युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.22.2018, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सीमा अतिक्रमणको पीडा
Thursday, 01.25.2018, 12:34pm (GMT+5.5)

सीमा व्यवस्थापनमा यथासमयमा समुचित ध्यान नदिँदा उत्पन्न भएको समस्याले नेपालभूमि निरन्तर खुम्चिँदैआएको तथ्य सार्वजनिक हुँदैआएको छ । भारतको अतिक्रमणकारी चरित्र र नेपालका शासकहरूको जवाफदेहिताविहीन प्रवृत्ति एवं भारतसंग खुलेर सीमा रक्षाकाबारेमा कुरा राख्ने क्षमताको अभावले गर्दा नेपालको अखण्डभूमि अतिक्रमणको चपेटामा पर्दैआएको छ । सन् १८१५–१६ को सुगौली सन्धिपछि खुम्चिएको नेपाल अझै पनि खुम्चिने क्रममा रहेको सीमा अतिक्रमणको निरन्तरताका घटनाले पुष्टि गरेका छन् । नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर (५६ हजार ८सय २७ स्क्वायर माइल) रहेको अभिलेख छ भने भारतले बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछिमात्रै पनि नेपालको लगभग १ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलको भूमि अतिक्रमण गरिसकेको सीमाविद्हरूले सप्रमाण प्रस्तुत गर्दैआएका छन् । सीमा व्यवस्थापन वा नयाँ नाप नक्सा निर्माण वा त्यो वा यो नाममा गरिँदैआएका प्रपञ्चले पनि नेपाल खुम्च्याउने क्रमलाई निरन्तरता दिइरहेको वास्तविकता वीरगञ्ज महानगरपालिका–१ को छपकैयामा सुनियोजित रुपमा भएको सीमा अतिक्रमणको घटनाले नै प्रष्ट इंगित गरेको छ । वारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा भत्किएका सीमास्तम्भका ठाउँमा नयाँ सीमास्तम्भ खडा गर्ने नाममा नेपाली किसानकै नाममा नापनक्शा र लालपूर्जा भएको र उपभोगमा रहेको ५० बिघा जमिन भारततिर पारेर सीमास्तम्भ निर्माण गर्न चालिएको कदमले अहिले विवादको  रूप लिएको छ र राष्ट्रिय चासो र बहसको विषय बनेको छ । यसको निराकरण कुन रुपमा हुने हो हेर्न बाँकी नै छ तापनि यसले इंगित गरेको समस्याबाट भने नेपालले सहजै मुक्ति पाउने कुनै लक्षण छैन । 
इतिहासको कालखण्डमा नेपाल र भारतबीचको सीमा छुट्याउन गाडिएका सीमास्तम्भहरू– जसलाई जंगे पिलरका नामले पनि चिनिन्छ– धेरै ठाउँमा सुनियोजित रुपमै गायव पारिएका छन् भने कतिपय ठाउँमा सीमारक्षा र व्यवस्थापनमा समुचित ध्यान नपुगेका कारण भत्के–बिग्रेर वा बाढीले बगाएर हराएका छन् । नदी–खोलाहरूको  बहाव परिवर्तन बहानाबाजीमा भारतले कतिपय स्थानमा नेपालभूमि आफ्नो बनाउने क्रम पनि जारी नै राखेको छ । अहिले बीरगञ्जको छपकैय्यामा सिर्सिया नदीको धार परिवर्तनको आधारमा जुन समस्या खडा गरिएको छ त्यो भन्दा विकराल समस्या २०११ सालदेखि नवलपरासीको सुस्ता क्षेत्रले इंगित गर्दैआएको छ । नेपालको भारतसंग १८८० किलोमिटर सीमा जोडिएको छ भने नेपालका २६ जिल्लाहरू भारतसंग सीमा जोडिएका छन् ।ती मध्ये २३ जिल्लाका ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको  सीमाविद्हरूले इंगित गर्दैआएका छन् । नेपालको सीमा व्यवस्थापन गर्ने, अभिलेख राख्ने र निरीक्षण गर्ने कामको जिम्मेवारी लिएको नापी विभागले सन् १९७०,सन् १९९० र सन् २०१० मा भूउपग्रहबाट तस्वीर खिचेको र नेपाल र भारतका सर्भेयरहरूले सुस्ता र लिम्पियाधुरा–लिपुलेकको विवादास्पद क्षेत्र बाहेकको सीमा नक्सा तयार पारेको भनिरहँदा पनि नेपालभूमि अतिक्रमणको गति रोकिएको छैन । लिपुलेक भञ्ज्याङ् र लिम्पियाधुराबीचको ३७२ वर्ग किलोमिटर क्षेत्र भारतको अतिक्रमणमा रहिरहेको र कालापानी भनेर चिनिने सो क्षेत्रमा भारतले सैनिक शिविर नै राखिरहेको जगजाहेर छ । सीमा अतिक्रमण रोक्ने र विवादको समाधान गर्ने परिणामदायी रचनात्मक पहलको निरन्तर खाँचो छ ।
नेपालले लामो समयदेखि सीमा अतिक्रमणको समस्या भोग्दैआएको छ । नेपालको नापनक्सामा अंकित भएको,मालपोत कार्यालयमा अभिलेख रहेको र नेपालीहरूकै हातमा जग्गाको धनीपुर्जा रहेको अनि बर्षौंदेखि उपभोगमा रहेको जमिन एकाएक भारततर्फ पारिएका थुप्रै उदाहरणहरू छन् । दशगजा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका संरचनाहरू पनि थुप्रै छन् । प्राकृतिक जलप्रवाह रोक्ने गरी भारतले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता विपरीत निर्माण गरेका बाँधहरू र सडकहरू वर्षायाममा लाखौं नेपालीलाई डुबानमा पार्ने र विस्थापित गराउने कारण बनेका छन् । सीमा निर्धारणको नयाँ अभियानको क्रममा केही भूभाग नेपालको भारत र भारतको नेपालतिर पर्नगएको र छपकैय्यामा उत्पन्न सीमा विवादको कुनै अर्थ नरहेको दावी नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले प्रस्तुत गरे पनि भारतको कुन भूभाग नेपालतिर परेको छ त्यसको कुनै उदाहरण प्रस्तुत छैन । नेपालका राजनीतिक, कुटनीतिक, प्रशासनिक र राज्यका महत्वपूर्ण निकायहरूमा निर्देशित रुपमा काम गर्ने जमात खडा गर्न भारत सफल रहँदैआएकाले नेपालले विविध क्षेत्रमा राष्ट्रघातको चोट सहँदैआएको छ । नेपाल र भारतबीच अपेक्षित वस्तुपरक सम्बन्ध विस्तारका लागि यस्ता प्रवृत्तहरू नै सर्वाधिक ठूला बाधक बनेका छन् । सीमा अतिक्रमणको गति रोक्न र विद्यमान समस्याको निराकरण गर्न उच्च राजनयिक तहबाटै जवाफदेहितापूर्ण रचनात्मक पहलगर्नु अपरिहार्य छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)



 
::| Latest News

 
[Page Top]