युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 11:19am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उपादेयताहिन नेपाल बन्द
Tuesday, 12.20.2011, 10:40am (GMT+5.5)

नेपाली कांग्रेसले हिजो नेपाल बन्द गराइछोड्यो । लाखौं स्कूले नानीहरू हिजो विद्यालय जान पाएनन् । सर्वसाधारण नागरिकहरू उपचारका लागि अस्पताल जान रोकिए । देशका उद्योगधन्दाहरू चलेनन्, यातायात बन्द, बजार बन्द– जताततै बन्दको असर । नेपाली कांग्रेसले आफ्नै पूर्व बचनबद्धता तोड्यो र नेपाल बन्द गरायो । बन्दको बिरोधमा फेसबुक मार्फत् लाखौंले आवाज उठाए, बन्द फिर्ता गर्न धेरैतिरबाट पहल भयो तर कांग्रेसले आफ्नो जिद्दी छोडेन । जन अपेक्षा विपरीतको विकल्प कांग्रेसले रोज्यो  ।

नेपालको वर्तमान राजनीतिमा झ्याङ्गिएको अपसंस्कृतिले प्रजातान्त्रिक छवि सुधार्न चाहेको नेपाली कांग्रेसलाई पुनः पथविचलित गरायो । सरकारले आफ्नो माग पूरा नगरेको भन्दै दवाव सिर्जनाका निम्ति कांग्रेसले फेरि गलत बाटो रोज्यो । नेपालको आन्तरिक राजनीति अझै पनि पथविचलनमा रहेको र हिजोको बन्दले राष्ट्रिय सन्दर्भलाई मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत प्रभाव पार्नसक्ने कुराहरू उठेका छन् । नेपाल अझै बन्द, तोडफोड, हिंसाको बाटोबाट नफर्किसकेको सन्देश हिजोको बन्दले प्रसार गरेको छ । नेपाली कांग्रेसले हिजोको बन्द आव्हान चितवनको भरतपुर जेल आक्रमणमा परी गत शनिवार ज्यान गुमाएका तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्न र उनी एवं उनीसंगै हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकाहरूको मुद्दा फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले गरेको हो ।

जेलभित्र पनि शिव पौडेलको जीवन सुरक्षित रहेन । सरकारले जेलभित्र समेत सुरक्षाको कुनै प्रत्याभूति दिन नसकेको ताजा उदाहरण बनेको यो घटनाको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन तर आम नागरिकलाई दुःख दिएर त्यसको क्षतिपूर्ति हुँदैन । हिंसा हत्याको यो प्रकरणसित जोडिएका एकपछि अर्का विवरणहरू सार्वजनिक भैरहेका छन् । हत्या हिंसाको यो शृङ्खलाको गम्भीर रुपमा छानविन हुनु जरुरी छ । राजनीतिक संरक्षणमा हुने गरेका अपराधको यो एउटा नमूना नै बनेको छ । अपराधकर्मीहरूलाई राजनीतिक छाता ओढाएर उन्मुक्ति दिने अपसंस्कृतिको विकासले अहिले सिंगो समाज आक्रान्त छ । चितवन कांग्रेसभित्रका गुटगत गतिविधि पनि यो प्रसंगमा चर्चामा आएका छन् । नेपाली कांग्रेसले पार्टी शुद्धीकरणका लागि पनि यो प्रकरणलाई राजनीतिक आग्रहमुक्त ढंगले केलाउनु जरुरी छ । सरकारले यो घटनाको छानविन गर्न गठन गरेको आयोगले राजनीतिक दवाव र प्रभावबाट मुक्त रहेर वस्तुतथ्य प्रकाशमा ल्याउन कति कसरत गर्छ भन्ने सवाल पनि यतिखेर उठिरहेको छ । नेपाली कांग्रेसले छानविन आयोगको प्रतिवेदनको प्रतिक्षा समेत नगरी राजनीतिक आग्रहजन्य माग अगाडि सारेर आफैंले निषेध गरेको बन्द कार्यक्रम राखेर पथविचलनको बाटो रोज्नु आफैंमा ठूलो बिडम्बना हो । जनभावना नबुझ्ने र कसैको कुरा नसुन्ने गैरप्रजातान्त्रिक संस्कारले कांग्रेसलाई मात्र होइन सिंगो मुलुकलाई पीडा दिएको  सर्वत्र अनुभूत छ ।

