युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नयाँ वर्षको शुभकामना
Tuesday, 04.18.2017, 11:26am (GMT+5.5)

नयाँ वर्ष २०७४ सुरू भएको छ । शुभकामना सन्देश र शुभकामना आदान–प्रदानको क्रम चलिरहेको छ । विगत वर्षका तीता मीठा अनुभवहरूलाई अभिलेखमा राख्ने र नयाँ वर्षको आगमनलाई सकारात्मक परिणतिको अपेक्षा गर्दै शुभकामना प्रकट गर्ने नेपाली संस्कारको औपचारिक निर्वाह भएको छ । अघिल्लो अघिल्लो वर्षमा पनि यसरी नै नयाँ वर्षको आगमन हुने गरेको थियो । आगामी वर्षहरूमा पनि यो क्रम चलिनैरहने छ । सुख, शान्ति, समुन्नति र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गर्ने परम्पराको निर्वाह हिजोका दिनमा पनि हुनेगरेको थियो, आजका दिनमा पनि भैरहेको छ र सायद भोलिका दिनमा पनि हुनेछ । सम्वत्सर परिवर्तनको यस क्रमबाट मात्र देशको भलो र जनताको कल्याण हुने नभई तदनुरुपका राष्ट्रिय कार्यक्रमको तर्जुमा र सोको कार्यान्वयनमा दृढ प्रतिज्ञ राष्ट्रिय शक्तिको विकास अपरिहार्य हुने भएकाले नयाँ वर्ष २०७४ले हामी सवै नेपालीलाई सो दिशातर्फ प्रेरित हुने दृष्टि देवस् र आत्मबल प्रदान गरोस् भन्ने हाम्रो हार्दिक कामना छ । नेपाल राष्ट्रले उज्यालो भविष्यको प्रतिक्षा गर्दागर्दै अन्धकारमय क्षितिजका अनेक प्रहरहरू काट्दैआएको छ । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका निम्ति अनेक चुनौतीको सामना गर्नुपरेको अहिलेको अनपेक्षित अवस्थालाई २०७४ सालले कुन रूपमा  स्वीकार गर्छ र मुलुकको अस्मिता रक्षाका लागि कस्तो राष्ट्रिय दृष्टिकोण बन्छ भन्ने अहं प्रश्न अहिले खडा भएको छ । मुलुकमा अहिले राष्ट्रिय जनमत प्रदर्शनको बिशिष्ट परिस्थितिको सङ्घारमा उभिएको छ । त्यसले मुलुकको भविष्य निर्देश गर्ने गरी सुखद परिणाम ल्याओस भन्ने सर्वत्र अपेक्षा छ । नयाँ वर्ष २०७४ को सार्थकता त्यसैमा निहित छ । यो वर्ष नेपाल र नेपालीका लागि उज्यालो भविष्यतिर लम्कने आधार बन्न सफल रहोस्(यही नै हाम्रो शुभकामना छ ।

