युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 10:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
ठूलो अनर्थ निम्तिने संकेत
Tuesday, 01.09.2018, 01:19pm (GMT+5.5)

ताजा जनादेशपछि राष्ट्रिय राजनीति स्वाभाविक गतिमा जुन दिशामा अगाडि बढ्छ भन्ने अपेक्षा र अनुमान गरिएको थियो, ठीक त्यसको विपरीतका गतिविधिहरू प्रायोजित रूपमा अगाडि बढेका छन् । नेपालको आन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गरी हुँडलो मच्चाउँदै आएको बाह्यशक्तिले नेपाली जनमतले किनारातिर धकेलेका विभिन्न समूह र संवैधानिक जवाफदेहिता बोकेका निकायभित्रै आफ्नो पहुँच र प्रभाव विस्तार गरेर जुन षडयन्त्रात्मक चाल चलिरहेको छ । त्यसले तत्कालका लागि निर्वाचनको परिणाम प्रकाशनमा बिलम्ब र जनादेशका आधारमा नयाँ सरकार गठनमा अवरोध खडा गरेको प्रष्ट अनुभूत गराए पनि मूलतः नेपालको आधारभूत राजनीतिक परिवर्तन र भावी दिशा निर्धारणमा नेपाली जनताको स्वामित्व स्थापित हुन नदिने दुराशय रहेको कुरामा कुनै सन्देह छैन । सात दशक यताका हरेक राजनीतिक परिवर्तनका प्रयोगात्मक चरणमा नेपाली जनताको प्रत्यक्ष सहभागिता रहेको देखिए पनि अन्तिममा निर्णायक भूमिका नयाँदिल्लीले नै स्थापित गर्दैआएको र खुलारूपमा त्यसको स्वामित्व ग्रहणको दावी गर्दैआएको खुलाशा वारम्वार भैरहेको छ । भारतको असहमतिमा बनेको वर्तमान संविधानको प्रावधान अनुरूप पहिलो पटक भएको निर्वाचनमा उसको रणनीतिक चाहनाअनुरूप बनेको लोकतान्त्रिक गठबन्धनको लज्जाजनक पराजय भएको र उसको चाहना विपरीतको वामगठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको सत्यलाई सहज रूपमा स्वीकार गर्न नसकी नेपालको राष्ट्रिय मूलधारको जनअनुमोदित सत्ता राजनीतिको दिशालाई पुनः अन्योल र अस्थिरतातिरै मोड्ने षडयन्त्रात्मक खेलहरू सतहमै देखिएका छन् । यो नै ठूलो अनर्थ निम्तिने संकेत हो ।
इतिहासको लामो खालखण्डदेखि नै नेपालमा बलियो र समग्रतामा राष्ट्रहिततिर लक्षित राजनीतिक शक्ति स्थापित हुन नदिने र बहुमत प्राप्त सरकारलाई पनि विभिन्न प्रपञ्च रचेर निर्धारित अवधिसम्म चल्न नदिने खेलहरू चल्दैआएको कटु यथार्थबोध तत्कालिन समयसन्दर्भले गराउँदैआएको छ । दुःख र लाजमर्दो कुरा यस्ता अनपेक्षित गतिविधि विस्तारमा प्रकारान्तरले नेपालका प्रमुख राजनीतिक समूहहरू नै निहित स्वार्थप्रेरित भएर उपयोगमा आउने गरेको तथ्यबोध इतिहासले मात्रै होइन वर्तमान परिस्थितिले पनि गराएको छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा आफ्नै स्वामित्व स्थापना गर्न नसक्दाका दुष्परिणामहरू नेपालले निरन्तर भोग्दैआएको छ । कालो इतिहासको यो अवाञ्छित धार बदलेर आत्मनिर्णयको अधिकार स्थापित र सुरक्षित गर्नु नै अहिलेको सर्वाधिक ठूलो चुनौती हो । ताजा जनादेश प्राप्त वाम गठबन्धनको नेतृत्वले सामदानदण्डभेदको बाह्य षडयन्त्रको दुष्चक्र तोडेर मुलुकलाई युगसापेक्ष नयाँ दिशामा हिँडाउनका लागि सामना गर्नुपर्ने अनेक समस्याहरू इंगित भैसकेका छन् । पहिलो गाँसमा नै मुखमा माखो पसेको जुन अवस्था अहिले सिर्जना भएको छ त्यसले बाह्यक्षेत्रबाट भविष्यमा सामना गर्नुपर्ने समस्याको यथेष्ट संकेत गरेको छ । नेपालमा परम्परागत रूपमा स्थापित हुँदैआएको राजनीतिक स्वामित्व आफ्नो हातबाट फुत्किने भयले ग्रसित भएर नेपाली जनमतले निर्देश गरेको राजनीतिक दिशा निर्धारणमा जतिसक्दो अवरोध खडा गर्ने जुन नियोजित खेल चलिरहेको छ त्यसलाई यो वा त्यो बहानामा सघाउने काम जसले जुन तहबाट गरे पनि त्यो आत्मघात र राष्ट्रघातकै बाटो हो । बाह्यशक्तिको बलमा आन्तरिक राजनीति धमिल्याउनेहरूलाई नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन् । यो पनि अहिलेको निर्वाचनले दिएको खुला सन्देश हो ।
जन स्वीकृतिलाई अस्वीकृत गर्नु ठूलो अपराध हो । मुलुकलाई निरन्तरको अस्थिरता र अविकासको स्थितिबाट मुक्त गराउने जनचाहना पूरा गर्न पूर्ण बहुमतको स्थिर सरकार चाहेकाले नै नेपाली जनताले वाम गठबन्धनलाई पूर्ण बहुमत मात्रै होइन दुईतिहाइकै नजिक पुग्ने गरी मतदान गरको वास्तविकतालाई कुनै पनि तागतले उपेक्षा गर्न सक्दैन । नेपालमा पूर्ण बहुमतको स्थिर सरकार बन्ने आधार खडा हुनासाथ के के उपाय अपनाएर हुन्छ वाम गठबन्धन टुटाउने र स्थिर सरकार बन्न नदिने परम्परालाई निरन्तरता दिने षडयन्त्र अहिले चलिरहेको छ । लोकतन्त्रको जामा पहिरिएर लोकतन्त्रान्त्रिक मर्यादा र मान्यताविरूद्ध परचक्रीको आड र उक्साहटमा बुर्कुसीमार्नु जस्तो ठूलो राजनीतिक अपराध भैरहेको छ । वाम गठबन्धन नटुटेसम्म जनादेशप्राप्त सरकार नै बन्न नदिने दुराग्रहका विकृत धारणाहरू प्रवाहित भैरहनु अनिष्ट भविष्यको संकेत हो । वाम गठबन्धनको शीर्ष नेतृत्वपंक्तिका सामु जनअनुमोदित एकता कायम गरेर मुलुकलाई नयाँ दिशामा अगाडि बढाउने ठूलो अभिभारा बहनगर्नु बाहेक अर्को विकल्प छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)
सन्देहको निवारण होस् (05.31.2017)



 
::| Latest News

 
[Page Top]