नेपाल बन्द कार्यक्रमले देशलाई नोक्सान पु¥याउने र आम जनतालाई दुःख –कष्ट पुर्याउने बाहेक अहिलेसम्म कुनै परिणाम नदिएको भए पनि राजनीतिक दलहरू र आफ्नो आक्रोश व्यक्त गर्न चाहने कुनै पनि जमातले विरोध दर्शाउने र आफ्ना माग पूरा गर्न दवाव दिने सजिलो माध्यमका रुपमा बन्द जस्तो नितान्त निषेधयोग्य कार्यक्रम राख्ने गरेका छन् । बन्दलाई शान्तिपूर्ण सत्याग्रह भन्ने गरिए पनि तोडफोड, आगजनी र गुण्डागर्दीका शङखलाबद्ध घटनाले अवाञ्छित परिणाम निम्त्याउने गरेका छन् । शिव पौडेलको अस्पतालमा देहावसान भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेको आक्रोश न त संयमित थियो न त शान्तिपूर्ण नै थियो । बन्द कार्यक्रमको प्रचारकै क्रममा पत्रकारमाथि समेत हमला भएको घटना सार्वजनिक भैसकेको छ । नेपाली कांग्रेसले जनताप्रतिको जवाफदेहिताबोध गराउन र आम जनताको भावनाको कदर गर्न पाएको अवसरलाई फेरि एकपटक गुमाएको छ । बन्दको बिरोधमा उसले विगतमा गरेका सहमतिहरू निरर्थक सावित भएका छन् । बन्द, तोडफोड, आगजनी र जनतालाई प्रत्यक्ष पीडा दिने कुनै पनि कार्यक्रमबाट सदाका लागि मुक्ति खोजेका नेपाली जनताले एकपछि अर्को सास्ती भोग्नु परेको कुरा कसैका लागि पनि प्रीतिकर छैन । यसबाट अन्तर्राष्ट्रिय समुदायबीच पनि नकारात्मक सन्देश गएको छ । नेपाली कांग्रेस जस्तो अग्रणी पार्टीले आत्मालोचना गर्दै भविष्यमा जनपीडादायी र राष्ट्रिय क्षति पु¥याउने यस्ता निषेधात्मक कार्यक्रम कदापि नगर्ने कसम खानुपर्दछ भने बन्दहीनताका लागि आम राजनीतिक सहमति कायम गर्न जवाफदेहितापूर्ण पहल गर्नुपर्दछ । जनअधिकारको रक्षाका लागि यो नै विकल्परहित बाटो हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
औपचारिकताभित्रको मानवअधिकार (12.13.2011)
संरक्षित भ्रष्टाचारको अभिलेख (12.06.2011)
भारतसितको नयाँ सम्झौता (11.28.2011)
राज्यको पुनःसंरचना कसरी? (11.21.2011)
जनस्वास्थमा खेलबाड (11.07.2011)
बिपा सम्झौता ः राष्ट्रहित विपरीतको पीडा (10.24.2011)
अनपेक्षित प्रवृत्तिकै निरन्तरता (10.17.2011)
मेलमिलाप र भाइचाराकोे विकास होस् (09.26.2011)
आचारसंहिता कार्यान्वयनको चुनौति (09.19.2011)
कडा कार्बाहीको प्रतिक्षा (09.12.2011)
स्वदेशीलाई प्राथमिकता (09.05.2011)
समस्या सिर्जना राजनीतिबाटै (08.29.2011)
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]