युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
जनमतको सम्मान होस्
Tuesday, 12.19.2017, 01:10pm (GMT+5.5)

नेपाल संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भैसकेको छ । प्रत्यक्ष प्रतिनिधित्व र समानुपातिक प्रतिनिधित्वका लागि भएको मतदानको नतिजाले संघीय संसद र प्रादेशिक संसद दुवैतिर वाम गठबन्धनले पाँच वर्षका लागि स्थिर सरकार चलाउन पुग्ने गरी जनताले पूर्ण बहुमत दिएको प्रष्ट बोध गराएको छ । निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र निकट भविष्यमै पार्टी एकीकरण गर्ने बाचाले सिंगो नेपाली जनमतलाई उत्साहित पारेको र राष्ट्रिय विकास र समृद्धिका लागि स्थिर सरकार बनाउनसक्ने गरी जनादेश दिएको परिणामले नै देखाएको छ । नेपाली जनता अब जतिसक्यो चाँडो नव निर्वाचित सरकार गठन होस् र जनअपेक्षा अनुसारका नीति, योजना र कार्यक्रमको तर्जुमा गरी परिणामदायी कार्यदिशातिर अगाडि बढ्ने सुनिश्चित वातावरण सिर्जना होस् भन्ने चाहिरहेका छन् । तर महानिर्वाचनको गुरुत्तर दायित्व निर्वाह गर्न सफल रहेको जस लिएर जनताले प्रतिपक्षमा बस्न दिएको मतादेशलाई अविलम्ब आत्मसात गरी राजीनामा गरेर नयाँ सरकार निर्माणका लागि बाटो खुला गर्न अग्रसर हुनुपर्ने अहिलेको काम चलाउ सरकारले विभिन्न बहानामा आफ्नो आयु लम्ब्याउन खोजेको जस्तो देखिनु कदापि युक्तिसंगत छैन । जवाफदेहितापूर्ण राजनीतिक संस्कारले निर्वाचनको नतिजालाई तत्काल सौहार्दपूर्ण रुपमा स्वीकार गर्ने र नयाँ सरकार गठनका लागि व्यवधान खडागर्ने गरी कुनै कदम नचाल्ने मान्यता स्थापित गर्न अभिप्रेरित गर्दछ भन्ने वास्तविकतालाई नै उपहास गर्ने प्रकृतिको कसरत अहिले भैरहेको आभास छ । जनमतको सम्मान सवैले गर्नुपर्छ–यो नै लोकतन्त्रको सौन्दर्य हो ।
नेपालको राजनीति सरल रेखाबाट अगाडि बढ्ने नगरेको र नेपाली जनमतमाथि निरन्तर भित्र–बाहिरबाट खेलबाड हुने गरेको पटक पटकका अनेक घटनाले सिद्ध गर्दैआएका छन् । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा नेपाली जनताको अभिमतले निर्णायक भूमिका स्थापित गर्न अझै नसकेको र  पर्दा पछाडिका भित्री–बाहिरी शक्तिका रणनीतिक चाहनाले अवाञ्छित हुण्डरी मच्चाउने गरेको कटु अनुभव र अभिलेख दुवै छ । वर्तमान सन्दर्भकै मात्र कुरा गर्ने हो भने निर्वाचनको पूर्वसन्ध्यामा एमाले र माओवादीबीच तालमेल हुनासाथ एकातिर वाम जनमतको विभाजनबाट निरन्तर मनग्गे लाभ उठाउँदैआएको सत्ताधारी कांग्रेस असंयमित ढंगले प्रस्तुत हुनगएको देखियो भने अर्कातिर भारतमा पनि असंगत ढंगको उत्तेजना फैलिएको खुलाशा भयो । नेपालको हरेक चरणका राजनीतिक परिवर्तनमा निर्णायक भूमिका स्थापित गर्न र त्यसको स्वामित्व लिन