युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
बडा दशैंको शुभकामना
Wednesday, 10.05.2016, 12:09pm (GMT+5.5)

नेपालीहरूको महान चाड बडादशैं सुरू भएको छ । गत शनिवार घटस्थापना गरी प्रारम्भ भएको नवदुर्गाको पूजा यतिखेर हिन्दु धर्मावलम्बी सवै नेपालीको घरघरमा चलिरहेको छ ।  आराध्यदेवी  भगवति दुर्गा मातालाई सर्व शत्रु विनाशिनी शक्तिरूपा मानेर नवरात्रीसम्म पूजाआराधना गरी उनैको प्रसादका रुपमा विजया दशमीका दिन आफूभन्दा ठूला बडासंग टीका ग्रहण गरी आशीर्वाद थाप्ने हाम्रो परम्परा र संस्कृति छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा सप्तशति चण्डी पाठ गर्ने प्रचलन नेपाली समाजमा छ । 

फुलपति, महाअष्टमी र महानवमीको पनि उत्तिकै महत्व छ । आसुरी प्रवृत्तिमाथि विजयको प्रतिकका रूपमा विजया दशमीको विशेष स्थान छ । बडा दशैंलाई पारिवारिक भेटघाट र मेलमिलापको अवसरका  रुपमा पनि लिइन्छ । नेपाली संस्कार र हिन्दु परम्पराले अहिले विश्वव्यापी रुप लिएको छ । नेपालीहरू विश्वका जुन जुन कुनामा पुगेका भए पनि बडादशैंको अवसरले  संस्कृतिप्रेमी हरेक नेपालीलाई उमंगित र उल्लासित बनाउने गरेको देखिन्छ । नेपाल बहुसांस्कृतिक मुलुक भए पनि बडादशैंलाई राष्ट्रिय चाडपर्व र राष्ट्रिय संस्कृतिको द्योतकका रुपमा सवै नेपालीले वरण गर्दैआएका छन् । आपसी सद्भाव, मेलमिलाप र सद्विचार प्रवाहको राष्ट्रिय संस्कृति निर्माणमा बडादशैंको विशेष महत्व भएकाले नेपाली समाजले यो अवसरलाई गौरवमय अवसरका रूपमा आत्मसात गर्दैआएको छ । असत्यमाथि सत्यको विजय र आसुरी प्रवृत्तिमाथि दैवीप्रवृतिको विजय शान्ति र समृद्धिकामी सवै नेपालीको अभिष्ट हो । त्यो अभिष्ट प्राप्तिको बाटो फराकिलो पार्न बडादशैंको यो अवसरले सवै नेपालीलाई प्रेरित गरोस्– हाम्रो यही शुभकामना छ ।

बडादशैंको यो अवसरले आफ्नो धर्म–संस्कृति र परम्पराप्रति गौरव गर्ने समस्त नेपालीलाई आफ्नो मौलिक संस्कृतिको रक्षाका निम्ति सचेत र सजग हुनुपर्ने संवेदनशील अवस्था सिर्जित हुँदैगएको स्थितिबोध गराएको छ । नेपालको भूगोल, इतिहास, राजनीति, अर्थव्यवस्थादेखि लिएर सामाजिक, धार्मिक, भाषिक ,सांस्कृतिक हरेक क्षेत्र अतिक्रमण, अपव्याख्या, विचलन, अवनति र विध्वंशात्मक प्रहारको सुनियोजित अभियानको चपेटामा पर्दैगएको छ । हाम्रा आफ्ना मौलिक पहिचानहरूमाथि अनेक कुनाबाट प्रहार गर्ने र यो देशको सार्वभौमिकता, अखण्डता र एकतामाथि धावा बोल्ने धृष्टतापूर्ण गतिविधिका दुष्परिणामहरू जताततै देखापरिरहेका छन् । विधर्मीहरूले नानाथरी भ्रमात्मक प्रचार गरेर नेपालको मौलिक संस्कृति नष्ट गर्ने जुन षडयन्त्र गरिरहेका छन् त्यसले तीब्र गति लिइरहेकाले धर्मपरिवर्तन र रूपान्तरणको वेग तीब्रतर बन्दैगएको छ । ९० प्रतिशत नेपाली जनताको अभिमतविरुद्ध लादिएको धर्मनिरपेक्षता यथार्थमा हाम्रो मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र यो देशको स्वतन्त्र पहिचानलाई नै समाप्त गर्ने दुर्भावनापूर्ण दिशातिर लक्षित छ । बडादशैं जस्तो राष्ट्रिय चाडपर्वको विरोध र बहिष्कारको बीजारोपण गर्ने विधर्मीहरूको दुस्प्रयासको प्रभाव भलै नेपाली समाजमा न्यून नै रहे पनि राजनीतिक विचलनका दुष्परिणामहरूले सांस्कृतिक विचलनलाई मलजल गरिरहेको कुरालाई नकार्नसकिने अवस्था छैन । सांस्कृतिक विचलनलाई प्रोत्साहन दिने कुनै पनि प्रकारका गतिविधिले मुलुकलाई अस्तित्वविहीन अवस्थातिर धकेल्ने कुत्सित धेय राखेको तथ्यलाई सवै नेपालीले समयमा नै बुझेर राष्ट्रको मौलिक पहिचान र अस्मिताको रक्षाका लागि आफूलाई समर्पित गर्नुपर्ने दिन आइसकेको छ । बडादशैंको यो अवसरले सवै नेपाली जनमा यो सन्देश प्रवाहित गरोस् भन्ने हाम्रो कामना छ ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो । हामीले हाम्रो संस्कृतिको रक्षा गर्नसक्यौं भने मात्र  हाम्रो पहिचान कायम रहिरहन सक्छ र हाम्रो देशको अस्तित्व संरक्षित हुनसक्छ । बडादशैंलगायतका हाम्रा राष्ट्रिय चाडपर्वहरूले हामीलाई आपसी सद्भाव र मेलमिलाप, सिर्जनात्मक सोच र सांस्कृतिक सचेततातिर अभिप्रेरित गरिरहेका छन् । तर अहिले हाम्रो राष्ट्रिय चिन्तनधार धमिलिँदैगएकाले सांस्कृतिक विचलनका अनेक रूपहरू नेपाली समाजमा देखापरिरहेका छन् । तिनको सामना गर्ने क्षमताको विकास हुनसकेन भने यसको मूल्य हरेक नेपालीले चुकाउनुपर्ने हुन्छ । बडादशैंको यो पुनित अवसरमा हामी सवै नेपालीमा सांस्कृतिक जागरणको लहर उठोस् भन्ने अपेक्षाका साथ समस्त नेपाली जनको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना अर्पण गर्न चाहन्छौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)



 
::| Latest News

 
[Page Top]