युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ?
Wednesday, 11.15.2017, 02:06pm (GMT+5.5)

निर्वाचनको मौसम आउनासाथ मतदाताहरूलाई आकर्षित गर्ने आकांक्षा राखेर घोषणापत्र जारी गर्ने प्रचलनलाई राजनीतिक दलहरूले यस पटक पनि निरन्तरता दिएका छन् ।  निर्वाचनको तिथि मिति तोकिएपछि जनतालाई के के सपना देखाएर आफ्नो पक्षमा तान्न सकिन्छ भन्ने अभिधेय बाहेक घोषणापत्रहरूको कुनै उपादेयता र सार्थकता नरहेको उदाहरण प्रमुख राजनीतिक दलहरूका अघिल्ला अघिल्ला पटकका घोषणापत्रहरूले नै प्रस्तुत गर्दैआएका छन् । मुलुक यतिखेर राज्य पुनःसंरचनाको क्रमबद्ध नयाँ चरणमा छ । केही महिना अगाडि मात्र पुनःसंरचित स्थानीय तहको निर्वाचन निर्बिघ्न सम्पन्न भयो । स्थानीय निकायलाई अधिकार सम्पन्न स्थानीय सरकारका रुपमा स्थापित गरिने प्रतिबद्धतासहितका भाषणका पर्रा छुटे । तर सिंहदरवार केन्द्रित सत्ता मानसिकताको जञ्जालबाट पुनर्संरचित स्थानीय निकायहरू मुक्त भएको कुनै आभास अहिले छैन । नवीनताको बोध  पनि कहीँ कतै छैन । प्रतिनिधिसभा र प्रदेशसभाका निम्ति गरिने निर्वाचनको मिति नजिकिँदैगर्दा देशको राजनीतिक माहोल विस्तारै तात्दैगएको छ । एकातिर भ्रम र झुटको पुलिन्दाका रूपमा प्रतिस्पर्धी दलहरूले विगतकै घोषणापत्रहरूमा कतै केरमेट र कतै थपथाप गर्दै नयाँ घोषणापत्र जारी गरेका छन् भने मतदाताहरूको बीचमा पुग्नथालेका उम्मेदवारहरूले पनि आकाश पाताल जोडेर विकासको अदभूत लहर ल्याउने र मतदाताहरूको आकांक्षा पूरा गर्ने कसम खाइरहेका छन् । निर्वाचन भनेको भ्रम फैलाउने र झुटको खेती गर्ने सुनौलो अवसर हो भने झैं भएको छ । घोषणापत्रको तयारी र प्रचार शैलीमा कुनै नवीनता  देखिएको छैन भने मतदाताले विश्वास गर्नसक्ने आधार पनि छैन । अहिलेको चुनावी माहोलले राजनीतिक संस्कार र जवाफदेहितापूर्ण चरित्रको अवशानलाई झनै टड्कारो रुपमा देखाइरहेको अनुभूत गराएको छ । 
२०४८ साल यताको चुनावी राजनीतिको माहोललाई हेर्दा जनप्रतिनिधित्वको गरिमा क्षयीकरण गर्ने अनपेक्षित प्रवृतिले तीब्र गतिलिँदै कतै दुर्घटित अवशान त निम्त्याउने होइन भन्ने आशंका बढाइरहेको छ । बाह्यशक्तिको रणनीतिक कुचक्रमा फसेर सिंगो मुलुक प्रयोगशाला बनिरहेको तथ्यबोध विभिन्न घटना क्रमहरूले गराउँदैआएका भए पनि सचेतायुक्त सावधानी अपनाउने र मुलुकलाई त्यो दलदलबाट मुक्त गराएर आशा र विश्वासको नयाँ अध्याय थालनी गर्ने सुनौलो अवसरका रुपमा निर्वाचनको उपयोग हुनसक्ने सम्भावना अझै देखिएको छैन । प्रमुख प्रतिस्पर्धी दलहरूबीच आरोप प्रत्यारोपको जुन विषाक्त लहर उठेको देखिन्छ त्यसले लोकतान्त्रिक मर्यादाको उपहास मात्रै गरिरहेको छैन मुलुकको भावी राजनीतिक दशा थप विकारपूर्ण बन्ने आशंका जन्माइरहेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको बर्को ओडेर खेलिँदैगरेका विकारजन्य खेलहरूले मुलुकको कतिसम्म हुर्मत लुटिसक्यो भन्ने कुराको कुनै लेखाजोखा छैन । मुलुकमा बाह्य हस्तक्षेपको गति रोकिएको छैन । चुनावी प्रसंगमा समेत भारतीय राजदूतको सक्रियता नांगो रुपमा देखिएको छ । कुन समूहलाई जिताउने र कुन समूहलाई हराउने भन्ने हिसाब किताब गरेर चलखेल भैरहेको खुलाशा भैरहेको छ । आन्तरिक राजनीतिका निर्णायक शक्ति नेपाली जनता नै हुन् भन्ने विश्वास स्थापित नहुँदासम्म मुलुक ओरालो लाग्ने क्रम कुनै हालतमा पनि  रोकिने सम्भावना छैन । बाह्यशक्तिले प्रक्षेपण गरेका मुद्दाहरूको भारी बोकेर चुनावी मैदानमा उत्रने प्रवृत्तिले मुलुकको भावी राजनीतिक दिशा कदापि निर्धारण गर्न दिनेछैन ।  