युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सम्बन्ध सुधारको सही बाटो
Thursday, 04.12.2018, 11:23am (GMT+5.5)

नेपाल भारत सम्बन्ध जटिलतम मोडबाट सरल र सहज बाटोतिर उन्मुख गराउन उच्च राजनयिक तहबाट रचनात्मक पहल भएको आभास भएको छ । नेपालका शक्तिशाली प्रधानमन्त्रीका रुपमा भारतको तिन दिने राजकीय भ्रमण सम्पन्न गरी केपी शर्मा ओली गत आइतवार साँझ स्वदेश फर्किसक्नुभएको छ भने यस पटक उहाँले पाउनुभएको आतिथ्य र द्विपक्षीय वार्ता क्रममा उठाइएका विषय एवं सम्झौता र सहमतिका बुँदाहरू केलाउँदा विद्यमान समस्याहरूको निराकरण र बहुआयामिक सहयोगात्मक सम्बन्ध विस्तारले गतिलिने अपेक्षा बढेको छ । औपचारिक तहबाट भनिने गर्दा नेपाल भारत सम्बन्ध जहिले पनि समस्यारहित, पूर्ण समझदारीमा आधारित, आपसी समझदारी र विश्वासबाट विकसित र सांस्कृतिक सहभाव एवं खुला सिमानाले जोडेको भौगोलिक सहजताबाट अभिसिञ्चित हुँदैआएको छ । तर इतिहासका अनेक कालखण्डमा सर्वसाधारण जनताले समेत प्रत्यक्ष अनुभूत गर्ने गरी सिर्जित हुँदैआएका समस्याहरू र सार्वभौमिक समानता र सहअस्तित्वको बोध विपरीतका आचरण र व्यवहारले नेपालको आत्मनिर्णयको अधिकारमाथि पार्दैआएको प्रतिकूल प्रभावका दुष्परिणामहरू नेपाली जनताको नियमित भोगाइमा परेका छन् । प्रधानमन्त्री ओलीको यस पटकको भ्रमण भारत कुपित हुँदा सत्ता गुम्ने भयबाट एकातिर मुक्त थियो भने अर्कातिर दुई वर्ष अगाडि भारत भ्रमण गर्दा सत्तालाई जोखिममा पारेर राष्ट्रिय मुद्दाहरूमा राखेको अडानलाई नेपाली जनताले पूरापूर साथ दिएर बलियो  र  स्थिर सरकार हाक्ने अवसर दिएकाले उहाँको आत्मबल पनि उत्तिकै उच्च देखिन्थ्यो । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा सधैं निर्देशनात्मक भूमिका चाहने भारतको परम्परागत धारणालाई विस्थापन गर्न प्रधानमन्त्री ओलीबाट प्रतिबद्ध प्रयास भएको आभास यस पटकको भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिले दिएको छ । यो नितान्त सकारात्मक परिणाम हो ।
उच्च राजनयिक भ्रमणपछिका हरेक क्षणमा द्विपक्षीय समझदारीको विकास, सहयोगको विस्तार र ऐतिहासिक उपलब्धिको अपव्याख्याको ठूलो लहर चल्नेगरेका अनेक उदाहरणहरू छन् तर कथनी र करनीमा भने ठूलो अन्तर रहने गरेको इतिहास साच्छी छ । भूपरिबेष्ठित नेपालले व्यवहारिक रुपमा भारत परिबेष्ठित भैरहँदाको अवस्थामा भोगेका जटिलतम समस्याहरू नेपाली जनताको मानसपटलमा ताजै छन् । धेरै टाढाको अतीतको त कुरै छोडौं  भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ सालमा नेपालको ऐतिहासिक भ्रमण गर्दा संविधानसभालाई सम्बोधन गर्दै उदारमना सहयोगको जुन गर्जन गर्नुभएको थियो त्यो अहिलेसम्म पनि व्यवहारमा परिणत नभएको कटु यथार्थ दुनियाका सामु छर्लङ्ग छ । उहाँको ऋषिमनलाई २०७२ सालको अमानवीय नाकाबन्दीले नै ठूलो व्यंग्य गरेको अभिलेख पनि त्यति पुरानो छैन । भारत नेपालको बदलिनै नसक्ने छिमेकी देश हो र आपसी सद्भाव, विश्वास र सहयोगको अपरिहार्यतालाई कसैले पनि इन्कार गर्न सक्दैन तापनि भारतबाट बेलाबखत प्रदर्शित हुने अप्रीतिकर र अपाच्य व्यवहारले नेपाली मन कुँडिने र दैनिक जीवनसमेत कष्टकर बन्नेगरेका अनगिन्ती प्रहरहरू अभिलेखित छन् । अतीतका ती सवै