युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 05:55pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उज्यालो भविष्यतिर लम्किने विश्वास
Tuesday, 02.20.2018, 10:58am (GMT+5.5)

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली फागुन ३ गते बिहिवार प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको सत्ता पुनरागमनलाई नेपाली जनताले निक्कै आशाप्रद दृष्टिले हेरेका छन् । उहाँले २०७२ सालमा जटिल परिस्थितिमा पहिलो पटक प्रधानमन्त्री बनेर नौ महिना सरकार चलाउँदा राष्ट्रियताको पक्षमा दह्रोसंग उभिएर  भारतीय हस्तक्षेप र नाकाबन्दीको जुन रुपमा सामना गर्नुभएको थियो  त्यो नै निर्वाचन जित्ने बलियो आधार बनेको थियो । सत्ता बाहिर रहेर तीनै तहको निर्वाचनमा होमिँदा पनि नेपाली जनताले उहाँको अभियानलाई दरो साथ दिए ।  राष्ट्रहितको पक्षमा उहाँले चालेका कदमहरूलाई जनताले अनुमोदन गरेकाले नै उहाँको सत्ता पुनरागमन स्वाभाविक र सहज बनेको हो । निर्वाचनको पूर्व सन्ध्यामा दूरदृष्टि राखेर एमाले र माओवादी केन्द्रबीच निकट भविष्यमै पार्टी एकीकरण गर्ने सहमतिसहित चुनावी गठबन्धन हुनुले आम मतदातालाई धेरै उत्साहित बनाएको निर्वाचन परिणामले नै देखायो ।  पौने तीन महिना अगाडि भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले सान्दार विजय हाँसिल गरेपछि ओली प्रधानमन्त्री बन्ने सुनिश्चित नै थियो । यस बीचमा संवैधानिक छिद्रहरू खोजेर समय लम्ब्याउने र वाम गठबन्धन टुटाएर ओली र एमालेको सत्तागमनको बाटो छेक्ने अनेक प्रपञ्चहरू रचिएको प्रचूर आभास भैरहेको थियो तापनि अन्ततः राजनीतिक आकाशमा मडारिएको कालो बादल पञ्छाउँदै उहाँ प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । जनादेश प्राप्त वामबहुमतको स्थिर सरकार बन्न नदिन गरिएका भित्री बाहिरी अनेक चलखेलहरू विफल भएका छन् । मुलुकको भविष्य निर्माण गर्ने जिम्मा अब ओली नेतृत्वको सरकारको मातहतमा आएको छ । शान्ति, स्थिरता, विकास र समृद्धिको व्यग्र प्रतिक्षमा रहेका जनताबीच अब त मुलुक पक्कै पनि उज्यालो भविष्यतिर लम्किन सक्छ भन्ने विश्वास पलाएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गर्दा रेखांकन गरेको बाटो फराकिलो र बलियो पार्नमात्रै सके पनि उहाँलाई नेपाली जनताले हाई हाई गर्ने छन् । 
नेपालको भूराजनीतिक परिस्थिति र आर्थिक अवस्था अत्यन्त जटिल छ । मुलुकभित्रका राजनीतिक शक्तिहरूबीचको अन्तर्विरोधलाई संकीर्ण निहित स्वार्थपूर्तिका लागि यथेष्ट उपयोग गर्ने र राजनीतिक अस्थिरता, आर्थिक बिपन्नता र सामाजिक विद्वेष सिर्जनाका लागि अनेक प्रपञ्च रचिरहने बाह्यशक्तिका सुनियोजित खेलहरूले यो मुलुकको स्वतन्त्र अस्तित्वमाथि निरन्तर धावा बोल्दैआएको तथ्यले हरेक क्षेत्रमा परम्परागत चिन्तनशैली र कार्यक्रमिक पद्धतिमाथि नै आधारभूत परिवर्तनको खाँचो रहेको प्रष्ट सन्देश दिइरहेको छ ।  