युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
संवेदनहीनताको पराकाष्ठा
Monday, 12.26.2011, 03:53pm (GMT+5.5)

तराई भूभागमा फैलिएको शीतलहरले पूर्वी तराईका विभिन्न जिल्लामा ज्यान गुमाउनेहरूको संख्या दिनहुँ बढिरहेको दुःखद् खवर प्रसारित भैरहेको छ तर सो क्षेत्रका शीतलहर पीडित सीमान्त गरिब जनताको उद्धारका निम्ति कहीं कतै कसैले पहल गरेको खबर भने आएको छैन । मुलुकमा आवाजहीन जनताको आवाज सुन्ने र सीमान्त गरिब जनतालाई राहत उपलब्ध गराउने प्रकृतिको जवाफदेही सरकार र जनताको दुःख–दर्दलाई अनुभूत गरेर त्यसलाई सम्बोधन गर्न पहल गर्ने जनउत्तरदायी राजनीतिक दलहरूको अभाव रहेकाले पीडादायी यस्ता खवरहरू नियमित आकस्मिकताकै रुपमा आउने गरेका छन् । शीतलहरका कारण एक महिनायता मात्रै देशका बिभिन्न भागमा गरी ५० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । हरेक वर्ष जाडोको मौसममा यो क्रम दोहोरिने गरे पनि सरकार र सम्बद्ध क्षेत्रका कथित जनप्रतिनिधिहरूले जाडोले कठ्यांग्रिएर मर्नुपर्ने नियति टार्न कुनै चासो राखेको देखिंदैन ।
एकातिर मधेशी अधिकारका नाममा अनेक बितण्डाहरू मच्चाइने गरेका अनेक उदाहरण भेटिन्छन् भने अर्कातिर गरिब मधेशीहरूको काल बन्दैआएको शीतलहरको प्रकोपबाट सीमान्तीकृत जनतालाई जोगाउने चासो भने कसैले राखेको पटक्कै देखिन्न । शीतलहर मात्रै होइन कहीं कतै झाडा पखालाको प्रकोप उत्पन्न हुँदा होस् वा बाढी पहिरोले जनजीवन आक्रान्त हुंदा होस् राज्यले आफ्नो दायित्व निर्वाह गरेको कमै उदाहरण भेटिन्छ । निःशुल्क स्वास्थ सेवाको प्रचार गर्ने सरकारले दुर्गम क्षेत्रका जनतालाई सिटामोल समेत उपलब्ध गराउन चासो नराखेको पनि प्रकाशमा आइरहेको छ । तराईका आठ जिल्लामा केटाकेटीलाई खुवाइएको पोलियो थोपा समेत गुणस्तरहीन भएको खुलासा भएको छ । सुत्केरीलाई खान बाँडिएको आइरन चक्कीमा समेत ठूलो खेलबाड हुने गरेको तथ्य केही समय अगाडि मात्रै प्रकाशमा आएको थियो । सर्वसाधारण जनताप्रति उत्तरदायित्व महसुस गर्ने र जवाफदेहिता बहन गर्ने राज्य संयन्त्रको विकास गर्न सत्ताधारीहरू उदासीन भएकै कारण मानवीय क्षतिका दुर्दान्त घटना नियमित आकस्मिकता बन्दै आएका हुन् ।
तराईलाई आधारभूमि बनाएर राजनीति गर्ने दलहरूका नेताहरूले क्षेत्रीय नारा लगाएर अत्यधिक अधिकार उपभोगको लालशा राख्दै आएका भए पनि उनीहरूलाई तराई दुःख्ने गरेको छैन । सीमान्त  गरिबी भोग्दै गरेका तराईवासीका मूलभूत समस्याहरूलाई किनारा लगाएर अरुकै प्रतिनिधि जस्तो भएर केन्द्रीय राजनीतिमा जम्ने र सामाजिक राजनीतिक सन्तुलन विपरीतका गतिविधिप्रति बढी उत्साहित हुने अपसंस्कृतिको विकासले समग्रतामा मुलुककै अस्तित्वमाथि धावा बोलिरहेको अनुभूति विस्तारित छ तर तराइको खास पीडाप्रति भने कुनै चासो उत्पन्न हुनेगरेको देखिंदैन । शीतलहरको पीडा भोगिरहेका आवाजहीन जनताको समस्या मधेशी नेताहरूको चासोको विषय नै होइन । त्यसैले कुनै पनि मधेशी नेताले सदनदेखि सडकसम्म यो विषयमा कुरा उठाएको भेटिन्न । मधेशवादी नेताहरूलाई तराई कहिल्यै दुःख्ने गरेको भए मानवीय सम्वेदनशीलताका यस्ता दुर्दान्त घटना दोहोरिने नै थिएनन् । तराईमा