युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू
Tuesday, 09.20.2016, 02:25pm (GMT+5.5)

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको चार दिने राजकीय भ्रमण पूरा गरी गत आइतवार स्वदेश फर्किनुभएको छ । नेपालमा भने उहाँको हालै सम्पन्न भारत भ्रमणका विविध पक्षवारे गहन चर्चा र बहस चलिरहेको छ । प्रधानमन्त्री दाहालले भारत भ्रमणका अवसरमा आफ्ना समकक्षी नरेन्द्र मोदीसंग दिल खोलेर कुरा भएको र हिजोसम्म रहेको तिक्तता सवै मेटिएर नेपाल भारत सम्बन्धले नयाँ उच्चाइ पाएको दावीसमेत गर्नुभएको छ । भ्रमणमा रहँदा भारतले उहाँको ठूलो खातिरदारी गर्याे– उहाँलाई राष्ट्रपति भवनमै राखियो । विदेश मन्त्री सुषमा स्वराजले  दिल्ली विमानस्थलमै लिन आएर स्वागत गर्नु भयो । राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर उपराष्ट्रपति  हमिद, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरूण जेटली, उर्जा राज्यमन्त्री पीयूष गोयल, विहारका मुख्यमन्त्री नीतिशकुमार हुँदै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोवलसंग समेत उहाँको भेटवार्ता भएको खवर प्रसारण गरियो । दुई देशबीच तीन बुँदे सहमतिदेखि लिएर २५ बुँदे संयुक्त प्रेस विज्ञप्तिका कुरा प्रकाशमा आए । विगतमा प्रधानमन्त्री तहमा भएका भ्रमणहरूमा जस्तै अहिले पनि यो भ्रमण नितान्त सफल रहेको र नेपाल र भारतबीच कुनै असमझदारी बाँकी नरहेको दावीसहितको औपचारिक कथनलाई प्रधानमन्त्री दाहालले पनि दोहोर्याउनु भयो । सतहमा हेर्दा उच्च राजनयिक तहमा हुने यस्ता भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारमा ठूलो योगदान दिनेगरेको देखिन्छ तापनि गहिरिएर हेर्दा वास्तविक समस्यामाथि पर्दा हाल्ने र शब्दाडम्बरमा नै मित्रतालाई कैंद गर्ने गरिएको तीतो अनुभव यस पटक पनि दोहोरियो । नेपाल र भारतलाई प्रकृति र संस्कृतिले जति निकट देखाएको छ राजनीति र कुटनीतिले त्यत्तिकै दूरी बढाएको छ र भरविश्वासभन्दा आशंका र सन्देहको बादल निरन्तर मडारिने गरेको छ ।  राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र आन्तरिक एकतामाथि नै आँच आउने प्रकृतिका अनेक सन्धि–सम्झौता र समझदारीको बोझले नेपाल निरन्तर थिचिँदैआएको क्रममा यस पटक प्रधानमन्त्री दाहालबाट भएको भ्रमणले पनि केही बोझ थपेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध परिचालनमा भारतसित सहकार्यको समझदारीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई नै विचलित बनाएर भारतको पिछलग्गु बन्ने अवस्थातिर निर्देश गरेको छ । यो यस पटकको भ्रमणले थपेको  अनर्थकारी ठूलो बोझ हो । भारतले आफ्नो नीति निर्देशनबाट बन्ने गरेका सरकारबाट सधैं अवाञ्छित लाभ उठाउने गरेको इतिहासमा नयाँ अध्याय थपिएको छ । यो ठूलो पीडादायी पक्ष हो ।

