युगसम्बाद साप्ताहिक

निर्वाचनको महाभारत
Tuesday, 12.05.2017, 03:48pm (GMT5.5)

प्रतिनिधिसभा र प्रदेशसभा गठनका लागि पर्सी  २१ गते बिहिवार दोस्रो चरणको निर्वाचन हुँदैछ । यो निर्वाचन सम्पन्न हुनासाथ मंसिर १० गते पहिलो चरणमा भएको मतदान र दोस्रो चरणमा भएको मतदानको एकसाथ मतगणना सुरू हुने निर्धारित कार्यक्रम छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक भएको यो निर्वाचनले विधिको शासन, स्थिर सरकार र युगसापेक्ष विकासको प्रत्याभूति दिनुपर्छ भन्ने आम आकांक्षा मुखरित भैरहेको छ । प्रजातन्त्रको संस्थागत र संस्कारगत विकासका लागि र राष्ट्रिय विकास तथा समृद्धिका लागि विभिन्न चरणमा भएका राजनीतिक परिवर्तन र  निर्वाचनले खासै रचनात्मक योगदान दिन नसकेका र मुलुक सधैं अरूकै स्वार्थका लागि प्रयोग थलो बन्दैआएको पृष्ठभूमिमा राज्यको पुनःसंरचनातर्फ उद्यत यो निर्वाचनले देशको आवश्यकता र जनताको चाहनालाई कसरी तृप्त गर्ला भन्ने कुतुहलता जागृत हुनु स्वाभाविक नै छ । निरन्तरको राजनीतिक अस्थिरता र विकासविहीनताको कुचक्रमा मुलुक फस्दैआएको तथ्यलाई आत्मसात गरेर भावी राजनीतिक दिशा निर्धारण गर्ने र स्थायित्व र समृद्धिका लागि समर्पित राजनीति गर्ने जवाफदेहितापूर्ण राजनीतिक संस्कार नबसेकाले ऐतिहासिक राजनीतिक परिवर्तनपछिका कुनै पनि चरणमा देश र जनताले हार्ने र राजनीति कर्मीहरूको सानो जमात मात्र सम्पन्नशाली हुने जुन दृश्य देखिँदैआएको छ त्यसको सट्टा स्थिरता र समृद्धिको दिशा निर्धारण हुनसकेमात्र यो निर्वाचनको सार्थकता अभिलेखित हुने छ ।
मुलुकको वर्तमान अवस्था राजनीतिक, आर्थिक, सामाजिक हरेक दृष्टिले अत्यन्त असहज छ । राष्ट्रिय मुद्दाहरूलाई ओझेलमा पार्दै अरूले नै थोपरेका मुद्दाहरूको भारी बोकेर आमूल परिवर्तनको जति नै डंका पिटे पनि हात लाग्यो शून्यको स्थितिबाट देश गुज्रिइरहेको छ । देखल रुपमा संविधानसभाबाट ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरूको सहमतिमा देशको नयाँ संविधान जारी भयो तर त्यसको सर्वस्वीकार्यता माथि अहिले पनि गहन प्रश्न खडा छ । अहिलेको सत्ता नेतृत्वले विदेशीभूमिबाटै निर्वाचनपछि संविधान संशोधन गरेर असन्तुष्ट पक्षको चित्त बुझाउने कसम खाएको अभिलेख ताजै छ । अहिलेको निर्वाचनको माहोल हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँदिल्लीमा खाएको कसम पूरा गर्न संविधान संशोधन गर्नसक्ने गरी संघीय संसदमा हैसियत कायम गर्नसक्ने कुनै सम्भावना छैन । शान्ति स्थापना र संविधान निर्माणको नेतृत्व गरेको दावी गर्दै मतदाताहरूबीच भीक्षाटन गरिरहेको नेपाली कांग्रेसले आफैं संविधानको सर्वस्वीकार्यतामाथि प्रश्न उठाएर सबल कार्यान्वयनको बाटो साँगुरिएको तथ्यबोध गराएको छ । निर्वाचनमा वाम गठबन्धनले खडा गरेको चुनौतीको सामना गर्न राजनीतिक समाधान खोज्ने हैसियत नराखेपछि अत्तालिएको कांग्रेसले अझै पनि बाहिरी आडभरोशा खोजेको देखिनु निकट भविष्यमा राजनीतिक असहजताको संकेत हो । नियोजित अस्थिरताका निम्ति यथेष्ट संकेतहरू देखिएका छन् । निर्वाचनको महाभारतले यसको निदान कसरी गर्ला भन्ने अहं प्रश्न उपस्थित भएको छ ।
निर्वाचन जनमत निर्धारणको निर्विकल्प माध्यम हो । प्रजातान्त्रिक पद्धतिले  निर्वाचनलाई मतपत्रका माध्यमबाट सत्ता प्राप्त गर्ने अवसर मान्दछ । निर्वाचनको महाभारतले सत्ता संघर्षको चरम स्वरुप प्रदर्शन गरिरहेको छ । नेपालको  मूलधारको राजनीति नै कुरीतिको शिकार बन्दैआएकाले सिद्धान्त, विचार र निष्ठा प्रेरित  संस्कारयुक्त प्रतिष्पर्धा भन्दा आरोप प्रत्यारोप र गालीगलोजले नै प्रचार युद्धमा प्राथमिकता पाएको विसंगत स्थिति प्रदर्शित छ । मुलुकलाई बाह्यनिर्देशनको राजनीतिबाट कसरी मुक्त पार्ने ? आर्थिक परनिर्भरताको गति कसरी रोक्ने ? सामाजिक सद्भाव विरूद्धका बढ्दा गतिविधिलाई कसरी रोक्ने ? र राष्ट्रिय एकताको बलमा समृद्धिको बाटो कसरी तय गर्ने भन्ने कुरामा आआफ्ना मान्यता, विचार र प्रष्ट दृष्टिकोण राखेर जनताका बीचमा जाने रचनात्मक कसरत गर्नुभन्दा एकअर्काको उच्छित्तो काटेर जनतालाई दिग्भ्रमित गर्न सकिन्छ र धन अनि डनको प्रयोग गरेर कसरी जित हाँसिल गर्न सकिन्छ भन्ने विकृत सोच र तदनुरूपको अभ्यास नहटेसम्म स्वच्छ निर्वाचनको अपेक्षा पूरा हुनसक्दैन । अहिलेको निर्वाचनको महाभारतले जे देखाइरहेको छ त्यस्तो प्रवृतिको निराकरण गर्ने शक्ति यो निर्वाचनले खडा गर्न सकोस् भन्ने हाम्रो कामना छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com