युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू
Tuesday, 08.09.2016, 12:01pm (GMT+5.5)

नेपालको अस्थिर सत्ता राजनीतिले नयाँ मोड लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नौ महिनाको कार्यकाल तोकेर पुनः प्रधानमन्त्री बन्नुभएको छ । यस अघिको प्रमुख विपक्षी दल नेपाली कांग्रेससंग रसायन मिलेपछि दोहोर्याएर प्रधानमन्त्री बन्ने उहाँ पहिलो कम्युनिष्ट नेता हुनुभएको छ । सैद्धान्तिक निष्ठा र राजनीतिक नैतिकताको खडेरी परेको बेला अपवित्र गठबन्धनको शृङ्खला चलिरहेको छ । ६०१ जना सदस्य संख्या रहेको व्यवस्थापिका संसदमा माओवादी केन्द्रको संख्या केवल ८३  रहेकाले तेस्रो हैसियतमा रहे पनि चतुर राजनीतिक खेलाडीका रुपमा क. प्रचण्ड पुनः सत्ताको शिखरमा पुग्न सफल हुनुभएको छ । उहाँ पहिलोपटक प्रधानमन्त्री हुँदा संसदमा उहाँको दल पहिलो स्थानमा थियो भने उहाँसंग जनताले देश र जनताका लागि सकारात्मक र सिर्जनात्मक काम हुने ठूलो अपेक्षा  पनि गरेका थिए । तर उहाँको कार्यशैली र नियतिको खेलले गर्दा नौ महिनामै उहाँ आफैं राजिनामा गरेर सत्ताबाट बाहिरिनु भयो । जनताले आफ्नो पक्षमा सकारात्मक अनुभूति हुने गरी कुनै काम भएको देख्न पाएनन् । दश–दश वर्षसम्म सशस्त्र जनयुद्ध चलाएर नेपालको आन्तरिक राजनीतिक अवस्थितिलाई आमूल परिवर्तनकारी दिशातिर मोड्न सफल रहनुभएको प्रतीत भए पनि देशको अस्थिर राजनीतिमा सुधार ल्याउन र जनताको जीवनस्तर माथि उठाउन उहाँको भूमिका अनुभूत हुन सकेन । उहाँ अहिले दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि जनतामा कुनै उत्साह, भरोशा र विश्वासको वातावरण सिर्जित हुनसकेको छैन । उहाँ संसदीय व्यवस्थामा झाँगिएका विकृतिहरूलाई नै वरण गरेर सत्ता संघर्षको खेलमा होमिनुभएकाले उहाँले अबको नौ महिनामा देश र जनताको पक्षमा रचनात्मक योगदान दिनसक्ने सम्भावना कसैले देखेका छैनन् । जनमानसमा व्याप्त निराशा र अस्थिर सत्ता राजनीतिबाट उत्पन्न विकार हटाउन कसरत गर्नुभन्दा नौ महिनासम्म गठबन्धनको सत्तालाई कसरी जोगाउने र चलाउने भन्ने कुरामा नै उहाँको महत्वपूर्ण समय खर्चिनुपर्ने यथेष्ट संकेतहरू अहिले नै देखा परिसकेका छन् । सत्ता राजनीतिभित्र पन्पिएको विकारले मुलुकलाई विकराल अवस्थामा पुर्याइसकेको छ ।

नेपालको आन्तरिक सत्ता राजनीति बाह्यशक्तिको खटनपटनमा चल्ने गरेको र ओली सरकारको अप्रत्याशित बहिर्गमनदेखि लिएर वर्तमान सत्ता समीकरणमा पनि उही शक्तिको निर्देशनात्मक एवं आदेशात्मक भूमिका रहेको नेपाली जनमानसमा स्थापित विश्वासले दाहाल नेतृत्त्वको नयाँ सरकारलाई सुरूदेखि नै अग्नि–परीक्षाको घडीमा उतारेको छ । नेपालको आन्तरिक राजनीतिलाई सधैं गिजोलेर अस्थिर बनाइरहने र अनेक प्रकृतिका प्रयोगहरू गरेर यो देशको हुर्मत लिने जुन काम बाह्यशक्तिले निरन्तर गरिरहेको छ उसैको कठपुतली बनेर सत्ताको खेलमा सामेल हुनेहरूबाट मुलुक निरन्तर मर्माहत भइरहेको कुरा आज देशभक्त हरेक नागरिकको मुखबाट उच्चारित हुने गरेको छ । लोकतन्त्रमा जनताको सर्वोच्चता स्थापित हुनुपर्नेमा नेपालको समग्र हितको विपक्षमा उभिएको बाह्यशक्तिकै सर्वोच्चता स्वीकार गरेर हुने गरेका कुनै पनि परिवर्तनले देशलाई शान्ति, स्थिरता र अमन चैनको बाटोतिर निर्देशित गर्न नसक्ने तथ्यको उद्घाटन नेपालमा बारम्बार भैरहेको भए तापनि कोर्स करेक्सनको बाटोतिरका प्रयासहरू विफल हुँदैजाने र प्रकारान्तरले निर्देशित खेलहरू सफल हुँदैजाने स्थितिले देशलाई ठूलो धरापमा परेको छ । देशमा नयाँ सरकार स्थापित हुँदा अब त यो सरकारले केही गर्छ कि भनेर आशा गर्नुभन्दा बाह्यशक्तिकै रणनीतिक उपयोगमा आएर अनर्थका अनेक कुराहरू हुने हुन् कि भन्ने आशंका घनीभूत हुँदैजानु ठूलो बिडम्बना हो । 

