निर्वाचनको नतिजाले दिएको सन्देश
Tuesday, 12.12.2017, 02:48pm (GMT+5.5)
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणनाको नतिजाले नेपाली जनता राजनीतिक स्थायित्व र राष्ट्रिय समृद्धिको ब्यग्र प्रतिक्षामा रहेको सन्देश प्रवाह गरेको छ । केही महिना अगाडि भएको स्थानीय तहको निर्वाचन र अहिले भएको निर्वाचनले विगतमा पटकपटक बहुमत ल्याएर पनि राजनीतिक स्थायित्व र राष्ट्रिय विकास र समृद्धिका लागि रचनात्मक र परिणामदायी योगदान दिन विफल भएको नेपाली कांग्रेसलाई प्रजातन्त्र र लोकतन्त्रको फलाको गर्दैमा र वामपन्थी दलहरूलाई सत्तोसराप गर्दैमा जनताले नपत्याउने पाठ सिकाएको छ । नेपाली जनता समयक्रममा सचेत बन्दैगएका छन् र देश र जनताको भविष्य निर्माणको बाटो तय गर्न स्वयं अग्रसर छन् भन्ने निर्वाचनको नतिजाले दिएको छ । यो निर्वाचनका लागि भएको वाम तालमेल र निकट भविष्यमै एउटै पार्टी बनाएर अगाडि बढ्ने नेकपा एमाले र माओवादी केन्द्रको उद्घोषले देशव्यापी रुपमा वामदलका कार्यकर्ताहरूलाई उत्साहित बनाएको र बहुमतको स्थिर सरकार एवं सुशासन र समृद्धिका लागि मतदातालाई पनि आकर्षित गरेको नतिजाले नै देखाएको छ । शासकीय सोच, शैली र संस्कारमा परिवर्तनको अपरिहार्यतालाई पनि यो निर्वाचनले बोध गराएको छ । मतदाताहरूको विवेकमाथिको सम्मान नै लोकतन्त्रको सौन्दर्य हो । तर नेपालमा अहिलेसम्म प्रजातन्त्र र लोकतन्त्रको नाममा जे जस्ता अभ्यासहरू हुँदैआएका छन् तीबाट मतदाताहरूको विवेकमाथि खेलबाड भैरहेको र लोकतन्त्रको सौन्दर्य नै नष्ट पारेको देशको दुर्दान्त परिस्थितिले नै पुष्टि गरिरहेको छ । प्रजातन्त्रका नाममा भैरहेको अप्रजातान्त्रिक अभ्यासले मुलुकलाई राष्ट्रिय चिन्तनधारको बाटोमा अगाडि बढाउन व्यवधान खडा गरेको, क्रमिक रूपमा परनिर्भरता बढाउँदैलगेको र बाह्य हस्तक्षेपका लागि अनपेक्षित वातावरण सिर्जना गरेको जगजाहेर छ । अरूले थोपरेका दृश्य–अदृश्य मुद्दाको भारी बोकेर राजनीतिक हुँडलो मच्चाउने प्रवृत्तिले गर्दा राष्ट्रिय संकटको स्थिति बारम्बार सिर्जना भएको, राजनीतिक स्थायित्व कायम हुन नसकेको, विधिको शासनको अभावमा राष्ट्रिय विकास र समृद्धिको चाहना विपरीतका गतिविधिले टाउको उठाउने अवसर पाएको र समग्रतामा देशले उज्यालो भविष्यको बाटो नै तय गर्न नसकेको अहिलेको वास्तविकता हो । यो निर्वाचनको सन्दर्भमा उठेका राष्ट्रिय मुद्दाहरू राष्ट्रियता, राजनीतिक स्थिरता र विकास–समृद्धिका सपनाहरूको जवाफदेहितापूर्ण ढंगले सम्बोधन हुनुपर्छ । यो निर्वाचनको नतिजाले दिएको सन्देश नै यही हो । देशको वर्तमान राजनीतिक परिस्थिति अत्यन्त जटिल छ । नेपालको आन्तरिक राजनीतिमा अनपेक्षित चासो राख्दै भारतले निरन्तर रुपमा गर्दैआएको हस्तक्षेपको गति रोकिएको छैन । सम्पन्न निर्वाचनकै क्रममा पनि कुटनीतिक नियोगलाई सक्रिय पारी खेलिएका अवाञ्छित खेलहरू जानकारी बाहिर छैनन् । नेपालमाथि कुटनीतिक गैरकुटनीतिक अनेक दवाव प्रवाह गरेर नेपालमा आफ्ना पिछलग्गुहरूको जमातलाई सत्तारूढ गराउने र सत्ताधारीहरूलाई उपयोग गरेर नेपालको समग्रहित विरुद्ध षड्यन्त्रात्मक गतिविधि चलाइरहने भारतको निरन्तर खेलका दुष्परिणामहरू नेपाली जनताले भोग्दैआएका छन् । नेपालको हकहितका पक्षमा उभिने कुनै पनि शक्ति र समूहलाई उपहास, तिरष्कार र परास्त गर्न चालिँदैआएका खेल विरुद्ध जागृत हुँदैआएको नेपाली जनमतलाई यस पटकको निर्वाचनमा वामगठबन्धनले समेट्न सकेकाले नै उसको पक्षमा आशातीत जनमत उर्लिएको हो । यो वास्तविकतालाई स्वीकार गरेर बाह्य हस्तक्षेपको गति रोक्न र राष्ट्रको हकहितको रक्षा गर्दै जनभावनाको सम्मान गर्दै राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गर्ने र मुलुकलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउन प्रतिबद्ध प्रयास गर्ने हो भने नेपालको भूराजनीतिक दिशा परिवर्तन हुने र मुलुक उज्यालो भविष्यतिर अगाडि बढ्ने सम्भावना देखिएको छ । आशातीत विजयको अवसरले दिएको जिम्मेवारीलाई निर्वाह गर्ने क्षमता वाम गठबन्धनका नेताहरूले देखाउन सकुन्– हाम्रो शुभकामना छ ।
|