प्रधानमन्त्री दाहालको यस पटकको भ्रमणका अवसरमा पनि भारतले नेपालमा शान्ति, स्थिरता र समृद्धि चाहेको र त्यसका लागि हरतरहले सहयोग गर्न तयार रहेको पुरानै रटान दोहोर्याएको छ । तर इतिहासले सिद्ध गरेको तथ्य के हो भने भारतकै दुर्नियतिपूर्ण खेलको गोलचक्करमा परेर नै नेपालले अशान्ति ,अस्थिरता ,अविकास र गरीबीको जञ्जालबाट मुक्ति पाउन नसकेको हो । नेपालका सत्ता आकांक्षी र राष्ट्रिय स्वार्थको कुनै पर्वाह नगरी बहकिने प्रवृत्तिका कथित नेताहरूलाई आफ्नो निहित स्वार्थअनुरूप  कठपुतलीको रुपमा उपयोग गर्ने भारतको अपरिवर्तनीय नीति रहेकाले त्यसको  चर्को मूल्य नेपालले  तिर्दैआएको छ । नेपालको तराईमा भूमिपुत्र नेपालीहरूलाई अल्पमतमा पार्दैजाने, सीमा अतिक्रमणलाई निरन्तरता दिने र लाखौं तराईवासी नेपालीलाई डुबानमा पारी अन्तर्राष्ट्रिय कानून विपरीत तटबन्ध निर्माण गर्ने क्रमलाई निरन्तरता दिँदैआएको भारतले तराईमा मधेश आन्दोलनको प्रायोजन गरेर खडा गरेको संविधान स्वीकार्यताको समस्या अहिले पनि जहाँको तहीं छ । प्रचण्ड सरकारले चाहेअनुरूपको स्वागत र समर्थन नयाँ संविधानले अझै पनि नपाएको तथ्य २५ बुँदे वक्तव्यकै पेट बोलीमा छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको सफलता र असफलताको कसी के हो ? खुट्याउनै गाह्रो परेको छ । यो भ्रमणबाट भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपालले पूर्ण समर्थन गर्ने प्रतिबद्ध बचन पायो भने अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार अनुशरणको प्रत्याभूति पनि लियो । यसले नेपालको परराष्ट्र नीतिमा विचलन ल्याएको र कुटनीतिक सन्तुलन गुमाएको ठाडै देखिए पनि कठपुतलीहरूको दृष्टिमा यो नै भ्रमण सफलताको आधार बनेको प्रतीत हुन्छ । भारत परस्तताको यो गतिले मुलुकलाई कतै भूटानीकरणको बाटोतिर त धकेलिरहेको छैन भन्ने चिन्ताजन्य प्रश्न खडा गरेको छ । प्रधानमन्त्री दाहाललाई आफ्नै मान्छेका रुपमा गर्नुसम्मको चित्रण गरेर भारतीय सञ्चार माध्यमले जुन जुन कुरा प्रचारमा ल्याएका थिए त्यसको प्रभाव २५ बुँदै सम्युक्त वक्तव्यमा प्रतिबिम्बित भएको छ । नेपालको घाँटीमा लागेको पासो अरू कस्सिएको छ ।

नेपाल र भारत उदाहरणहीन सम्बन्ध भएका देश हुन् । दुई देशका बीचमा असमान सन्धिका खातहरू छन् । भारतले नेपालको कालापानीमा सैनिक शिविर राखेर बसेको छ । नेपालको सीमा लिम्पियाधुराबाट कृतिम कालीनालामा सरेको छ । सुस्तादेखि लिएर देशका दर्जनौं ठाउँमा सीमा अतिक्रमण भएको छ र सीमा स्तम्भ गायव हुने क्रम चलिरहेछ । सीमावर्ती क्षेत्रमा अबैध तटबन्ध निर्माणले गति लिएको छ र लाखौं जनताको घरवार र खेतिपाती गरिखाने जमिन डुबेको छ । भारतबाट बर्षेनी ५–६ खर्बको आयात हुन्छ तर नेपालको सीमित उत्पादनले पनि भारतमा निर्बाध प्रवेश पाउँदैन र व्यापार घाटा बढाउने काम गर्छ । भारतले वर्षौं अघि तराईमा हुलाकी मार्ग बनाउने भनी बाचा गर्छ तर पूरा गर्दैन । महाकाली सन्धि गर्छ तर पञ्चेश्वर बनाउने कुरा थाती नै राख्छ । सस्तो लगानीमा बन्नसक्ने कर्णाली र अरूण ओगटेर राख्छ तर बनाउँदैन । उसैको मार्गचित्रमा बनेको संविधानको पनि स्वागत गर्दैन र यसलाई असफल बनाउने धेय राख्छ । नेपालको आन्तरिक मामिलामा सधैं दखल दिन्छ र आत्मनिर्णयको अधिकारमाथि धावा बोल्छ । 

यी सवै यथार्थको खातमा बसेर हाम्रा सत्ताधारी नेताहरू भारतभक्तिको राग अलाप्दै नेपाल भारत सम्बन्धमा कुनै तिक्तता नरहेको, कुनै समस्या नरहेको र अनुपम रहेको रटान रट्छन् । यस्तो उदाहरणहीन सम्बन्ध दुनियाका कुनै दुई देशबीच छैन । भारतले वर्षको १०–२० अर्बको चारो फालेर नेपाललाई यथेष्ठ सहयोग गरेको होहल्ला मच्चाउँछ तर एकलौटी व्यापार र बिप्रेषणबाट लैजाने खरबौंको रकमको कुनै लेखाजोखा हुँदैन । भित्रभित्रै गुम्सिएका यस्ता समस्याहरूको उच्चारणसमेत नगरी भारत भ्रमण  अत्यन्त सफल रहेको दावी गर्नुको निहितार्थ के हो ? देशभक्त नेपाली जनताको मनमा  अहिले उठेको अहं प्रश्न नै यही हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)



 
::| Latest News

 
[Page Top]