हतारिँदैआएको भारतका लागि उसको रणनीतिक स्वार्थ र इच्छा विपरीतको वाम गठबन्धन जति अप्रत्यासित थियो त्यत्ति नै दुस्खदायी पनि थियो । नेपालमा बलात् स्थापित उसको प्रभाव घट्ने र उसको स्वार्थी पञ्जाबाट नेपाल फुत्किने त्राशले ऊ छटपटिएको देखियो । सत्ताधारी नेपाली कांग्रेस र विगतमा उसको रणनीतिक गोटी बनेका मधेशवादी नेताहरूदेखि लिएर दक्षिणपन्थी धारका अरू केही दललाई समावेश गरी लोकतान्त्रिक गठबन्धनका नाममा एउटा  प्रयोग पनि भयो । तर त्यसले वामगठबन्धनले ल्याएको उभार रोक्न सकेन । निर्वाचनको परिणामपछि औपचारिक रुपमा जे जस्ता प्रतिक्रिया आएपनि नेपाली जनमतको ताजा परिणाम उसला लागि पचाउन गाह्रो परिरहेको कुरामा कुनै सन्देह छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा नगर्न र सत्ता लम्ब्याउन गरिरहेको किचलोभित्र भारतीय चलखेल कति प्रतिबिम्बित छ भन्ने कुरा पनि अहिले गम्भीर चासोको विषय बन्नपुगे अतार्किक छैन ।
नेपाली जनता सदा बाह्यहस्तक्षेप मुक्त राजनीतिको पक्षमा छन् । भारतसंग बैरभाव गर्ने कुनै पनि नेपालीको चाहना छैन । भारतले नेपाल र नेपाली जनतालाई दुःख दिने गरी चाल्नेगरेका हस्तक्षेपकारी कदमहरू र उसको एकल स्वार्थका लागि दिने गरेका अनुचित दवावहरू द्विपक्षीय सम्बन्धमा भरविश्वासको वातावरण सिर्जनामा सधैं बाधक बनेका छन् । उसको भनाइ र गराइमा ठूलो अन्तर रहने गरेको सामान्य नेपाली जनताले पनि बुझेका छन् । भूगोल र संस्कृतिले सहभाव राखेर अगाडि बढ्न प्रेरित गरे पनि यो भूक्षेत्रको म नै सर्वेसर्वा हूँ र सवै साना छिमेकीले मेरै आदेशमा चल्नुपर्छ भन्ने प्रभूत्ववादी धारणा राख्ने गरेकाले नै भारतसितको सम्बन्धले वाञ्छित गति लिने नगरेको र समस्याका अनेक प्रकरणहरू उब्जिने गरेको कटु अनुभव छ ।नेपाली जनता नै नेपालका निर्णायक शक्ति हुन् । सर्वभौम नेपालको आत्मनिर्णको अधिकारको सम्मान गर्नुपर्छ र सहअस्तित्वको बोध गर्दै सहभाव राखेर विविध क्षेत्रमा सहकार्य गर्नुपर्छ भन्ने मान्यता भारतले नराख्दासम्म कुण्ठारहित सम्बन्धले गति लिनसक्दैन । नेपाली जनमतको सम्मान गर्ने संस्कार बस्नासाथ आन्तरिक रुपमा स्थायित्व र विकासले मूर्त रुपलिने छ भने कुटनीतिक सम्बन्धले पनि स्वाभाविक गति लिने छ । नेपालभित्रका ठूला साना सवै समूह र बाहिरका सवै वैदेशिक  शक्तिबाट नेपालको ताजा जनमतको सम्मान होस् भन्ने हाम्रो आग्रह छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)
सन्देहको निवारण होस् (05.31.2017)
सवै पक्षले मनन गर्नुपर्ने बेला (05.24.2017)
म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ? (05.17.2017)
उपलब्धिमूलक निर्वाचन (05.17.2017)



 
::| Latest News

 
[Page Top]