युगसम्बाद साप्ताहिक

सम्भावनाको नयाँ ढोका खुल्यो !
Wednesday, 10.11.2017, 01:52pm (GMT5.5)

नेपालमा जनअनुमोदित ठूलो वामपन्थी दलको रुपमा स्थापित भएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी र दोस्रो ठूलो वामपन्थी दलको हैसियतमा रहेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच आगामी मंसिर १० र २१ गते हुनलागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा भएको चुनावी तालमेलको सहमति र अन्ततः पार्टी एकीकरण नै गर्ने गरी विकसित भएको समझदारीले राष्ट्रिय राजनीतिमा ठूलै तरंग पैदागरेको छ । नेपालको आन्तरिक राजनीति सिद्धान्त, विचार र आचरणलाई बलिबेदीमा चढाएर केवल क्षणिक सत्तास्वार्थमा मात्र केन्द्रित हुँदैगएको पृष्ठभूमिमा वैचारिक निकटता देखाइरहेका राजनीतिक दलहरूबीच चुनावी तालमेल र  पार्टी एकीकरणको समझदारी बन्नु र त्यसलाई व्यवहारमा उतार्ने कसरत गर्नुले नेपालको राष्ट्रिय राजनीतिले नयाँ दिशा समत्नलागेको प्रष्ट संकेत गरेको छ । नेपाल लामो समयदेखि राजनीतिक अस्थिरता, सत्तास्वार्थको घिनलाग्दो खेल, बाह्यशक्तिको अवाञ्छित हस्तक्षेप र परचक्रीकै रणनीतिक स्वार्थको घनचक्करमा फस्दैआएको छ भने राजनीतिक दलहरू पनि प्रकारान्तरले अरूकै उपयोगमा फस्दैआएका घटनाहरू अभिलेखित छन् । २००७ साल यतादेखिका यावत राजनीतिक परिवर्तनपछि जागृत हुनेगरेको नेपाली जनआकांक्षा माथि बाह्यशक्तिको नियन्त्रणकारी रणनीतिक आकांक्षा मुखरित हुनेगरेको कटु वास्तविकता एकातिर छ भने बाह्यशक्तिकै ब्यूहरचनामा फसेर नेपालका प्रमुख राजनीतिक दलहरू सत्तास्वार्थवृत्तमा मात्रै घुमिरहने प्रवृत्ति विकसित छ । यो पृष्टभूमिमा अहिले वाम दलहरूबीच चुनावी तालमेल र पार्टी एकताको जुन विष्मयकारी एवं चमत्कारिक निर्णय सार्वजनिक भएको छ त्यसले नेपाली जनमानसलाई नयाँ ढंगले उद्वेलित र उत्साहित त बनाएको छ नै त्यसका साथै यो सद्प्रयासका निम्ति प्रेरणाको स्रोत के हो भन्ने भन्ने कुतुहलतापूर्ण जिज्ञाशा पनि उत्तिकै रूपमा जागृत भएको छ । 
नेपालको भूराजनीति निरन्तर आन्तरिक राजनीतिक अव्यवस्थापन र बाह्यक्षेत्रबाट प्रक्षेपित मुद्दाहरूको घनचक्करमा परेर दग्ध र असन्तुलित बन्दैआएको अभिलेख छ । आन्तरिक राजनीतिक परिवर्तन र परिवर्तनपछिको राजनीतिक व्यवस्थापनका लागि मुलुक बाहिरको शक्तिकेन्द्र धाउने लामो परम्परा बसेको र परिवर्तनपछि सरकार बनाउने र ढाल्ने काम पनि बाह्शक्तिकै नियमित खेल बनेको अनपेक्षित अवस्थाले मुलुक नयाँ बाटोको खोजीमा रहेको कटुबोध गराइरहेको छ । अहिले वाम दलहरूबीच सझदारीको जुन प्रकरण सुरू भएको छ त्यो यदि विद्यमान विकृतिहरूको निराकरण गर्दै मुलुकलाई राजनीतिक स्थिरता, विधिको शासनको व्यवस्थापनका निम्ति स्थायी सरकार निर्माण गर्ने, बाह्यशक्तिको अवाञ्छित हस्तक्षेप र चलखेल रोक्ने र आत्मनिर्णयको गुमेको अधिकार स्थापित गर्ने दिशातिर परिलक्षित हुने हो भने मात्र भविष्यमा यसको सार्थकता अप्रतिम रहनसक्छ । होइन यो पनि प्रकारान्तरले प्रयोगपरक राजनीतिकै उपज  मात्र हो भने भविष्यमा नेपाली जनताले फेरि निराश हुनुपर्ने दिन आउने छ । 