सीमा अतिक्रमणको नियमित रोग बल्झिरहेको छ भने कतिपय नेपाली गाउँहरू भारतीय नियन्त्रणमा पुगिसकेका छन् । सीमावर्ती क्षेत्रमा बलात् बनाइएका बाँधहरूले तराईवासी लाखौं जनतालाई डुवानको पीडा बोकाएका छन् । नक्कली नागरिकताका वाहकहरूले राजनीतिक अवसर खोस्नेदेखि लिएर रिजगारीको अवसर र छात्रवृत्ति समेत हत्याउने काम पनि गरिरहेका उदाहरण प्रकाशमा आइरहेका छन् । तराईवासीमाथि पीडा थपिंदै गएको भए पनि तराईलाई आधारभूमि बनाएर राजनीति गर्ने नेताहरू तराईका त्यस्ता ज्वलन्त समस्याप्रति सदा मौन रहने गरेका देखिन्छन् । उनीहरू नारा मधेशको लगाउँछन् तर रणनीतिक प्रतिनिधित्व अरुकै गर्छन् । देशभक्त तराईवासी नेपाली जनताको चेतनाको स्तर माथि नउठेसम्म यो समस्या यथावत् रहने देखिएको छ ।
नेपालको वर्तमान सरकारमा तराईको प्रतिनिधित्व गर्ने मधेशवादी नेताहरूको बाहुल्य छ र पनि तराईवासीका खास–खास समस्या सम्बोधन गर्ने कुनै चासो जागृत छैन । सत्तास्वार्थ बाहेक अरु केही नहेर्ने मधेशवादी नेताहरूको चरित्रलाई भजाएर नै यो सरकार निर्माण भएकाले तराईका जनताको यथार्थ समस्यालाई सम्बोधन गर्ने हैसियत यो सरकारसंग छैन । अरुकै रणनीतिक स्वार्थपूतिर्का लागि, अरुकै रुची र पहलमा, अरुले नै बनाइदिएको र अरुले नै टिकाइदिनुपर्ने सरकारले कुनै पनि भेगका जनताको वास्तविक समस्या सम्बोधन गर्ला भनेर सोच्नु पनि व्यर्थ नै छ । बहुसंख्यक मधेशवादी नेताहरू तराईका मूलभूत समस्यालाई उपेक्षा गरेर मधेशी नारा घन्काउँछन् । बाहिरी शक्तिलाई रिझाएर र अरुकै स्वार्थपूर्तिका लागि खेलौना बनेर पद, प्रतिष्ठा र पैसा आर्जन गर्नु एकमात्र ध्येय रहेको उनीहरूले थुपारेको सम्पत्ति विवरणले नै इङगित गरेको छ । राजधानीमा जग्गा जमिन जोड्ने र महल खडा गर्ने अनि मधेशको नारा चर्काउनेहरूको नियतमा देखिएको खोटले राष्ट्रिय समस्या चर्काउन बाहेक कुनै सकारात्मक परिणाम दिएको छैन । तराईमा जति नै मान्छे  मरे पनि, तराई जति नै डुबे पनि, तराईको भूभाग जति नै अतिक्रमित भए पनि, तराइका भूमिपुत्र नेपालीहरूको अवसर अरुले जति नै हडपे पनि मधेशी नेताहरूको मौनता भंग हुँदैन ।  मधेशवादी नेताहरूलाई तराई नदुःख्ने गरेकैले शीतलहरबाट तराईको जनजीवन जति नै प्रभावित भए पनि सरकारमा बाहुल्य भएको अवस्थामा समेत राहत कार्यप्रति कुनै चासो उत्पन्न भएको देखिंदैन । यो सम्वेदनहीनताको पराकाष्ठा नै हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
उपादेयताहिन नेपाल बन्द (12.20.2011)
औपचारिकताभित्रको मानवअधिकार (12.13.2011)
संरक्षित भ्रष्टाचारको अभिलेख (12.06.2011)
भारतसितको नयाँ सम्झौता (11.28.2011)
राज्यको पुनःसंरचना कसरी? (11.21.2011)
जनस्वास्थमा खेलबाड (11.07.2011)
बिपा सम्झौता ः राष्ट्रहित विपरीतको पीडा (10.24.2011)
अनपेक्षित प्रवृत्तिकै निरन्तरता (10.17.2011)
मेलमिलाप र भाइचाराकोे विकास होस् (09.26.2011)
आचारसंहिता कार्यान्वयनको चुनौति (09.19.2011)
कडा कार्बाहीको प्रतिक्षा (09.12.2011)
स्वदेशीलाई प्राथमिकता (09.05.2011)
समस्या सिर्जना राजनीतिबाटै (08.29.2011)
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]