य भएकाले भारतले यो गठबन्धन टुटाउन र आफूलाई अनुकूल हुने गरी नयाँ सत्तासमीकरण बनाउन विगत केही महिनादेखि कसरत गरिरहेको आम बुझाइ रहेको सन्दर्भमा अहिले ऊ आफ्नो रणनीतिक सफलताको नजिक पुगिरहेको विकसित घटनाक्रमले नै इंगित गरिरहेको छ । नेपालमा पूर्णतः आफ्नो निर्देशनमा चल्ने सरकार स्थापनाका लागि भारतले नितन्तर चलखेल गर्ने गरेको र त्यो कसरत सफल हुनासाथ नेपालले  दीर्घकालसम्म अहित हुने थुप्रै कुराहरू बेहोर्नुपरेको ऐेतिहासिक पृष्ठभूमि रहेको सन्दर्भमा अहिलेको कसरतले नेपाललाई कुन नियतिको शिकार बनाउने हो भन्ने आशंका स्वतः जन्माइरहेको छ ।

नेपालमा स्थायी र कामकाजी सरकार अकल्पनीय बनिरहेको छ । सरकारलाई सधैं अस्थिर बनाइरहने र नेताहरूलाई सत्ताको हरियो घाँस देखाएर लोभ्याउँदै अन्योल, अनिश्चितता र अस्थिरता कायम गरिरहने सुनियोजित षड्यन्त्रका लागि उपयोग गरिरहने जुन गतिविधि निरन्तर चलिरहेको छ अहिलेको घटना पनि त्यसैको उपज हो । पात्रहरू बेला बेलामा परिवर्तन हुने गर्दछन् तर प्रायोजित घटनाक्रमले भने निरन्तरता पाइरहेको हुन्छ । सत्तास्वार्थ वृत्तमा घुमिरहेका कुनै पनि दलका कुनै पनि नेताहरू बेलाबखत वैदेशिक शक्तिको उपयोगमा नआएका उदाहरण नै भेटिन गाह्रो छ । हुँदाहुँदा अहिले त संवैधानिक संरचना नै यस्तो बनेको छ कि बहुमतीय स्थिर सरकार बनाउन कुनै पनि दल सफल नहुने निश्चित गरिएको छ । संविधानसभाबाट निर्मित संविधानको जसले जति नै बखान गरे पनि नेपालमा स्थायी सरकार बन्न नदिने र झिना मसिना कुरा उठाएर सरकार गिराउने र बनाउने खेलमा नै  सत्ताकांक्षी दलहरू अल्झिइरहने अवस्थाको सिर्जना संविधानभित्रैबाट भएको छ । वैदेशिक शक्तिको मार्गचित्र स्वीकार गरेर राष्ट्रिय राजनीतिलाई धरातलीय यथार्थअनुरूप परिचालित गर्ने जुन भ्रम खडा गरिएको छ वास्तवमा त्यो नै मुलुकका लागि नितान्त प्रतिकूल रहेको विकसित घटनाक्रमले सिद्ध गर्दैआएको छ । अब त शंकाको लाभ लिनसक्ने अवस्था पनि बाँकी रहेको छैन । सरकार बनाउने र गिराउने सुनियोजित क्रमले राजनीतिक स्थयित्व, राष्ट्रिय विकास र समृद्ध नेपाल निर्माणको आमनेपाली चाहनालाई निरन्तर कुठाराघात गरिरहेको छ । अहिले चलिरहेको सरकार गिराउने र नयाँ सरकार बनाउने जुन खेल निर्देशित रुपमा चलिरहेको छ त्यो त्यही शृङ्खलाको एउटा दृश्य मात्र हो भन्ने कुरामा कुनै सन्देह छैन ।

नेपाल अहिले अन्तर्राष्ट्रिय चासोको एउटा केन्द्र बनिरहेको छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनदेखि लिएर सरकार गिराउने र बनाउने खेलमा वैदेशिक शक्तिकेन्द्रहरूको प्रत्यक्ष–परोक्ष संलग्नताका अनेक चर्चा परिचर्चाले सञ्चार माध्यमहरूमा स्थान ओगटिरहेका छन् । नेपाल वैदेशिक शक्तिहरूको प्रयोगशाला र प्रतिद्वन्द्विताको मैदान बनिरहेको भन्दै विचार–विश्लेषणका शृङ्खलाहरू पनि चलिरहेका छन् । समष्टिगत रुपमा हेर्दा नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनतामाथि नै आँच आउने प्रकृतिका अनेक घटनाहरू प्रायोजित भैरहेका छन् भने त्यस्ता गतिविधिको विस्तारका लागि यहाँका राजनीतिक शक्तिहरू नै क्रमबद्ध भएर उपयोग भैरहेको दुर्दान्त नियति यो मुलुकले भोगिरहेको छ । नेपालको हरेक क्षेत्रमा एकाधिकारको स्थापना चाहने छिमेकी भारतको परम्परागत चरित्रले नेपालको राजनीतिक मञ्चमा प्रायोजन गरेका दृश्यावलीहरूका दुषित परिणामहरू एकपछि अर्को गर्दै उजागर हुँदैआएका भए पनि त्यसबाट सावधान रहेर आत्मनिर्णयको अधिकार उपयोगका लागि वाञ्छित वातावरण सिर्जना गर्ने राजनीतिक कसरत मुलुकभित्र हुन नसक्दा देश दिन प्रतिदिन कमजोर र निरिह बन्दैगएको छ । अहिलेको सरकार गिराउने र नयाँ समीकरणको सरकार बनाउने जुन  निर्देशित खेल अहिले चलिरहेको छ त्यसले मुलुकलाई स्थायित्वतिर होइन अस्थिरता र अनिश्चिततातिर  नै  घकेलिरहेको सन्देश प्रवाह गरेको छ । अहिलेको सरकार जुन शक्तिको प्रहार खपेर बहिर्गमनको दिशातिर घचेटिएको छ भोलि बन्ने सरकार पनि त्यही नियतिको शिकार बन्ने निश्चित नै छ । यस्तो नियमित आकस्मिकताले नेपालको भविष्य निकै जोखिमपूर्ण बन्दैगएको सन्देश प्रवाह गरिरहेको हाम्रो ठम्याइ छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)



 
::| Latest News

 
[Page Top]