नयाँ प्रधानमन्त्री र  समग्रतामा नयाँ सरकारका सामु चुनौतिका पहाडहरू खडा रहेका छन् । पहिलो कुरा त नयाँ सरकारले पूर्णता नपाउँदै दिनगन्तीका चर्चाहरू निरन्तर प्रवाहित हुनथालेका छन् । सत्ता गठबन्धनमा सामेल प्रायः सवै दलभित्र गुटगत भागबण्डाको खिचलो एकातिर छ भने अर्कातिर कामका लागि नभै पद हत्याउने र सत्ता सुखभोग गर्ने महत्वाकांक्षी जमातको कसरतको प्रभाव पनि कम छैन । देश अहिले डुब्नैलागेको अवस्थामा पुगेको धारणा प्रायः सवै दलका नेताहरूले औपचारिक–अनौपचारिक रूपमा राख्ने गरेका भए पनि सत्तालाई मात्र केन्द्रबिन्दुमा राखेर चलायमान हुने प्रवृतिको चरम विकास भएकाले मुलुकका प्रमुख मुद्दाहरू सम्बोधित नै हुनपाएका छैनन् । राजनीतिक रन्थमोलले मुलुकको सामाजिक सद्भाव टुटाउने, अर्थ व्यवस्थालाई जर्जर पार्ने, आन्तरिक कलह बढाउने, विकास गतिविधिलाई शून्यबिन्दुतिर धकेल्ने र अन्ततः मुलुकको अस्तित्वमा नै आँच पुर्याउने प्रकृतिका आशंकापूर्ण गतिविधिको प्रायोजनलाई प्रेरित गरिरहेको अवस्था छ । तर सत्तावृत्तमा मात्रै घुमिरहने राजनीतिक नेताहरूको प्रवृत्तिले यस्ता गम्भीर र संवेदनशील पक्षमा पटक्कै ध्यान पुर्याएको देखिँदैन । यहाँ देशको हितमा कसैले वाचाल बनेर कुरा उठायो भने उल्टै आरोप खेप्नुपर्ने दुर्दान्त अवस्था सिर्जित हुन्छ । अरूको नून खाएर बम्कनेहरू लाभान्वित हुँदैजाने क्रम बसिरहेकाले देश निरन्तर ओरालो लागिरहेको अवस्था छ । यो अनर्थपूर्ण स्थितिलाई उल्ट्याएर देश र जनतालाई शिर ठाडो पारेर हिड्नसक्ने अवस्थामा पुर्याउने भरपर्दो सरकार नेपाली जनताले चाहेका छन् । बाह्यशक्तिको रणनीतिक स्वार्थबाट निर्देशित र अपवित्र गठबन्धनबाट निर्मित भनी सुरूमै आलोचित हुनपुगेको सरकारका सामु संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विकास गतिविधिको परिचालन, कुटनीतिक सम्बन्धमा सन्तुलनका कुरादेखि लिएर भ्रष्टाचार, कालोबजार र अनियन्त्रित मूल्यवृद्धिको नियन्त्रणसम्मका चुनौति खडा छन् । सरकारसंग इच्छाशक्ति भएमा नौ महिनाको  म्यादभित्र पनि  सकारात्मक धेरै काम हुनसक्छन् । नयाँ सरकारले केही त गरेर देखाउनसकोस्– हाम्रो शुभकामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)



 
::| Latest News

 
[Page Top]