युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा
Tuesday, 03.14.2017, 10:25am (GMT+5.5)

भारतको सीमा सुरक्षा बलले फागुन २६ गते बिहिबार नेपालको सीमा अतिक्रमण गरी नेपालभूमिमा प्रवेश गरेर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ आनन्दबजारका ३४ वर्षीय गोविन्दप्रसाद गौतमको हत्या गरेको दुःखद घटनाले समस्त नेपालीलाई स्तब्ध र क्षुब्ध बनाएको छ । नेपाल(भारतको सीमा क्षेत्रमा दुवै देशका सम्बन्धित अधिकारीहरूको सहमतिमा निर्मित कल्भर्ट भत्काउन अग्रसर सीमा सुरक्षा बलको ज्यादतीविरूद्ध  एकत्रित भएका सीमा रक्षक नेपालीहरूमाथि नेपालभित्रै पसेर गोली वर्षाउने भारतीय सुरक्षा अङ्गको यो बलमिच्याइँ ,हेपाहा नीति र अतिक्रमणकारी  एवं घृणास्पद दुर्व्यवहारको जति नै निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सीमा अतिक्रमण गरी निहत्था नेपाली नागरिकको हत्या गरिएको यो निन्दनीय काण्डको देशभक्त तमाम नेपाली जनताले एकस्वरले विरोध गरिरहेका छन् भने  सुरूमा राजदूतावासबाट विज्ञप्ति निकाली सीमा सुरक्षा बलले गोली नचलाएको झूटो बयानबाजी गरेको भारतले अन्ततः सो घटनामा सुरक्षा बलको संलग्नता स्वीकार गर्दै घटनाको छानविन गर्ने बचन दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख प्रकटगरेको जगजाहेर भएको छ । नेपाल सरकारले ज्यादतीपूर्ण सो घटनाको भर्त्सना र निन्दा गर्दै भारतसमक्ष विरोधपत्र दिएको छ भने सीमा रक्षामा स्वतस्फुर्त संलग्न हुँदा हत्या गरिएका गोविन्द गौतमलाई शहीद घोषणा गरी १० लाखको सहयोग र बालबच्चाको शिक्षाको उचित प्रबन्धको व्यवस्था गर्ने बचन दिएको छ । यो घटना गौतमको हत्यामा मात्रसीमित नरही नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथिको दखलसम्म विस्तारित भएकाले यस्ता अतिक्रमणकारी र बिध्वंशकारी घटना पुनः दोहोरिन नदिन माके-नेका-राप्रपाुको गठबन्धन सरकारले स्वाभिमानी चरित्र देखाएर राष्ट्रिय अडान प्रस्तुत गर्ने हो वा पुनः   सत्तास्वार्थको रक्षाका लागि लम्पसारवादी चरित्रलाई निरन्तरता दिँदै राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्याउने काम गर्ने हो भन्ने गम्भीर चासोको प्रश्न खडा भएको छ ।   