नेपाली जनमत वामपन्थी राजनीतिक दलहरूको पक्षमा रहेको पटक पटकका निर्वाचन परिणामले देखाएका छन् । बहुदलीय व्यवस्थाको पुनःस्थापना पछिका हरेक निर्वाचनमा परेको मत विश्लेषण गर्दा वामपक्षमा धेरै मत परेको देखिन्छ तापनि वाम दलहरू एकले अर्काको उछित्तो काट्ने र वैचारिक विधर्मीहरूसंग साँठगाँठ गरेर सत्ता उपभोगमा मात्र केन्द्रित हुने अपसंस्कार वरण गर्दैआएका देखिन्छन् । यो बिडम्बनापूर्ण स्थितिको उपयोग  नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गरेर अनपेक्षित लाभ उठाउँदैआएको बाह्यशक्तिले  निरन्तर गरिरहेको छ । नेपालमा जहिलेसम्म यो कोर्स परिवर्तन हुँदैन तहिलेसम्म नेपालको भविष्य निर्माणको बाटो नै खुल्दैन भन्ने तथ्य इतिहाससिध्द कुरा भैसकेको छ । वाम दलहरूबीचको चुनावी तालमेल  र प्रस्तावित एकीकरण मुलुकको स्थायित्व र भविष्य निर्माणको दिशातिर परिलक्षित हुनसकेमात्र त्यसले मुलुकलाई नयाँ दिशातिर डो¥याउन सक्छ भन्ने कुरामा कुनै सन्देह छैन ।
वाम दलहरूबीचको चुनावी  तालमेल र बृहद् एकताको समझदारीले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको मात्र नभै  सत्ता नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई पनि लोकतान्त्रिक गठबन्धनका लागि बाध्यात्मक रूपमा प्रेरित गरेको छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनका निम्ति छिनोफानो गर्नुपर्ने धेरै मुद्दाहरू छन् । बाह्य हस्तक्षेप र चलखेल रोक्न अनि उत्तर दक्षिण दुवैतिरका छिमेकीहरूसित सन्तुलित सम्बन्ध कायम गर्न कठिन मेहनत गर्नुपर्ने अपरिहार्यता छ । केन्द्रिय र प्रादेशिक चुनावको पूर्वसन्ध्यामा देखिएको दृश्यावलीले राजनीतिक ध्रुवीकरणको नयाँ दिशा लिने सन्देश दिएको छ । आगामी निर्वाचनमा अन्तर्घात र गुटगत संकीर्णता देखिएन भने निश्चय नै ६० प्रतिशत भन्दा बढी मत वामपक्षमा  रहने निश्चित प्रायः नै छ । नव सिर्जित यो परिस्थितिले सत्तारूढ नेपाली कांग्रेसलाई मात्र विष्मित र त्रशित पारेको नभै वर्तमान सत्ता गठबन्धनको रणनीतिकार बनेको भारतलाई पनि क्षुब्ध बनाएको बुझ्न कठिन छैन । भारतले कांग्रेस, माओवादी र राजपालगायतका मधेश केन्द्रित दलहरूको दरो गठबन्धन गराएर आगामी निर्वाचनमा एमाले लगायतका राष्ट्रियताको मुद्दा उठाउने दलहरूलाई किनारा लागाउने जुन रणनीति अख्तियार गरेको थियो त्यसमा अवश्य नै पानी फेरिएको छ । नेपालको आन्तरिक राजनीति आफ्नो निर्देशनमा चल्नुपर्छ भन्ने दुराग्रह राख्दैआएको भारतले आगामी दिनमा गर्नसक्ने चलखेलबाट बचेर राष्ट्रिय स्वाभिमानलाई उच्चो राख्दै आत्मनिर्णयको अधिकार पुनःस्थापित गर्नका लागि चुनावी तालमेल र एकीकृत वाम पार्टीको निर्माण गर्न नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वले संयम र विवेक प्रदर्शन गर्दै ठूलो चुनौतीको सामना गर्नुपर्ने अपरिहार्यता छ । सैद्धान्तिक आधार र वैचारिक निकटताको जगमा बन्ने एकताले मुलुकको राजनीतिलाई शुद्धीकरण र स्थायित्वका निम्ति निश्चय नै अभिप्रेरित गर्ने छ भन्ने विश्वास प्रकट गर्दै यो सत्कार्यको अभियान सफल रहोस् भन्ने हाम्रो हार्दिक कामना छ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com