राष्ट्रियताको पक्षमा उठ्ने आवाजलाई अन्धराष्ट्रवाद र भारतको विरोध भनेर दुत्कार्नेदेखि लिएर नेपालले उत्तर र दक्षिणका दुवै छिमेकी देशसंग समनिकटताको सम्बन्धको अपेक्षा गर्दै प्रकट गरिएका आकांक्षालाई चीन परस्त भनेर दुत्कार्ने जुन प्रवृत्ति अहिलेसम्म हावी हुँदैआएको छ त्यो प्रवृत्ति यथावत रहेसम्म राष्ट्रिय राजनीतिको मूलधार संगालिने सम्भावना नै छैन । विगतमा भारतको निर्देशनलाई अस्वीकार गरेको र चीनसंग बहुआयामिक सम्बन्ध विस्तारतिर लागेको कलुषित धारणा राखेर ओली सरकार विस्थापन गर्ने जुन सुनियोजित कदम भारतले चालेको थियो समयक्रममा त्यो प्रत्युत्पादक बनेको महशुस गरेपछि अहिले जतिसक्दो फकाएर ओली सरकारलाई आफ्नै प्रभावमा राख्ने र रणनीतिक स्वार्थपूर्ति गर्ने बाटो अख्तियार भैरहेको खुलाशा भैरहेको छ । पार्टी एकीकरणको सन्देश दिँदै एउटै घोषणापत्रमा निर्वाचन लडेर पूर्णबहुमतको स्थिर सरकार बनाउने हैसियतमा पुगेका नेकपा एमाले र माओवादी केन्द्रबीच अन्तर्विरोध पैदा गर्न दुवै दलभित्रबाट नियोजित प्रयास भैरहेको आभासले नेपाली जनताको जागृत आशामाथि कतै तुषारापत त हुने होइन भन्ने सन्त्राशसमेत उब्जाएको छ । प्रधानमन्त्री ओलीको सत्ता पुनरागमन संवैधानिक र प्रक्रियागत रुपले जति नै सहज देखिए पनि राजनीतिक–कुटनीतिक जटिलता ठूलो चुनौतीको रुपमा रहेको यथेष्ट संकेत छ ।
प्रष्ट विचार र दह्रो अडान प्रधानमन्त्री ओलीको उच्च राजनीतिक छविको आधारशीला हो  । समयको गति र जनताको भावना बुझ्नसक्ने क्षमता उहाँमा रहेको समयक्रममा उजागर हुँदैआएको छ । औपचारिक शिक्षामा उहाँभन्दा अगाडि रहेका समकालीन धेरै नेताहरूभन्दा हरेक विषयलाई गहिराइमा पुगेर बुझ्ने र प्रष्ट विचार प्रवाहगर्ने विशेष क्षमता उहाँमा देखिएको र विषयगत विज्ञहरूसंग परामर्श गरेर ठोस् निर्णय लिने प्रवृत्ति उहाँमा रहेको मानिएकाले यतिखेर मुलुकलाई सुनिश्चित उज्यालो दिशातिर हाँक्न उहाँ सफल हुने विश्वास पलाएको छ । नेपाली जनताको चाहना भनेको विधिको शासनको प्रत्याभूति, समयसापेक्ष विकास र समृद्धिका निम्ति आत्मनिर्भरतातर्फ उन्मुख अर्थतन्त्रको आधार निर्माण र राष्ट्रिय स्वाभिमान उच्चो राख्ने गरी वैदेशिक सम्बन्ध–सन्तुलनका लागि कुटनीतिक क्षमताको विस्तार नै हो । देशमा दूरगामी परिणामको कुनै ख्याल नगरी तदर्थवादी शैलीमा जे पनि गर्ने जुन अपसंस्कृतिले जरो गाडेको छ त्यो नहटाएसम्म नीतिगत स्थिरता र परिणामदायी कार्ययोजनाको अपेक्षा पूरा हुन सक्दैन । राजनीतिकरण र भागबण्डाको गलत संस्कार बसेकाले न्यायपालिकादेखि लिएर संवैधानिक निकायहरू एवं प्रशासनिक निकायहरूको स्वच्छता र कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठिरहेको अवस्था छ । प्रधानमन्त्री ओलीले विगत लामो कालदेखि झ्यांगिएका यस्ता विकृतिहरू निवारण गर्न दह्रो आँट गर्नुपर्ने अपरिहार्यता छ । आशा र अपेक्षा धेरै छन् मुलुक चौतर्फी समस्याले गाँजिएको छ । आस्था र विश्वासको पुनर्जागरण गराएर मुलुकलाई सबल र समृद्ध बनाउने अभूतपूर्व अवसर प्रधानमन्त्री ओलीले पाउनुभएको छ । यो अवसर प्राप्तिका लागि उहाँलाई हार्दिक बधाइ छ । उहाँको यो कार्यकाल हरेक क्षेत्रमा उपलब्धिपूर्ण रहोस् हाम्रो शुभकामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शहीद दिवसको औपचारिकता (01.30.2018)
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)



 
::| Latest News

 
[Page Top]