युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अर्थतन्त्रको उल्टो बाटो
Tuesday, 03.06.2018, 02:40pm (GMT+5.5)

देशको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको आर्थिक सूचकांकहरूले प्रष्ट इंगित गरिरहेका छन् ।  प्रधानमन्त्री केपी ओली स्वयंले राष्ट्रिय ढुकुटी रितै रहेको जनाउ सांसदहरूलाई दिनुभएको ताजा प्रसंग छ । अर्थ मन्त्रालयका जिम्मेदार अधिकारीहरूले व्यापार घाटा ९ खर्ब पुगेको, भुक्तानी सन्तुलन ६ अर्बले  र चालु खाता ७५.७१ अर्बले घाटामा रहेको र बिप्रेषणको वृद्धि दर पनि ०.५५ प्रतिशतले ऋणात्मक रहेको अनि राजस्व असुली पनि लक्षअनुरूप नभएको जानकारी नयाँ अर्थमन्त्रीलाई दिएको खुलाशा भएको छ । आखिर देशको आर्थिक अवस्था किन यति नाजुक स्थितिमा पुग्यो, यसको मूल कारण के हो र यसको जवाफदेहिता कहाँ छ भन्ने अहं प्रश्नको जवाफ दिने कोही निस्केको छैन । बाटो विराएको यात्री आफ्नो गन्तव्यमा कहिल्यै पुग्न सक्दैन भनेजस्तै भएको छ नेपालको अर्थतन्त्र पनि । नेपालको अर्थतन्त्र हाँक्ने जिम्मेवारी पटक पटक सत्तामा पुगेका राजनीतिक दल र तिनका नेताहरूकै हो । स्थायित्व, विकास र समृद्धिको सपना देखाउँने राजनीतिक परिवर्तनका अनेक प्रयोगात्मक चरण पार हुँदैआएको भए पनि मुलुकले राजनीतिक अस्थिरता, अविकास र गरीबीको नियतिबाट कहिल्यै मुक्ति पाउन सकेन । समयक्रममा सत्ताशिखरमा जुन जुन शक्ति र जो जो व्यक्ति पुगेका भए पनि  राष्ट्रिय चिन्तनधारबाट विचलित हुँदैआएको अनपेक्षित अवस्थाले नै मुलुकको अर्थतन्त्रमा विचलन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड नै भाच्चिएको स्थितिबोध गराएको कटु यथार्थ हो । शासन सञ्चालनको प्राप्त अवसरलाई जवाफदेहिताविहीन  भएर  उपलब्ध स्रोत साधनको चरम दुरूपयोग गर्ने र सीमित व्यक्तिको झूण्डलाई मात्र लाभ पु¥याउने जस्ता गलत अभ्यासको होडले विकास र समृद्धिको राष्ट्रिय आकांक्षामाथि सधैं प्रहार भएको छ । राजनीतिक संरक्षणमा पन्पिएको आर्थिक भ्रष्टाचारले समग्रतामा मुलुकलाई कंगाल र कमजोर बनाएको छ । देशको वर्तमान क्षतविक्षत आर्थिक अवस्थाको मूल कारण नै यही हो । यो रोगको सही निदान र सही उपचार हुनसकेन भने राजनीतिक खपतका लागि गरिने कुनै पनि कुराले मुलुकको मुहार बदलिने छैन ।
देशको उत्पादकत्व वृद्धिका लागि आन्तरिक स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्ने र आफ्नो सामथ्र्यले नभ्याउने क्षेत्रमा मात्र स्रोत र प्रविधिको जोहो गर्ने राष्ट्रिय नीति नबनेसम्म मुलुकको अर्थतन्त्रले गति लिन सक्दैन । नेपालको कूल जनसंख्याको ६५ प्रतिशत कृषिमा आधारित रहेको अभिलेखीकरण भए पनि कृषि उत्पादनयोग्य जमिन बाँझो हुँदेजाने क्रम बढेकाले हरेक वर्ष कृषिजन्य वस्तुको आयात आशातीत रुपमा बढिरहेको छ । निर्यातयोग्य कृषि उत्पादनको बजार व्यवस्थापन हुन नसकेको उदाहरण त अदुवा उत्पादक किसानहरूको पीडादायी अवस्थाले नै दिएको छ । अपार जलस्रोतको धनी कहलिएको भए पनि मुलुक बाहिरबाट बिजुली किन्नुपर्ने बाध्यता सिर्जित भएको छ । आन्तरिक मागको आपूर्ति हुनसक्ने गरी  आन्तरिक स्रोतको उपयोग गरेर उत्पादन वृद्धि गर्ने राष्ट्रिय अठोट नभएकाले नै यो दुर्दशा