युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
देशभक्त नेपालीको चाहना
Tuesday, 08.16.2016, 12:25pm (GMT+5.5)

पुष्पकमल दाहाल’प्रचण्ड’को नेतृत्वमा माओवादी केन्द्र र नेपाली कांग्रेसको सहकार्य एवं मधेशी मोर्चा लगायतका दलहरूको समर्थनमा नयाँ सरकार बनेपछि नेपालका दुई छिमेकी देश चीन र भारतसंगको सम्बन्धले कुन रुप र गति लिन्छ भन्ने कुरा आम चासो र सरोकारको विषय बनेको छ । पूर्ववर्ती केपी ओली सरकार विस्थापित हुँदा यसमा भारतको चासो र संलग्नताको कुरा नेपालको राजनीतिक वृत्तमा मात्र नभै आमजनमानसमा पनि गहन चर्चा र बहसको पनि विषय बनेको थियो भने त्यस्ता चर्चा र बहसहरू अहिले पनि जारी नै छन् । प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्ण आकार दिन र परराष्ट्रमन्त्री समेत तोक्न नभ्याउँदै चीन र भारत दुवै देशमा उपप्रधानमन्त्री तहमा प्रतिनिधि पठाएर सन्तुलित कुटनीतिक सम्बन्ध विस्तारका लागि रचनात्मक पहल सुरू गरेको सन्देश दिन खोज्नुभएको प्रष्ट आभास छ । बेजिङ् र नयाँदिल्ली दुबै ठाउँका कुटनीतिक नियोगहरूमा राजदूत समेत खाली रहेको अवस्थामा गरिएको चालिएको यो कदमले कस्तो नतिजा ल्याउला र नेपालले अपेक्षा गरे अनुरूपको सन्तुलित सम्बन्ध कसरी परिभाषित होला त्यो त भविष्यले नै बताउला । तर यतिखेर नेपालको कुटनीति जुन दिशाहीन र गन्तव्यहीन अवस्था बोधगराउने गरी परिचालित छ त्यसले भावनात्मक उत्तेजनाका भरमा वाञ्छित परिणाम दिनसक्ने कुरामा भने सहजै विश्वास पैदा हुनसक्ने स्थिति छैन । सुरूमै नौ महिने म्यादी सरकारको रूपमा चर्चित भैरहेको सरकारले कुन रूप लिन्छ ? यसमा कांग्रेसको साझेदारिता कुन रुपको हुन्छ ? कुन कुन दल यसमा सहभागी हुन्छन् ? र मधेशी मोर्चा सरकारमा सामेल हुन्छ हुँदैन भन्ने प्रष्टचित्र आउन बाँकी नै रहेको र गठबन्धन सरकारको साझा कार्यक्रम र कार्यदिशा किटान हुन बाँकी नै रहेको अवस्थामा वाञ्छित परिणामदायी नतिजाको अपेक्षा गर्नु पनि सायद हतार नै हुनेछ तर पनि यो कदम कुटनीतिक सन्तुलनकै दिशातिर उन्मुख हो भने त्यसलाई सकारात्मक रुपमा नै गर्नुपर्ने हुन्छ ।

नेपालको दुवै छिमेकी मित्रराष्ट्र चीन र भारतसंग समानस्तरको सम्बन्ध कायम हुनुपर्छ भन्ने कुरामा कुनै सन्देह छैन । तर समयक्रम र विकसित घटनाक्रमले जे जे कुरा देखाउँदै आएका छन् तिनलाई पूरै नकेलाई र समुचित विश्लेषण नगरी केवल मनोगत धारणा राखेर समदूरी वा समनिकटताको सम्बन्ध कदापि परिचालित हुनसक्ने छैन । नेपाल भारत सम्बन्धका बारेमा अहिलेसम्म जति निकटताका कुराहरू हुने गरेका छन् ती प्रायः कतै प्रक्षेपित त कतै मनोगत धारणाले ग्रस्त छन् । भूपरिबेष्ठित नेपाललाई सधैँ भारतबेष्ठित बनाउने अहिलेसम्मका गतिविधिहरूले नेपालको राजनीतिक स्थायित्व, आर्थिक–सामाजिक विकास र कुटनीतिक सम्बन्ध परिचालन जस्ता क्षेत्रमा उपलब्धिभन्दा समस्या र जटिलता बढ्दैगएको नेपालको निरन्तर खस्किँदो अवस्थाले नै प्रष्ट इंगित गरेको छ । नेपालको स्वाधीनता, अखण्डता र एकताको रक्षाका लागि भारतसितको परम्परागत सम्बन्ध र हालसम्मका गतिविधिहरू नितान्त चुनौतिपूर्ण बनेका छन् भने बीचबीचमा उत्पन्न भएका समस्याले यसमा दृष्टिकोणगत र व्यवहारगत परिवर्तनको खाँचो रहेको टड्कारै रूपमा देखिएको छ । जहाँसम्म चीनसितको सम्बन्धको कुरा छ त्यसमा यस्ता समस्या छैनन् । चीनसित नेपालको सम्बन्ध पूर्णतः सहअस्तित्व, सद्भावपूर्ण सहयोग र पारस्परिक विश्वासको जगमा परिचालित छ । मात्र खाँचो समयसापेक्ष गति दिन र बहुआयामिक रूप दिनुकै मात्र छ । नेपालको वैदेशिक सम्बन्ध परिचालनमा दीर्घकालीन राष्ट्रिय दृष्टिकोण स्थापित भैनसकेको र सत्तावृत्तमा परिक्रमा गर्नेहरू बाह्य प्रभावमा बहकिने प्रवृत्ति कायमै रहेकाले समस्याहरू झनै घनिभूत हुँदैगएका छन् । समस्याको निदान खोज्ने रचनात्मक प्रयासको थालनी नै भएको छैन । यो नै कटु यथार्थ हो ।

प्रचण्ड सरकार भारतको रणनीतिक स्वार्थको उपज हो भन्ने आरोप कति वास्तविक र कति कल्पित हो भन्ने कुरा यो सरकारको गतिविधिले निकट भविष्यमा नै देखाउने छ । नेपालमा नयाँ सम्विधान जारी हुनासाथ भारतले देखाएको असन्तुष्टि र नेपाललाई पाठ सिकाउन लामो समयसम्म गरेको अघोषित नाकाबन्दीका दुष्परिणामहरू नेपाली जनताले अझै भोगिरहेका छन् भने भविष्य पनि आशंकामुक्त छैन । आफ्नो निर्देशित मार्गचित्रमा हिंड्न नचाहने सत्तालाई भारतले फुटेको आँखाले पनि हेर्न चाहँदैन र त्यसको विस्थापनका लागि दृश्य–अदृश्य अनेक कदम चाल्न पछिपर्दैन भन्ने कुरा खुला किताब नै बनिसकेको छ । चिस्सिएको सम्बन्ध न्यानो बनाउने नाममा नेपालले कुन कुन क्षेत्रमा के के बलिदान दिनुपर्ने भन्ने आशंका नेपाली जनताको मनमा सधैँ रहिरहेको छ । अहिले सम्बन्ध सुधारका नाममा प्रचण्ड सरकारले आत्मसमर्पणको बाटो कदापि नअपनाओस्– देशभक्त नेपाली जनताको अहिलेको चाहना यत्तिमात्र हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)



 
::| Latest News

 
[Page Top]