वाम गठबन्धन पूर्णबहुमतको स्थिर सरकारको नारा दिइरहेको छ भने  अधिनायकवाद आउने डर देखाएर पुरानै हसियत जोगाउने ध्याउन्नमा नेपाली कांग्रेस लागेको छ । जनताले कसको कुरा कति पत्याउने हुन्, त्यसको निक्र्योल त निर्वाचन परिणामले नै देला तर जुन राजनीतिक विकारको  लहर चलेको छ त्यसले खडा गर्ने समस्याको निराकरण त्यति सहज देखिएको छैन ।
प्रसंग अहिले चुनावी घोषणापत्रको छ– यो पटकको निर्वाचनमा पनि प्रतिस्पर्धी प्रमुख राजनीतिक दलहरूले मतदाताहरूलाई आर्थिक समृद्धिको मीठो सपना बाँडेका छन् । चुनावी घोषणापत्रको पूर्व इतिहास हेर्ने हो ती सवै अहिलेसम्म  भ्रम र झूटकै पुलिन्दाको रूपमा रहेका छन् । बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना पछिको पहिलो आम निर्वाचन २०४८ मा पूर्ण बहुमत ल्याएर पाँच वर्ष स्थायी सरकार दिने अवसर पाएको नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रली बसदेखि लिएर देशभरका सवै गाउँ र शहरमा बिजुली र सवै जनतालाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने सपना बाँडेको थियो भने ०५१ सालको मध्यावधि निर्वाचनमा हजारौं मेघावाट बिजुली उत्पादन गरी विदेश निर्यात गरेर जनताको आर्थिक जीवनस्तर उकास्ने भनिएको थियो । ०५६ को आम चुनाव र २०६४ को संविधानसभाको पहिलो चुनाव र २०७० को दोस्रो चुनावमा पनि मुलुकलाई निर्यातक मुलुकना परिणत गर्नेदेखि लिएर काठमाण्डौ–तराई द्रूतमार्ग एवं उत्तर–दक्षिण राजमार्ग निर्माणका सपना बाँडिएको थियो । नेकपा एमालेको चुनावी घोषणापत्रमा पनि यस्तै सपनाहरू छरिएका थिए भने २०६४ साल पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएर अग्रता हाँसिल गरेको नेकपा माओवादीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्नेदेखि लिएर रेलमार्ग, सुरुङ्मार्ग, रोपवे एवं सवै नागरिकलाई आधारभूत स्वास्थसेवा उपलब्ध गराउने सपना देखाएको थियो । तर समयको यो अन्तरालमा वाग्मती र विष्णुमतीमा ढल मिस्सिएको धेरै पानी बगिसकेको छ, भारतबाट बिजुली र खाद्यान्नदेखि लिएर हरेक उपभोग्य वस्तु आयात गर्नैपर्ने विपरीत परिस्थिति सिर्जना भएको छ । अहिलेका चुनावी घोषणापत्रहरूमा पनि कपी पेष्ट गरी अधिकांश उस्तै सपना बाँडिएका छन् । मतदाताहरूबीच भ्रम फैलाउने र झूटको खेती गरेर  चुनाव जित्नखोज्ने यस्तो असङ्गत प्रवृत्ति दोहोरिइरहँदासम्म जनता ठगिइरहने र मुलुक ओरालो लागिरहने निश्चित नै छ । यो नै मुलुकको दुर्दान्त नियतीको कारण हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)
सन्देहको निवारण होस् (05.31.2017)
सवै पक्षले मनन गर्नुपर्ने बेला (05.24.2017)
म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ? (05.17.2017)
उपलब्धिमूलक निर्वाचन (05.17.2017)
सन्निकट निर्वाचनको सार्थकता (05.11.2017)
निर्वाचनविरूद्ध असंगत चलखेल (05.02.2017)
नयाँ वर्षको शुभकामना (04.18.2017)
घोषित निर्वाचनको चुनौती (04.11.2017)
प्रधानमन्त्रीको चीन भ्रमण (03.22.2017)



 
::| Latest News

 
[Page Top]