भोग्नुपरेको हो । वैदेशिक शक्तिहरूको रणनीतिक उपयोगमा आएर राष्ट्रिय सामथ्र्यलाई निरन्तर कमजोर पार्ने जुन प्रवृत्ति विकसित भएको छ त्यसले नै मुलुकलाई हरेक क्षेत्रमा परनिर्भर बनाउँदैलगेको छ । उत्पादनशील क्षेत्रमा लगानीमैत्री वातावरण बन्न नदिने र अनुत्पादक एवं विलासी क्षेत्रमा लगानी प्रवाह बढाउने प्रवृत्तिले बाह्य उत्पादनको बजार विस्तार गरिरहेको छ । विगतमा आयात प्रतिस्थापन गर्ने उद्योगहरू सुनियोजित रूपमा नै विस्थापित गरिए । चाहे कृषि क्षेत्रमा होस् वा औद्योगिक क्षेत्रमा होस् राष्ट्रिय नीति र कर्मचारीतन्त्रको नियत  सफा रहेको अनुभव नै  भएन । वैदेशिक सहायताका ठूला आयोजनाहरू निर्धारित समय र पूर्वानुमानित लगानीमा कहिल्यै पूरा भएका छैनन् ।  राजनीतिक र प्रशासनिक प्रभावको दुरूपयोग गरी आर्थिक भ्रष्टाचारको आधार निर्माण गर्ने प्रवृत्ति नै यसको मूल कारण हो । जनतालाई विकास र समृद्धिको सपना देखाउने नव स्थापित सरकारका निम्ति यस्ता प्रवृत्तिहरू ठूलो चुनौतीका रुपमा रहेका छन् ।
काशी जाने कुतीको बाटो यो नेपाली समाजमा बहुप्रचलित उखान हो । नेपालको अर्थतन्त्रले अहिले त्यही उखान चरितार्थ गरेको छ । मुलुकलाई विकासको शिखरमा पु¥याउने र समृद्धशाली बनाउने सपना कुनै पनि बेलाका सत्ताधारीहरूले बाड्दैआएका हुन् तर बोल्ने एकथोक गर्ने अर्कोथोक हुँदैआएकाले परनिर्भरता अनपेक्षित रुपमा बढ्दैआएको छ । नेपालको अर्थतन्त्रका धमिराहरू विदेशीशक्तिबाट निर्देशित र पुरस्कृत हुनेगरेका छन् । ढिलासुस्ती एवं झुलाउने र झार्ने अपसंस्कृतिमा हुर्किएको प्रशासनिक सञ्जाल पनि राजनीतिकरण र भागबण्डाको थप भारले जवाफदेहिताविहीन र अकर्मण्य बनिसकेको छ । राज्यका आर्थिक स्रोतका मुहानहरू भ्रष्टाचार र आर्थिक अपचलनका अखडा बनेका छन् । आयातकर्ता र कर्मचारी वर्गको मिलोमतोमा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको  प्रकरण  नयाँ अर्थमन्त्रीको चनाखो दृष्टिका कारण हालै उदांग भएको छ । अर्थतन्त्रका धमिराहरूले जताततै किल्ला गाडेका छन् । एनसेलको खरीद–बिक्री प्रकरणदेखि लिएर मूल्यअभिवृद्धि ठगी प्रकरणसम्मका राजस्वमारा गतिविधिले कसरी संरक्षण पाइरहेका छन् भन्ने प्रसंगले  वित्तीय अनुशासन भंगको टड्कारो दृश्य देखाइरहेको छ । विकृतिका यस्ता अनेकौं थाकहरू पञ्छाएर आर्थिक स्रोतहरूको मुहान सफा पार्ने र आर्थिक उत्पादकत्व वृद्धिका लागि आन्तरिक स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोगका लागि समुचित वातावरण तयार गर्दै आन्तरिक लगानी र बाह्य लगानीलाई आकर्षित गर्नसक्ने मैत्री वातावरण तयार गर्नसके अर्थतन्त्रले सुल्टो गति लिनसक्छ । अर्थतन्त्रका ज्ञाता मानिएका अर्थमन्त्री र स्वप्नदर्शी ठानिएका प्रधानमन्त्रीबाट विकसित र समृद्ध नेपाल निर्माणको जुन बाचा प्रकट भएको छ त्यसले कस्तो नीति, योजना र कार्यक्रमको स्वरूप लिन्छ त्यो नै अहिले सर्वाधिक चासोको विषय भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
उज्यालो भविष्यतिर लम्किने विश्वास (02.20.2018)
शहीद दिवसको औपचारिकता (01.30.2018)
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)



 
::| Latest News

 
[Page Top]