युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 08:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सत्ता राजनीतिको नयाँ मोड
Tuesday, 07.26.2016, 12:07pm (GMT+5.5)

नेपालको सत्ता राजनीति अन्त्यहीन अस्थिरता र अनिश्चितताको गोरेटो पच्छ्याउँदै नयाँ मोडमा पुगेको छ । नयाँ संविधान जारी भएपछि नौ महिना अगाडि नेकपा एमालेका नेता केपी शर्मा ओलीको नेतृत्वमा गठित बहुमतीय सरकारबाट प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सत्ता बहिर्गमन गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग मिलेर सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेको ओली सरकार विस्थापनको संघारमा पुगेको पृष्ठभूमिमा संसदमा अविश्वासको प्रस्ताव माथि छलफल सकिएपछि आफू विरुद्ध लागेका आरोपको जवाफ दिएर पदबाट राजिनामा दिएको घोषणा गरी प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको बाटो खुला गर्नुभएको छ । मुलुकले अब पुनः एक पटक  अल्पावधिको अस्थिर सरकार बेहोर्नुपर्ने स्थितिको सिर्जना भएको छ । नयाँ संविधान बनेपछि मुलुकले विधिको शासनको सुनिश्चित बाटो समात्ला अनि देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्ला भनी जनताले अपेक्षा गरे पनि त्यो मृगतृष्णामा परिणत हुँदैगएको र चाँडो चाँडो सरकार परिवर्तन एवं अस्थिरता सिर्जना गर्ने प्रक्षेपित र प्रायोजित खेलहरूले निरन्तरता पाइरहने अवस्था पुनः दोहोरिएको स्थितिबोध विकसित घटनाक्रमले इंगित गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अर्को हप्तासम्म नयाँ सरकार बन्ने निश्चित जस्तै भए पनि त्यसलाई नजन्मदै अल्पायुको सरकारको रुपमा हेर्नुपर्ने धारणा बनिसकेको छ । डेढ वर्षभित्रमा आलोपालो गरी दुइटा सरकार बन्ने खाका तयार भैसकेको छ । सत्ता परिवर्तनका प्रायोजित नियमित खेलले मुलुकलाई सुनिश्चित गन्तव्यतिर जानबाट रोक्ने र अन्त्यहीन अस्थिरतातिर घचेटिरहने सुनियोजित क्रमले यो मुलुकलाई कुन नियतिको शिकार बनाउने हो भन्ने चिन्ता पुनः जागृत भएको छ ।

भनिन्छ– सवै नीतिको मूल नीति राजनीति हो । जबसम्म देशको मूलधारको राजनीति नै निरन्तर धमिलिइरहन्छ र पथविचलित भैरहन्छ तबसम्म सत्ता राजनीतिका निम्ति हुने गरेका विकृतिजन्य अभ्यासहरू मौलाइरहेका नै हुन्छन् । मुलुकले राजनीतिक रुपान्तरणको जुनबाटो अहिले समातेको छ र पुनर्संरचनाका जुन खाकाहरू तयार भएका छन् ती आफैंमा समस्याका मुहान बन्दैगएका छन् । मुलुक सधैं जसो परचक्रीको प्रयोग थलो बन्दैगएको र अरूकै प्रायोजनमा प्रक्षेपित हुने राजनीतिक खेलहरूले  राष्ट्रिय राजनीति धरातलीय यथार्थबाट टाढिँदै अस्थिरता र अनिश्चिततातिर अगाडि बढिरहेको पूर्ण आभास भैरहेको छ । सरकार परिवर्तनका क्रममा उछालिने गरेका आन्तरिक कारणहरु जे जे भए पनि अन्तर्निहित कारण भने बाह्यशक्तिकै चलखेल र हस्तक्षेपकारी भूमिका रहने गरेको कटु यथार्थबोध अहिलेको प्रकरणले पनि उत्तिकै ताजा गराएको छ । राष्ट्रिय राजनीतिमा आत्मनिर्णयको अधिकार स्थापनाका यावत् प्रयासहरू निरन्तर असफल हुने जुन क्रम बसेकाको छ त्यसविरुद्ध एकजुट भएर उभिने सम्भावनालाई क्षणिक सत्तास्वार्थका लागि वैदेशिक शक्तिसामु घुँडा टेक्ने सत्तालोलुप नेताहरूको स्वाभिमानहीन चरित्रले नै तुहाउँदै आएको छ । राष्ट्रिय चिन्तनधारबाट स्खलित हुँदैगएको मूलधारको राजनीतिले  यो मुलुकलाई  हरेक क्षेत्रमा परनिर्भरता बढाउँदै अन्ततः पराधीनताको अकल्पनीय दिशातिर घचेटिरहेको त छैन भन्ने चिन्ता स्वतः जन्माएको छ ।

सरसर्ती हेर्दा बहुदलीय व्यवस्थामा दलहरूबीच सत्ता फेरबदलका खेलहरू नियमित रुपमा चलिरहन्छन् र यसलाई स्वाभाविक रूपमा लिनुपर्छ भन्ने गरिए पनि नेपालको आन्तरिक राजनीतिक परिचालन, परिवर्तन र सत्ता परिवर्तनको खेलमा छिमेकी भारतको प्रत्यक्ष संलग्नताका कुराहरू निरन्तर चर्चावृत्तमा रहने गरेका छन् । आफ्नो एकल प्रभाव क्षेत्रका रूपमा नेपाललाई उपयोग र उपभोग गर्न निरन्तर अभ्यासरत रहेको  भारतले नेपालको अर्को छिमेकी देश चीनसंग बहुपक्षीय सम्बन्ध विस्तारको रचनात्मक प्रयासलाई फुटेको आँखाले पनि हेर्न नचाहेको र नेपालको सत्ता राजनीतिलाई आफ्नो पकडमा राखेर एकल स्वार्थका खेलहरूलाई निरन्तरता दिइरहने आकाङ्क्षा राखेर नै अनेक चलखेल गरिरहेको आरोप सधैंजसो लागिरहनुको कारण पनि यही नै हो । भारतको हस्तक्षेपकारी गतिविधिको विरोध र नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान एवं राष्ट्रको समग्रहितका पक्षमा उठ्ने गरेका आवाजलाई कसैले सम्भ्रान्त राष्ट्रवाद, कसैले अन्ध राष्ट्रवाद र कसैले सडेगलेको राष्ट्रवाद भनेर भारतको तावेदारी गर्ने जुन कुसंस्कार बसेको छ ओली सरकार विस्थापन गर्ने क्रममा पनि त्यसले निरन्तरता पाएको प्रष्टै देखिएको छ । नेपालको आन्तरिक राजनीति भारतको प्रक्षेपित खेलको घनचक्करमा फस्दै मात्र  गएको छ भने भोलि बन्ने सरकारले पनि विद्यमान यस्ता विकृतिको निराकरण गर्नसक्ने  दृष्टिकोण र क्षमता राख्ने कुनै सम्भावना नरहेकाले मुलुक थप संकटको दिशातिर धकेलिने र अरू कमजोर बन्ने कुरा आमचिन्ताको विषय बनेको छ । सत्ता राजनीतिको नयाँ मोडले मुलुकलाई जनअपेक्षित नयाँ दिशामा हाँक्नसक्ने सम्भावना कमै रहेको आभास हुनु नै भावी सरकारका सामु खडा भएको सर्वाधिक ठूलो चुनौति हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)



 
::| Latest News

 
[Page Top]