पथविचलित राजनीतिले मुलुकलाई दिनानुदिन कमजोर र दिशाहीन बनाइरहेको छ । परिवर्तनका अनेक खुड्किलाहरू चढ्दै मुलुक नयाँ दिशातिर अगाडि बढिरहेको भ्रम एकातिर फिँजिएको छ भने अर्का्तिर राष्ट्रिय एकता ,अखण्डता र सार्वभौमिक स्वतन्त्रताका आधारहरू क्रमिक रुपमा समाप्त गर्दैजाने षडयन्त्रात्मक गतिविधिहरू पनि उत्तिकै मौलाइरहेका छन् । विगत एक वर्ष्भित्रकै मात्र देशको आन्तरिक राजनीतिक परिस्थिति र यसले मुलुकको सुदूर भविष्यमाथि पार्नसक्ने असरकाबारे गहन विश्लेषण गर्ने हो भने मुलुक गम्भीर चिन्ताको क्षणबाट गुज्रिन विवश भएको टड्कारो दृश्य देखिन्छ । राष्ट्रिय अखण्डताविरुद्धका गतिविधिहरू सुनियोजित रुपमा परिचालित भएका छन् भने परनिर्भरताको सत्ता राजनीति र आर्थिक परिदृश्यले मुलुकलाई भयावह संकटको दिशातिर घचेड्दै भीरकै डिलमा पु¥याइसकेको सर्वत्र आभास भैरहेको छ । परनिर्भरताको राजनीतिले राष्ट्रिय चिन्तनधारको मूलप्रवाहलाई धमिल्याइको मात्र छैन त्यसलाई गलत दिशातिर मोड्ने सुनियोजित गतिविधिलाई पनि मलजल गरिरहेको छ । बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताको विशिष्ट स्वरूपलाई आत्मसात गर्दै आफ्नो स्वतन्त्र पहिचानलाई  इतिहासको जटिलतम कालखण्डमा पनि सुरक्षित राख्न सफल रहेको नेपाल आज परचक्रीको भेदकारी ब्यूहचक्रमा फँसेर आन्तरिक द्वन्द्वको भूमरीमा रिँगिरहेको छ । देशीय राजनीतिभित्र मौलाएको वैदेशिक शक्तिहरूको प्रभावकै कारण  कतिपय आन्तरिक राजनीतिक शक्तिहरू विटुलिँदै अरूकै कुत्सित रणनीतिक स्वार्थपूर्तिका औजार बनिरहेका छन् । मुलुक अन्त्यहीन द्वन्द्वको ब्यूहचक्रमा फँसेको छ । यसै महिनाको अन्तिममा हुने भनिएको स्थानीय तहको निर्वाचनसमेत यथास्थिति र यथा समयमा हुन नदिन प्रायोजित मुद्दाहरूको पर्खाल खडा भैरहेको छ । राष्ट्रिय जनमत प्रदर्शनको अवसर नै आउन नदिन सत्ताभित्र र बाहिरका झुण्ड झुण्डहरू नराम्रोसंग उपयोगमा आइरहेका छन् । अन्तध्र्वंशीय  प्रवृत्तिको दुष्परिणाम मुलुकले कुन रुपमा भोग्नुपर्ने हो भन्ने चिन्ताजन्य प्रश्न खडा भैसकेको छ । 

२०७४ साल आन्तरिक राजनीतिक व्यवस्थापनका लागि अग्निपरीक्षाको घडीमा उभिन आइपुगेको छ । डेढ वर्ष अगाडि संविधानसभाबाट जारी भएको संविधानले आन्तरिक रुपमा सर्वस्वीकार्य स्वरूप ग्रहण गर्न नसकेको मात्र होइन भारतको दवावपूर्ण प्रत्यक्ष निर्देशन तत्काल पालन नगर्दाको दुष्परिणाम पनि नेपाली जनतालाई भोगाएको छ । संविधान जारी भएपछि भारतीय सत्ताले प्रकट गरेको असन्तुष्टिले चरम पीडादायी नाकाबन्दीको अकल्पनीय र अमानवीय स्थिति सिर्जना ग¥यो । त्यसपछि भएको सत्ता परिवर्तनको खेलले मुलुकलाई परनिर्भरताको दिशातिर अरू धकेलेको सन्देश दियो । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा आफ्नो स्वामित्व कायम राख्दै रणनीतिक स्वार्थ पूरा गर्न भारतले जुन चाल चलिरहेको छ त्यो नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताविरुद्ध लक्षित छ भन्ने कुरामा कुनै सन्देह छैन ।  भारतले आफ्नो सन्देश संवाहकका रुपमा जुन जुन झुण्डलाई उपयोग गरिरहेको छ तिनका गतिविधि हेर्दा २०७४ सालको सुरू महिनादेखि माघको पहिलो हप्तासम्म सम्पन्न गरिसक्नुपर्ने तीन चरणका निर्वाचन र संविधानको कार्यान्वयनले  कस्तो गति लेला र कस्तो परिणाम निम्त्याउला भन्ने चिन्ताजन्य कुतुहलता जन्माएको छ । २०७४ सालको आगमनले ल्याएको उत्साह नमुर्झावस्– यही नै हाम्रो शुभकामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
घोषित निर्वाचनको चुनौती (04.11.2017)
प्रधानमन्त्रीको चीन भ्रमण (03.22.2017)
गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा (03.14.2017)
कालो बादल हटेको छैन (02.28.2017)
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित (01.31.2017)
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता (01.18.2017)
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)



 
::| Latest News

 
[Page Top]