बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू
Tuesday, 08.15.2017, 02:43pm (GMT+5.5)
देशका विभिन्न भागमा केही दिनदेखि भैरहेको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानको चपेटामा परेका छन् भने मानवीय क्षति र भौतिक नोक्सानीको कुनै लेखाजोखा छैन । कतिपय पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरो आएर कैयौंले ज्यान गुमाएको दुःखद अवस्था सिर्जित भएको छ । बाढी, पहिरो र डुवानका कारण देशका विभिन्न भागमा गरी चार दर्जनभन्दा बढी मानिसको मृत्यु भैसकेको, कैयौं व्यक्ति हराइरहेका र दशौं हजार नागरिक डुवानको चपेटामा परेर गासवासका निम्ति आश्रयस्थल खोज्दै समुचित राहतको ब्यग्र प्रतिक्षामा रहेको दारूण स्थिति उत्पन्न भएको छ । बाढी, पहिरो र डुवानग्रस्त क्षेत्रका वासिन्दाहरू चरम पीडाबोधको असामान्य अवस्था छन् र राज्य एवं सिंगो मानव समुदायबाट तत्काल राहतको प्रतिक्षामा छन् । कतिपय जिल्लामा सडक सम्पर्कसमेत विच्छेद भएको छ भने हवाइ यातायातसमेत अवरुद्ध हुनपुगेको अवस्था छ । सिङ्गो तराई क्षेत्रको भूभाग जलमग्न भएको यो अवस्थामा युद्धस्तर रुपमा उद्धार र राहत कार्य सञ्चालन गर्न सरकारले अहोरात्र पहलकदमी गर्नु अपरिहार्य छ भने सिंगो नागरिक समुदायले पनि आआफ्नो ठाउँबाट सेवा र सहयोग जुटाउनु परम कर्तव्य हुनआएको छ । राष्ट्रिय विपत्तिको यो घडीमा विपद् व्यवस्थापन नै सवभन्दा ठूलो चुनौती बनेको छ भने सवै क्षेत्र एकजूट भएर यो विपत्तिको सामना गर्नुको अर्को विकल्प छैन । तराईको समग्र समथल भूभाग यति विकराल रुपमा जलमग्न हुनुको कारण केही दिन यतादेखिको अविरल वर्षा नै हो भन्ने देखिए पनि उत्तरबाट दक्षिण बगेका नदीनालाहरूको प्राकृतिक बहावमा समेत भौतिक संरचनाहरू निर्माण गर्दा उत्पन्न हुँदैगएको व्यवधानले बाढी र डुवानको प्रकोपलाई तीब्रता दिइरहेको विभिन्न क्षेत्रको स्थलगत अवस्थाले इंगित गरिरहेको छ । बाढी र डुवानको चपेटामा परेका झापादेखि बर्दियासम्मका तराईका जिल्लाहरूमा अहिले डुवानका कारण जुन असामान्य स्थिति सिर्जना भएको छ त्यसका अन्तरनिहित कारणहरू मिहिन रुपमा खोतल्दै जाने हो भने एकातिर भारतले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय नियम कानून र प्रचलनहरू मिचेर जसरी तटबन्ध विस्तार गर्दैगएको छ त्यसले नदीनालाहरूको प्राकृतिक बहाव रोकिने र वगेको पानी नेपालभूमितिरै फर्केर नेपालभूमि डुवाउने गरेको दृश्य प्रत्यक्ष देखिन्छ भने यसरी प्राकृतिक बहाव रोकिँदा नदीनालाहरू उकासिँदै गएर गाउँवस्तीमा प्रवेश गर्ने अवस्था सिर्जित भएको पनि प्रष्ट हुन्छ । अर्कातिर नेपालभित्रै पनि नदीनालाहरूका किनारामा रहेको जमिन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने, वनजंगल विनाश गर्ने र चुरे क्षेत्रमा गिटीढुंगा झिकेर भूस्खलन निम्त्याउने जस्ता असंगत कामहरू पनि संरक्षित रुपमा हुने गरेका छन् । भारतले नेपालसंग असमान सम्झौता गरी निर्माण गरेको कोशी बाँध र गण्डक बाँध होस् वा नेपालको सहमति विना सीमावर्ती क्षेत्रमा बलात् बनाएका लक्ष्मणपुर बाँध लगायतका संरचनाहरू तराई डुवाउने प्रमुख कारण बनेका छन् । हिउँदमा नेपालबाट पानी लैजाने र वर्षामा बाँधका ढोकाहरू थुनेर नेपालभूमि डुबाउने भारतको दुव्र्यवहारको शिकार सर्वाधिक रुपमा तराईवासी नेपाली जनता नै भैरहेका छन् । मधेशवादीहरूका लागि यो कहिल्यै पनि मुद्दा नबन्नु रहस्यमय छ । सिंगो तराईमा हरेक वर्ष डुवानको समस्या नियमित आकस्मिकता जस्तै बनेको छ । अधिक वर्षा हुँदा बाढी र डुवानको प्रकोप बढी हुने गरेको छ भने कम वर्षा हुँदा कम । सप्तरी र सुन्सरीका वासिन्दाले आधा शताब्दिभन्दा लामो समयदेखि कोशी बाँधको पीडा भोग्दैआएका छन् भने नवलपरासीका वासिन्दाले गण्डक बाँधको । बाढीको उच्च जोखिम रहँदारहँदै पनि भारतले यस पटक पनि कोशी बाँधका पूरै ढोका नेपालले आग्रह गर्दा पनि नखोलेको खुलाशा भैसकेको छ भने गण्डक बाँध, लक्षमणपुर तटबन्ध र अरू तटबन्धका ढोकाहरू नखोलेको पनि उजागर भैसकेको छ । तराईमा हरेक वर्ष डुवानको समस्या जुन रुपमा चर्किँदैआएको छ त्यसको स्थायी समाधान भनेको भारतले पानीको प्राकृतिक प्रवाह रोक्न बनाएका संरचनाहरूबाट पानी निकास हुनसक्ने स्थायी व्यवस्था गर्नु नै हो । भारतले तराईमा मधेशवादका नाममा आगन्तुकहरूलाई उचालेर नेतागिरी गराउने र तराईका भूमिपुत्रहरूलाई प्रताडित गर्ने जुन राजनीतिक शृङ्खला चलाएको छ त्यसको प्रतिच्छाँया डुवानको यो प्रकरणमा पनि देखिएको छ । सरकारले पहिलो चरणमा डुवानग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यलाई तीब्रता दिनुपर्छ भने तराईलाई डुवानमुक्त क्षेत्र बनाउन आन्तरिक रुपमा नदीनालाहरूमा तटबन्ध निर्माण गर्दैजाने, भूअतिक्रमणको गति रोक्ने र भारतले बनाएका संरचनाहरूबाट पानीको प्राकृतिक बहाव नरोकिने अवस्थाका लागि भारतसंग दरो मुटु बनाई कुटनीतिक पहल गर्ने गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हो भन्ने हाम्रो ठहर छ ।
|