भारतले लामो समयदेखि नेपालसितको खुल्ला सिमानालाई अतिक्रमणकारी गतिविधि विस्तारका लागि उपयोग गर्दैआएको जगजाहेर छ । नेपालको लाखौं हेक्टर भूमि भारतको अतिक्रमणमा परेको कुरा कतै छिपेको छैन । सीमास्तम्भहरू नियोजित रुपमा गायब पार्ने र नेपालभूमि हत्याउने क्रम रोकिएको छैन । नेपालमा अनेक प्रलोभनमा पारेर गुमस्ताहरूको विभिन्न दस्ता खडागर्ने ,निहित स्वार्थपूर्तिका लागि दवाव समूहका रुपमा तिनलाई उपयोग गर्ने र समय क्रममा ती समूहहरूबीचमै अन्तर्विरोध सिर्जना गराएर एकापसमा भीडन्त गराई आफ्नो निहित स्वार्थ पूरा गर्ने भारतीय सत्ताधारीहरूको चारित्रिक विशेषता नै रहेको छ । भारतमा बेला बखत सत्ताधारी जमात फेरिँदैआए पनि अहङ्कारी ,हस्तक्षेपकारी र हैकमवादी नीति अवलम्बन र व्यवहार प्रदर्शनमा कुनै फेरबदल छैन । सीमा क्षेत्रका बासिन्दा नेपालीहरूमाथिको थिचिमिचो ,कुटपिट र लुटपाटका घटनाहरूले पनि उत्तिकै निरन्तरता पाइरहेका छन् । सीमा अतिक्रमण गरी नेपाल सरहदभित्र प्रवेश गरेर बितण्डा मच्चाउने  र नेपालीलाई त्रसित वातावरणमा राखिरहने शिलशिलाकै क्रममा कञ्चनपुरमा गोविन्द गौतमको हत्या भएको हो । त्यो हत्या प्रकरणमा सीमा सुरक्षा बलले २८ राउण्ड गोली चलाएको र ढुंङ्गामुढासमेत गरेकाले प्रहरीलगायत थुप्रै नेपाली घाइते भएको पनि खुलाशा भएको छ । यी सवै तथ्यलाई अगाडि राखेर सरकारले अब आइन्दा यस्ता अतिक्रमणकारी र आतङ्ककारी घटना रोक्न भारतसंग प्रत्याभूति लिनसक्नुपर्छ । नेपालीहरूले सीमाक्षेत्रमा भारतीय ज्यादतीका अनेक कहर काट्दैआएका छन् । त्यस्ता घटना दोहोरिन नदिन सरकारले सीमा व्यवस्थापनको प्रष्टनीति अख्तियार गर्नुको विकल्प छैन । अन्ततः यस्तो समस्याको स्थायी  समाधान भनेको सिमानामा तारवार गर्नु र दोहोरो आवागमनलाई अभिलेखीकरण गर्दै नियमन गर्नु नै हो । 

शहीद गोविन्द गौतमको हत्या प्रकरण सीमा अतिक्रमण समस्यासंग जोडिएको छ । मुहान नथुनेसम्म चुहान रोकिँदैन । भारतले खुलासीमाको अधिकतम दुरूपयोग गर्दैआएको छ । एकातिर नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई कुण्ठित गर्ने र अर्कातिर खुला सिमानाबाट नेपाल प्रवेश गराई आफ्ना लाखौं नागरिकलाई नेपालको नागरिक बनाउने भारतको रणनीतिक गतिविधिले अहिले ुमधेश समस्याुका रूपमा उग्र रूप लिइरहेको छ । भारतले नेपालमा ठूलो लगानीमा तयार गरेका दलाल समूहहरू कतिसम्म निर्लज्ज रुपमा प्रस्तुत हुनसक्छन् भन्ने ताजा उदाहरण त संसदमा अशोक राईले नयाँ जोगी बनेर घसेको खरानीले नै देखाएको छ ,मधेशी मोर्चाका नेताहरूको मौनताको मात्रै के कुरा गर्नु । समस्या खडा गर्न तयार गरिएको जमातको काम नै राष्ट्रिय एकता ,अखण्डता र सार्वभौमिकताविरूद्ध जाइलाग्नु र राष्ट्रिय सद्भाव बिगार्नुमा लक्षित छ भन्ने कुरा नेपालको स्वतन्त्र अस्तित्त्व चाहने सवै नेपालीले बुझ्नु जरूरी छ । सीमा रक्षाका निम्ति सचेत तराईवासी नागरिकहरूमाथि केही समय अगाडि सप्तरीको तिलाठीमा आक्रमण भएको थियो । अहिले कञ्चनपुरमा  सीमारक्षक नेपालीको ज्यानै लिनेगरी भएको आक्रमण त्यसैको निरन्तरता हो ।  नेपाली अनुहार र नव नागरिकहरूलाई  अधिकतम प्रयोग गरी भारतले नेपाललाई तहसनहस पार्ने जुन हर्कत गरिरहेको छ त्यसका विरूद्ध उर्लिएको जनमत नै नेपाल रक्षाको मजबुत आधार हो र झिना मसिना विवादमा अल्झाएर नेपाली एकता खण्डित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट हुनु नै वर्तमान समयको सन्देश हो भन्ने हाम्रो दृढ अभिमत छ । आँफू शहीद बनेर प्रवाह गरेको सन्देश सवै देशभक्त नेपालीले मनन गरौं - यो नै उहाँप्रतिको सम्मान र श्रद्धाञ्जली हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कालो बादल हटेको छैन (02.28.2017)
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित (01.31.2017)
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता (01.18.2017)
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)



 
::| Latest News

 
[Page Top]