तिक्ततालाई मेटाउँदै बोली र व्यवहारमा एकरूपता अनुभूत हुने विश्वसनीय परिस्थितिको सिर्जना नै अबको सही बाटो हो । विगतमा हाम्रै कमजोरीका कारणबाट पनि हाम्रो आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप मौलाएको कटु यथार्थ नै हो । हाम्रा आन्तरिक समस्याको निराकरण गर्ने सामर्थ्य हामीसंगै छ भन्ने आत्मविश्वास जागृत गर्नसके वैदेशिक चलखेल र हस्तक्षेप स्वतः निष्तेज हुँदैजाने छ । दिल्लीमा गएर तिम्रो आशय अनुसारको राजनीतिक समायोजन र संविधान संशोधन गर्छौं भनेर बाचाबाध्नुपर्ने परिस्थिति हटाउन प्रधानमन्त्री ओली सफल रहनुभएको सन्देश अहिलेको भ्रंमणले दिएको छ । भारतले विगतमा आदेशात्मक भूमिकाका लागि प्रयासरत रहँदाका प्रतिकूल परिणामहरूलाई आत्मसात गरेर परम्परागत धारणामा परिवर्तन ल्याएको सङ्केत यो प्रकरणले दिएको छ । यदि यो सत्य हो भने यसको सकारात्मक परिणाम निकट भविष्यमै देखिने आशा गर्न सकिन्छ ।
वर्तमान सन्दर्भमा भारतसंगको बढ्दो आर्थिक निर्भरता नेपालका लागि सर्वाधिक ठूलो समस्या र चुनौती हो । भारतको विशालकाय अर्थतन्त्र र उसले आर्थिक क्षेत्रमा गर्दैगएको प्रगतिका सामु नेपालको कृशकाय अर्थतन्त्र र आर्थिक दुरावस्थाबीच कुनै प्रतिस्पर्धा छैन तापनि विशाल भारतको संकीर्ण मनोदशाका कारण नेपालको सीमित उत्पादनले समेत भारतमा सहज प्रवेश पाउने गरेको छैन । नेपालको सीमित कृषि पैदावारले समेत क्वारेण्टाइनको नाममा ठूलो झमेला बेहोरिरहेको छ भने सीमित औद्योगिक उत्पादनले पनि परिमाणात्मक बन्देजको पीडा भोग्दैआएको छ । नेपालको आर्थिक विकासको ढोकै थुन्ने प्रकृतिका असंगत व्यवहारहरू चुलिँदैगएका छन् । प्रधानमन्त्री ओलीले यस पटक व्यापार घाटाको विकराल रुपवारे समकक्षी मोदीसंग कुरा उठाउनुभएको खुलाशा त भएको छ तर नेपाललाई माथि उठ्नै नदिने मानसिकताले ग्रस्त भारतीय प्रशासनिक संयन्त्रको आचरण र व्यवहारमा परिवर्तनका लागि राजनयिक तहबाट कति रचनात्मक पहल हुने हो हेर्न बाँकी नै छ । भारतसंग विगतमा भएका अनेकौं सहमति र सम्झौताहरू कार्यान्वयन भएका छैनन्  । एकातिर प्रस्तावित परियोजनाहरू कार्यान्वयन नहुँदा त्यसबाट प्राप्त हुने लाभबाट नेपाली जनता बञ्चित भैरहेका छन् भने अर्कातिर बचनप्रतिको विश्वास पनि घट्दैआएको छ । नेपाल अब भारत बेष्ठित विगतको अवस्थाबाट क्रमिक रूपमा मुक्तहुने अवस्थामा पुगेको छ । चीनसितको व्यापार पारवहन सम्झौता भलै अझै कार्यान्वयनमा आइनसकेको किन नहोस्– सम्भावनाको ढोका भने खुलिसकेको छ । यो वास्तविकतालाई भारतले स्वीकार गरेर दपेट्ने र अँचेट्ने नीति र व्यवहार परित्याग गर्नुको विकल्प नै छैन । विकसित र समृद्ध नेपालका लागि भारतले सार्वजनिक रुपमा जसरी बाचा बाँध्दैआएको छ तदनुरूपकै आचरण र व्यवहार प्रदर्शित हुनसक्ने मात्र दुइ देशबीचको सम्बन्धले उच्चाइ लिने हाम्रो विश्वास छ । सम्बन्ध सुधारको यो नै सही बाटो हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)
झिना मसिना कुरा (03.20.2018)
अर्थतन्त्रको उल्टो बाटो (03.06.2018)
उज्यालो भविष्यतिर लम्किने विश्वास (02.20.2018)
शहीद दिवसको औपचारिकता (01.30.2018)
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)



 
::| Latest News

 
[Page Top]